|

काठमाडौं : काठमाडौं महानगरपालिका १५ नम्बर वडाले लकडाउनमा मजदुर र विपन्न नागरिकहरुलाई राहतस्वरूप खाद्यसामग्री वितरण गरेको छ। विपन्नका प्रतिपरिवार चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारीका दरले सामग्री वितरण गरिएको हो।

शुक्रबार मात्र ५० भन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरेको वडा कार्यालयले जनाएको छ। काठमाडौं महानगरपालिकाको १५ नम्बर वडाका स्वयम्भू, भगवान् पाउ र डल्लुका भित्री क्षेत्रमा राहत वितरण गरिएको हो। ‘लकडाउन’का कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई महानगरपालिकाले राहत दिन थालेको वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए।

लकडाउन अवधिभर काम गर्न नसक्ने परिवारलाई र आम्दानीको अन्य स्रोत नभएकालाई राहत वितरण गरिने उनको भनाइ छ। उनले भने, 'विशेषगरी काम गरिखाने र दैनिक मजदुरी गरेर खाने नागरिक पहिलो प्राथमिकतामा रहेका छन्। वडाबासीको तथ्यांक राख्दै वितरण गरिएको छ।'

राहत सामग्रीको दुरुपयोग हुन नदिनको लागि सम्बन्धित व्यक्तिको घर-घरमा पुगेर राहत वितरण गरिएको उनले प्रष्ट पारे। ‘एक ठाउँमा भेला पारेर वितरण गर्दा सम्बन्धित व्यक्तिले नपाउने आशंका बढी हुने भएकोले घर-घरमा पुगेर दिएका छौँ,’ उनले भने।

काठमाडौं महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘कामपा कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ।

महानगरपालिकाले कोरोना रोकथाम राहत वितरण कोषमा १० करोड बजेट छुटयाएको थियो। राहत वितरणमा वडा १५ मा ७ लाख ५० हजार खर्च भइसकेको पनि डंगोलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले गएको सोमबार असंगठित क्षेत्रका ज्यालादारी र श्रमिक तथा मजदुरका लागि राहत घोषणा गरेको थियो। सरकारले राहत दिनुपर्ने परिवार पहिचान गरी राहत वितरण गर्न स्थानीय तहलाई जिम्मा दिएको थियो। महानगरका अन्य वडाले पनि पछिल्लो समय राहत वितरणको कामलाई तीव्र बनाएका छन्।

विटिसी नेपालको पनि राहत

यस्तै, लकडाउनमा खाद्यान्नको अभाव हुन थालेपछि विटिसी नेपाल संस्थाले पनि शुक्रबार जोरपाटी छहारीक्लबमा राहत वितरण गरेको हो। संस्थाका अध्यक्ष टीका शेर्पाले लकडाउन लगाइएपछि खाद्यान्न अभाव हुन थालेकोले राहत वितरण गरेको बताए।

उनले भने,‘सरकारले कोरोना भाइरसका कारण लकडाउन गरेको छ। विपन्न वर्ग अन्यले खाद्यन्न नै पाउन सकेका छैनन्। त्यसैले ५० जनाको लिष्ट बनाई खाद्यान्न वितरण गरेका हौँ।’

उनका अनुसार विपन्न वर्ग र परिवार संख्याको आधारमा लिष्ट बनाएर ७ किलो सम्म चामल,दाल,तेल र नुन वितरण गरिएको छ। उनले लकडाउन अझै लम्बिँदै गएमा राहत वितरण कार्यलाई निरन्तर राख्दै जाने बताए।

‘लकडाउनको स्थिति हेछौँ,’उनले भने,‘कस्तो हुन्छ। नाजुक बन्दै गयो भने अझै बाड्छौँ। लकडाउन अवधिभर बाड्छौँ।’ संस्थाले राहतसँगै दुई सय थान मास्क पनि वितरण गरेको थियो। उनका अनुसार बौद्धमा रहेको यो संस्थाले बौद्ध ग्रन्थहरुको अनुवाद गर्ने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.