दुई घण्टामा आउने भनिएको रिपोर्ट ४ घण्टामा पनि आएन

|

हेटौंडा : हेटौडामा शुक्रबार कोरोना संक्रमणको लक्षण देखिएका ५ जनाको स्वाब परीक्षण भएको छ। हिजो बिहीबारै हुने भनिएको परीक्षणको सम्पूर्ण तयारी सकिए पनि स्वाबको नमुना नआएकाले आजबाट परीक्षण भएको हो। 

प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार दाबी गरेअनुसार दुई घण्टामा नतिजा आउनुपर्ने हो। तर हालसम्म कुनै पनि स्वाबको रिपोर्ट नआएको मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले बताएका छन्। परीक्षण थालिएको ४ घण्टामा पनि नतिजा आएको छैन।

सबै स्वाब चितवनको 

हेटौंडामा भएको परीक्षण सबै चितवन जिल्लाका बिरामीहरुको रहेको प्रवक्ता सुवेदीले बताए। पहिलो पटक हेटौंडामा परीक्षण गरेको भएर नतिजा आउन केही ढिला भएको उनले बताए। सुवेदीका अनुसार ५ जनाको नतिजा सम्भवत भोलि शनिबार मात्रै रिपोर्ट आउनेछ।

हेटौंडामा रहेको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरस परीक्षण गरिएको हो। हेटौंडामा उपकरण भए पनि वर्षौंदेखि उपयोगविहीन थियो। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उपकरणलाई प्रयोगमा ल्याइएको हो।

ल्याबमा एकपटकमा ६० वटा नमुना परीक्षण गर्न सकिन्छ। सामाजिक विकास मन्त्रालयका अनुसार एकपटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्छ। 
बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक नारायण बहादुर कार्कीको संयोजनमा अहिले कर्मचारीहरु खटाइएका छन्।

हेटौंडाको प्रयोगशालाले ३ सय ७५ जनालाई पुग्ने किट आएको  प्रवक्ता सुवेदीले जानकारी दिए। यहाँको प्रयोगशालाले मकवानपुर मात्र नभई प्रदेश २ का केही जिल्लाका मानिसलाई समेत सेवा दिन मिल्नेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.