|

भद्रपुर : उपभोक्ताका लागि भद्रपुरमा सहुलियत दरमा पाइने खाद्यान्‍न तथा तरकारी पसल सञ्‍चालनमा ल्याइएको छ। लकडाउनका कारण बजारमा खाद्यान्‍न तथा तरकारी अभावसँगै मूल्यवृद्धि भइरहेकोले भद्रपुरमा यस्तो पसल सञ्‍चालनमा ल्याइएको हो। 

भद्रपुर ५ स्थित नेपाल बैंक नजिकै शुक्रबारदेखि सञ्‍चालनमा ल्याइएको पसलले बजार भाउभन्दा सस्तोमा खाद्यान्‍न र तरकारी बेचिरहेका छन्।  झापा उद्योग वाणिज्य संघ जिल्ला कार्यालय भद्रपुरको समन्वयमा उद्योगी तथा समाजसेवी ब्रम्हदेव अग्रवालको एकल प्रयासमा गरिब तथा विपन्‍न समूदायका उपभोक्तालाई लक्षित गरी खाद्यान्‍न तथा तरकारी पसल खुलेको हो।

बिहान ९ देखि ११ बजे र बेलुका ४ देखि ६ बजेसम्म सञ्‍चालनमा ल्याएको यस पसलमा बजारमा पाइने दैनिकी उपभोग्य सामानको मूल्यभन्दा ३० प्रतिशतसम्म छुटमा बिक्री हुँदा उपभोक्ताको भीड लाग्‍न थालेको छ।  हर हर महादेव नामद्वारा सञ्‍चालित पसलमा चामल, पिठो, दाल, तेल, तरकारी लगायत दैनिक उपभोग्य सामान सीमित तर सबैको पहुँच हुने गरी लकडाउन अवधिभरि  बिक्री वितरण गर्ने योजना रहेको संचालक अग्रवालले बताए।  

उद्योगी अग्रवालले बजारमा अभाव भइरहेको खाद्यान्‍न तथा तरकारीलाई बजार मुल्यभन्दा कममा उपलब्ध गराएको भन्दै झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले प्रशंसा समेत गरेका छन्। लकडाउन अवधिभर सञ्‍चालनमा ल्याउन उनले आग्रह समेत गरेका छन्। 

पसलमा राखिएको सामानको दररेटअनुसार चामल प्रतिकेजी ३५, चिनी प्रतिकेजी ७०, मुसरदाल प्रतिकेजी १००, खानेतेल प्रतिलिटर १५०, आटा प्रतिकेजी १००, नुन प्रतिकेजी १५, चियापत्ति प्रतिकेजी ३२०, आलु प्रतिकेजी ३०, प्याज प्रतिकेजी ३५, भुइँकटहर प्रतिगोटा २० रुपैयाँ कायम गरिएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.