|

काठमाडौं : कोरोना संक्रमण रोकथामका लागि 'लकडाउन' कार्यान्वयनमा आएपछि यतिखेर धेरै नेपालीहरू फुर्सदमा छन्‌। कला, साहित्य, राजनीति, संस्कृतिलगायत सबै विधामा सक्रिय रहेका मानिसहरू घरभित्रै बसिरहेका छन्‌। हामीले लकडाउनको समयमा सबैजसो क्षेत्रका मानिसहरूको दिनचर्याबारे जानकारीसहितको सामग्री पस्कँदै आएका छौं। यो पटक केही लेखकहरूले कसरी यो समयलाई सदुपयोग गरेका छन्‌ भनी कुराकानी गरेका छौं।

दिनेश अधिकारी

केही दिनपछि गायिका अरुणा लामाको ७५औं जन्मजयन्तीको पर्दैछ। दार्जिलिङवासी साथीहरूले अरुणा लामा विशेष कार्यक्रम गर्दै हुनुहुन्छ। सायद पुस्तक निकाल्ने अभियान होला। त्यो पुस्तकको लागि अरुणा लामासँग संगत र सामिप्यता रहँदा बखतको एउटा संस्मरण लेखिरहेको छु।

लकडाउनको समयमा मैले आफ्ना र्‍याक र दराजमा भएका पुस्तकहरू हेरें। कतिपय पुस्तक समय अभाव र कार्यव्यस्तताले पढ्न सकिएको रहेनछ। अहिले ती पुस्तकहरू पढ्ने मेसो मिलेको छ। अहिले मेरो हातमा नेपाली नाट्यकर्मी सुनिल पोख्रेलले अनुवाद गर्नु भएको विलियम सेक्सपियरको नाटक जसलाई 'आँधीवेहरी ' छ।

गीत लेखन वा कविता लेखन फुर्सदमा लेखिने विषय होइनन्‌। यद्यपि; यो बीचमा केही गीत र कविता पनि लेखेको छु।

लकडाउनले व्यक्तिगत जीवनमा केही असर त जरुर गरेको छ। तर कयौं साथीहरूलाई सामाजिक संजालको माध्यमबाट भेट्ने अवसर लकडाउनले दिएको छ।

सिमा आभास 

लकडाउनको समयमा दुई कुरा महत्वपूर्ण रहेछन्‌ : सुचना र मनोरञ्जन। सुचना, जसले हामीलाई पलपलका खबर अद्यावधिक गराएको छ। मनोरञ्जनले यो फुर्सदलाई सहजै कटाउने सहयोग पुर्‍याएको छ। नेपालमा लकडाउन हुनु एकदम जायज हो। तर यो काम सरकारले अलि ढिला गरिदियो, जसले गर्दा कोरोना संक्रमण नेपालमा पनि भित्रियो। मानसिक रुपमा हामी त्रासमा रहेपनि आत्तिहाल्नुपर्ने अवस्थामा भने छैनौं। विकसित देशहरूमा भन्दा हाम्रोमा स्वास्थ्यसेवा केही कमजोर छ। यसकारण लकडाउन मात्र सुरक्षा द‌ृष्ट्रिकोणले उत्तम हो भन्ने म ठान्दछु।

सामान्यतया: अहिले फुर्सद नै फुर्सद छ। यो समय आफुलाई समीक्षा गर्ने बेला पनि हो। स्वस्थ रहनका लागि खानपानदेखि दैनिक जीवनमा गरिने क्रियाकलापबारे बुझ्न जरुरी रहेछ। विदेशी खानपान भन्दा हाम्रो खानपानको प्रकार कम होला, तर स्वास्थ्यवर्द्धक रहेछ। यतिखेर मैले खानपानका सवालमा यो निचोड निकालेको छु। 

यो फुर्सदमा म छोराहरूसङ्ग खेल्दै, रमाउँदै दिन बिताइरहेको छु। सन्तानसँग खेल्नु र उनीहरूको कुरा बुझ्नु भनेको अभिभावक थप परिपक्व हुनु तथा बच्चाहरूसँगै बालापनमा फर्कने मौका पाउनु पनि रहेछ।

यो समयमा मैले केही आत्मकथा पढेँ। महाभारत शृङ्खला पनि पुन: हेरिरहेको छु। म कला र प्रेममा आधारित चलचित्र रुचाउने मान्छे : यी सामग्री पनि हेरिरहेकी छु।

रमेश सायन

जागिरे जीवन विताइरहेको मानिस म, यतिखेर घरभित्रैए 'सेल्फ क्वारेन्टाइन'मा छु। यो बेला म पूर्ण रुपले पारिवारिक बनेको छु। सँधै घुमफिर मन पराउने मान्छेलाई आमा, बुबा, श्रीमती, आफन्त र छिमेकीसँग समय बिताउन पाउनु उपलब्धीमुलक नै बनिरहेको छ। उहाँहरूसँग हुने आत्मीय कुराकानी निकै आनन्ददायक र कलात्मक महशुस भैरहेछ। यो बसाइले त मलाई अब एउटा निबन्ध लेख्नैपर्छ भन्ने प्रेरणा जागृत गराएको छ।

लकडाउनको बेला बारीमा खुबै काम गरेँ। अहिले मकै गोड्ने बेला छ। यी बाहेक अन्य धेरै काम घरमा हुँदा रहेछन्‌। घरभित्र हुने कामको विवरण पनि यतिखेर थाहा लाग्न थालेको छ।

पेशागत जीवनको दौरानमा देशका विभिन्न जिल्ला घुमेको छु। ती जिल्लाका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र सामाजिक महत्व बोकेका थुप्रै विषयहरूलाई मैले भिडियोको रुपमा क्यामरामा कैद गरेको थिएँ। ती भिडियोहरूलाई यो फुर्सदमा हेर्ने लायक बनाएर युट्युबमा हाल्ने सोच बनाएको छु। युट्युबमा हेर्न सजिलो, तर आफैँले भिडियो उत्पादन गरेर प्रकाशन गर्ने काम त्यति सहज रहेनछ। तर हिम्मत चाहिँ गरिरहेको छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.