थप रणनीति बनाउँदै स्वास्थ्य मन्त्रालय

|

काठमाडौं : नेपालमा पहिलो पटक कोरोना भाइरसबाट नेपालमै बसिरहेका व्यक्ति पनि संक्रमित भएका छन्। यसअघि संक्रमित ६ जना विदेशबाट आएका मात्रै थिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि मार्च १९ मा दुबईबाट भारतको नयाँ दिल्ली हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकका भाउजु नाताकी महिलामा कोरोना संक्रमण देखिएको हो। नेपालमै रहेकालाई संक्रमण भएकाले यसलाई 'कम्युनिटी ट्रान्स्फर'का रूपमा स्वास्थ्य मन्त्रालयले व्याख्या गरेको छ।

मन्त्रालयका अनुसार सातौँ संक्रमित महिला धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन्। उनमा दुबईबाट आएका तिनै युवकबाट संक्रमण सरेको पुष्टि मन्त्रालयले गरेको हो। पहिलो पटक नेपालमै बसेका अर्थात् कुनै 'ट्राभल हिस्ट्री' नभएकामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

स्थानीयस्तरमै कोरोना संक्रमण देखिएपछि सरकारले थप सजगता अपनाउने भएको छ। इटालीमा स्थानीयस्तरमै फैलिएको संक्रमणलाई हेलचेक्राइँ गर्दा महामारीको रुप लिएको थियो। 

सरकारले विदेशबाट आएकाहरुलाई खोजेर क्‍वारेन्टाइनमा राखेको छ। कैलाली र कञ्‍चनपुरमा क्‍वारेन्टाइनमै राखेका दुई युवकमा पनि कोरोना पुष्टि भएको छ।

'दुबईबाट आएका एक व्यक्तिबाट उनकी भाउजुमा पनि कोरोना सरेको छ', स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, 'यसको अर्थ पहिलो पटक नेपालमा कोरोना विदेशबाट आएका व्यक्तिबाट यहीँ बसिरहेकामा पनि सरेको छ।' 

मार्च १९ मा संयुक्त अरब इमिरेट्सको दुबईबाट एयर अरेबियाको जहाजमा कैलालीका ३४ वर्षीय युवक कोरोना संक्रमित भई धनगढी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन्। 

यससँगै कैलाली, कञ्‍चनपुरका अन्य दुईजनामा पनि शुक्रबार राति नै कोरोना संक्रमणको पुष्टि भएको छ। विदेशबाट आएका व्यक्तिले कोरोना यहीँका परिवारजनमासमेत संक्रमण गराएको पुष्टि भएपछि सरकारले लकडाउनलाई अझै कडा बनाउने सम्भावना छ। यस प्रकरणले विदेशबाट आएकालाई अनिवार्य लकडाउनमा राख्‍न अझै दबाब बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.