|

नवलपरासी : लकडाउन नहुने हो भने यो सिजनमा पश्चिम नवलपरासीका केरा किसानहरु केरामा सिंचाई गरी आवश्यक युरिया, डिएपी, पोटास, सल्फर, जिङ्कसँगै जैविक मल लगाउन व्यस्त हुन्थे। कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई रोकथाम गर्न सरकारले लकडाउन गरेपछि किसानहरु घरभित्रै बस्न बाध्य छन्। 

लकडाउनकै कारण सबै क्षेत्र ठप्पजस्तै बनेको छ। त्यसको असर  कृषि क्षेत्रमा पनि देखिएको छ। लकडाउनको समयमा घरभित्रै बसिरहेका केरा किसानहरुलाई भने मल पाइने सहकारीमा मल नपाएपछि यसपटक केराको उत्पादन घट्ने चिन्ताले सताउन थालेको छ।

पश्चिम नवलपसारीमा करिव एक हजार ७०० बिघा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। केरा उत्पादक कृषक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले यो समयमा केरा किसानलाई आवश्यक रासायनिक मल तथा जैविक मलको सहज उपलब्ध नभए केराको उत्पादनमा भारी गिरावट आउने भन्दै त्यसतर्फ सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन्। 

लकडाउनका कारण जिल्लाको कृषि सामग्री संस्थानमा रहेको मल सहकारीसम्म नपुगेको र किसान आफैं संस्थानमा पुगेर मल ल्याउने अवस्था नरहेको यादवले बताए। कम्तीमा किसानका लागि आवश्यक मल कुनै उपाय अवलम्बन गरेर सहकारीसम्म उपलब्ध गराइदिए किसानलाई ठूलो राहात पुग्ने अध्यक्ष यादवको भनाइ छ।

किसानहरुले मल नपाएको बारेमा आफूलाई जानकारी गराउँदै मल उपलब्ध हुने वातावरण मिलाइदिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए। उनले किसानको समस्यालाई गम्भीर रुपमा लिएको र त्यसका लागि आवश्यक समन्वय गरेर किसानहरुलाई मल उपलब्ध हुने वातावरण तयार गर्ने आश्वासन दिए। 

आफू जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आएलगत्तै कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेकोले अधिकांश समय कोरोना भइरसको संक्रमणको रोकथामका लागि आवश्यक ब्यवस्थापन गर्नमै ब्यस्त भएकाले अन्य क्षेत्रमा चाहेजति समय दिन नसकिएको दाहालको भनाइ छ।

हाल जिल्लामा रहेको कृषि सामाग्री संस्थानमा प्रशस्त मात्रामा रासायनिक मल रहेको तर कोरोनाको त्रासका कारण सहकारीसम्म ढुवानी गर्न आवश्यक सुरक्षा अपनाउन जटिल देखिएपछि मल वितरण गर्न नसकिएको कार्यालय प्रमुख प्रकाश ज्ञवालीले बताए। लकडाउनका कारण कार्यालयका कर्मचारीहरु पनि घरमै रहेको र सेवा प्रवाहमा समेत कठिनाई उत्पन्न भएको उनको भनाइ छ।

ज्ञवालीले संस्थानमा मल भण्डारण भएको स्थानदेखि सुरक्षित रुपमा ट्रकमा लोड गरी सहकारीमा लगेर अनलोड गर्दासम्म पनि कोरोनाको संक्रमण हुन सक्ने जोखिमलाई मध्यनजर गरेर मल वितरण नगरिएको ज्ञवालीले बताए। उनले संक्रमणबाट बच्नका लागि आवश्यक सवै सुरक्षाको प्रबन्ध भएमा दुई तीन दिनमा मल उपलब्ध गराउन सकिने बताएका छन्।

एक कठ्ठामा लगाइएको केराबाट ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने किसानहरु बताउँछन्। यसरी हेर्दा एक बिघा क्षेत्रफलमा केरा खेती गर्दा अधिकतम १२ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने देखिन्छ। पश्चिम नवलपरासीमा झण्डै एक हजार ७०० बिघा क्षेत्रफलमा लगाइएको खेरा खेतीबाट वार्षिक रुपमा दुई अर्ब ४० करोड रुपैयाँ बराबरको केरा उत्पादन हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.