|
फाइल तस्बिर

पथरी (मोरङ) : सामान्य समय भए पथरीशनिश्चरे नगरपालिका–३ की कुखुरापालक किसान पूर्णमाया पोखरेलले पालेका कुखुरा बजार पुगिसक्ने थिए। तर, लकडाउनकै कारण कुखुरा खोरमै रहेका छन्। 

‘६० दिनभन्दा बढी भइसक्यो, अब त कुखुरालाई खुवाउने दाना पनि छैन,’ पोखरेलले भनिन्, ‘लकडाउनले हामीजस्ता किसानलाई समेत असर परेको छ।’ 

सामान्यः ४५ देखि ६० दिनमा बेची सक्ने ब्रोइलर कुखुरा लकडाउनकै कारण बिक्री नहुँदा पथरीशनिश्चरेका कुखुरा पालक किसान समस्यामा परेका हुन्। अन्य समय ४५ दिनदेखि नै कुखुरा लिन व्यापारी आए पनि अहिले आएका छैनन्। कोरनाको संक्रमण भित्रिने भन्दै सरकारले लकडाउन गरेसँगै बजारमा मासु बिक्री हुन छोडेको छ।

पूर्णमायाले ३०० कुखुरा पालेकी छन्। फर्ममा कुखुरा लगाउने बेला ह्याचरीको सिन्डिकेटले चल्ला नपाएको र अहिले पालेका कुखुरालाई दाना खुवाउन नै समस्या भएको उनको गुनासो छ।

पथरीशनिश्चरे–५ का कुखुरा पालक किसान भिमप्रसाद गिरीले ७०० कुखुरा पालेका छन्। फर्ममा कुखुरा लगाएको ६२ दिन बितिसक्दा पनि बिक्री हुने कुनै छाँट छैन। दैनिक दुई बोरा (१०० केजी) चारो खपत हुने गरेको छ। पछिल्लो समय ती ७०० कुखुरालाई सास अढ्याउन मात्रै पुग्ने चारो दिने गरेको गिरीले बताए। 

‘बेचेर नाफा गोजीमा राख्ने बेलामा ६५ रुपैयाँ किलोको चारो खुवाएर कुखुरा पाल्दा आर्थिक संङ्कट सुरु भएको छ,’ गिरीले भने, ‘समयाजधि बढ्न थालेपछि कुखुराको तौल पनि घट्छ भने मृत्युदर पनि बढ्छ।’ 

२०६३ सालदेखि निरन्तर बोइलर कुखुरा पाल्दै आएका गिरी परिवारलाई लकडाउनले थप समस्या भएको छ। कुखुरा मर्न सुरु भएको भन्दै गिरीले भने, ‘मरेका कुखुराको व्यवस्थपन गर्न सकिएन भने स्वास्थ्य समस्या आउन सक्छ।’। 

गिरीजस्तै अन्य कुखुरा पालक किसानको माग छ, ‘स्थानीय सरकारले खाद्यान्न र सागसब्जीलाई अत्यावश्यक भनेको छ, माछामासु पनि उत्तिकै आवश्यक वस्तुको श्रेणीमा राखेर विक्री गर्न खुला गर्नु पर्यो।’ रोग प्रतिरोधात्मक क्षमता वडाउन चाहिने मासुलाई बजार खुला गर्नुको सट्टा बन्द गरेर किसान र स्वास्थ्यमा खेलवाड गरेको गिरीले आरोप लगाए। 

पथरीशनिश्चरे–५ कै चिरन्जीवी बञ्जराको फर्ममा पनि ५०० वटा कुखुरा छन्। बजार नपाएपछि कसरी बेच्ने भन्ने उनलाई तनाब बढेको छ। व्यावसायिक रुपमा  कुखुरा पाल्ने योजनामा रहेका बञ्जरालाई तिनै ५०० कुखुरा सल्ट्याउन गाह्रो भएको छ। दानाको अभाव त छँदैछ त्यसमाथि बिक्रीका लागि समय पुगेका कुखुरा बिक्री नहुँदा थप समस्या उनले गुनासो गरे। लाखौं लगानी गरेर सुरु गरेको व्यावसायले थप चिन्ता थपेको उनले बताए। आर्थिक समस्या हल गरौंला भनेर सुरु गरिएको व्यवसाय गर्दा लिएको ऋण कसरी तिर्न भन्ने चिन्ता कुखुरा किसानलाई थपिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.