|

बैतडी : बैतडीको तल्लोसोराडस्थित मानवबस्तीमा पसेर क्षति पुर्याउँदै आएको नरभक्षी चितुवा खोरमा फसेको छ। मेलौली नगरपालिका वडा नं ९ असुरमा विज्ञ टोलीले स्थानीय सामग्रीको सहयोगमा बनाएको खोरमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए। खोरमा चितुवा फसाउन बाख्राको पाठी राखिएको थियो ।

यही चैत १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषका दुईजना विज्ञ असुरमा पुगेर खोर निर्माण गरेका थिए। चितुवाले मानवबस्तीमा क्षति पुर्याएको ठाउँमा फलामे र काठे खोर गरी तीनओटा खोर राखिएको थियो । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा र प्राविधिक रमेश दराईले मेलौली नगरपालिका-९ असुर गाउँमा पुगेर चितुवालाई नियन्त्रणमा लिनका लागि खोर राख्नुभएको थियो ।

काठको खोरमा चितुवा फसेको स्थानीय जगदीश भट्टले बताए। ‘बिहीबार राति काठको खोरमा बाख्राको पाठी राखेका थियौं', उनले भने, 'चितुवा त्यही पाठी खान जाँदा फसेको छ। चितुवा फसेपछि हामी खुसी भएका छौं।’

नरभक्षी चितुवा खोरमा फसेको बिषयमा राष्ट्रिय निकुञ्ज विभागमा जानकारी गराइसकेको उनले बताए। त्यहाँबाट विज्ञहरुको टोली आएपछि चितुवालाई बेहोस बनाएर स्थानान्तरण गरिने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले बताए। नरभक्षी चितुवाले तल्लोसोराड क्षेत्रमा २०६८ साल यता २५ जनाको ज्यान लिइसकेको छ।

नरभक्षी चितुवा खोर फसेपछि स्थानीयबासी खुसी भएका छन्। लगातार मानवस्तीमा पसेर चितुवाले आक्रमण गर्दै आएको थियो। चितुवा खोरभित्र फसेपछि त्रास हटेको स्थानीय महेशप्रसाद भट्टले जानकारी दिए।

नरभक्षी चितुवाले गएको फागुन २७ मा ओछ्यानबाटै मेलौली-९ असुरकी ८ बर्षीय सीता लुहारको ज्यान लिएपछि विज्ञ टोलीको सहयोगमा खोर राखिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.