मृतककी पत्नी भन्छिन् : अस्पतालले मृत्युको कारण देओस्

|

बुटवल : पतिको मृत्यु भएको छैटौँ दिन पनि रीता थापालाई रातभर छट्पट् भइरह्यो। न त छोराहरू नै निदाउन सके। ठूलो छोरा कुशल र सानो छोला रिजनले बेलाबेलामा सोधिरहे–‘मम्मी, हामी बाबालाई लिन कहिले जाने?’

प्रश्नले रीतालाई झस्काउँथ्यो। उत्तर आफूसँग पनि थिएन त्यसैले सुत बाबु रात धेरै बितिसक्यो भनेर मात्रै टारिन्। सैनामना–४ सिसौडाँडाको एक घरमा बहालमा रहेका यी तीन आमा छोराको अघिल्ला ५ वटा रात पनि यसरी नै बितेका थिए।

तर, चैत ७ गते दुबईबाट बाबुराम फर्कंदाको रात रीता र छोराहरू खुसीले दंग थिए। छोराहरू बाबाले ल्याइदिएको मिठाई खाँदै नयाँ कपडा सुम्सुम्याएका थिए। पत्नी रीता केही समय अगाडि ऋणधन गरेर किनेको घडेरीमा केही समयपछि घर बनाउने योजना बाबुरामले सुनाउँदा फुरुंग थिइन्।

खुसी चुँडिन कत्तिबेर लागेन

खुसी चुँडिन धेरै समय लागेन। घर फिरेको ९ दिनपछि गत आइतबार बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा कोरोनाको आशंकामा उपचार गराइरहेका बाबुरामको सास फेर्न निकै गाह्रो मान्दामान्दै मृत्यु भयो। अहिले बाबुरामको पार्थीव शरीर लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमै लडिरहेको छ।

आएनन् आफन्त, न त जनप्रतिनिधिकै चासो

मृत्यु भइसकेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा दुईपटक बाबुरामको घाँटीबाट लिइएको ‘स्वाब’ परीक्षण गर्दा दुवैपटक कोरोना संक्रमण नरहेको पुष्टि भयो। तर, मृतक कोरोनाकै कारण मरेको हुनसक्ने आशंकामा उनका आफन्त भने रीताको दुःखबाट पन्छिरहेका छन्।

उनीहरू अस्पतालबाट शव उठाउन त परै जाओस्, मृत्यु भएको ७ लिन बितिसक्न लाग्दा पनि रीतालाई सहानुभूति दिनसमेत आएका छैनन्।क्‍वारेन्टाइनमा मृत्यु :

अघिल्लो वर्ष मात्रै तराई झरेका थापा दम्पतिको स्थायी बसोबास रिब्दीकोट गाउँपालिका वडा नं ५ कुसुम खोलामा पर्छ। बाबुरामका आमा बाबु र एक जना दाई लगायतको परिवार त्यहीँ छ।

बाहिरबाट आएकाले मृतकका माहिला दाइ आफैँ होम क्वारेन्टाइनमा छन्। जेठा दाइ पहिले नै बितिसकेका थिए। यहीँ नजिकै बुटवल गोलपार्कमा समेत उनका आफन्तहरूको बसोबास छ। तर, मृत्युको खबर थाहा पाइसक्दा र गाउँपालिकाले पटकपटक आग्रह गर्दासमेत कोही आउन मानेका छैनन्।

कोरोनाका डरले सबै तर्किए

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले आफन्तहरू सबैलाई सम्पर्क गरेर शव उठाउन आग्रह गरिएको भए पनि उनीहरूले ‘बरु पैसा उठाएर दिन तयार छौं तर हामी जाँदैनौँ’ भनेर तर्केको बताए।

कोरोना संक्रमणको भयका कारण मृतकका आफन्तले आर्थिक सहयोग गर्ने तर, शवको व्यवस्थापन प्रशासनले नै गरिदिनुपर्ने कुरा राखेको अध्यक्ष जिसीले बताए।  ‘यहाँ उनका परिवारलगायत आफन्तले मरेका मान्छे गइसके, फर्केर आउने होइनन् बरु हामी पैसा दिन्छौं तर आउँदैनौं भनेका छन्’ अध्यक्ष जिसीले बताए।

अध्यक्ष जिसीसँगै प्रदेशसभा सदस्य वसन्त कार्की, वडाध्यक्ष कृष्ण थापा, सैनामैनाका प्रमुख चित्र केसीले बाबुरामको मृत्यु भएको केही दिनपछि रीताको डेरा मै गएर उनलाई आश्वासन देखाउँदै शव बुझ्न आग्रह गरेका थिए।

त्यसपछि उनीहरूले समेत सोधखोज नगरेको रीताको आरोप छ। आफन्तहरूले नै  जिम्मेवारी बोक्न नखोजेको भन्दै शवको व्यवस्थापनमा जनप्रतिनिधिहरू पन्छिन खोजेका छन्। ‘परिवार नै गएर शव बुझियो भनेर हस्ताक्षर गरे सबै समस्या समाधान हुन्छ।’ रिब्दीकोटका अध्यक्ष जिसीले बताए।

आफन्त र जनप्रतिनिधिहरूबाट साथ नपाएपछि रीतासँग शव ल्याउने विषयमा संवाद गर्ने मान्छे समेत छैनन्। मानव अधिकार तथा नागरिक समाजलगातका मानिसहरू कसैले पनि सम्पर्क नगरेको उनले बताइन्। ‘घरमा आएर मलाई शव छिटो बुझ भनेर गए। तर, त्यसपछि कोही आएका छैनन्। न त आफन्त नै आएका छन्।’ रीताले भनिन्।

अस्पतालले मृत्युको कारण देओस्  

समस्या त्यति मात्रै होइन। किनभने पतिको मृत्यु भएको थाहा हुँदाहुँदै पनि रीताले मृत्यु स्वीकार गर्न सकस मानिरहेकी छन्। उनलाई पतिको अरू कारण नभई अस्पतालको लापहरबाहीका कारण मृत्यु भएको भन्ने लागेको छ।

त्यसैले मृत्युको ठोस कारण नखुल्दासम्म उनले शव नलिने अडानमा छिन्। ‘अस्पतालले गर्नुसम्म गर्‍यो। सुरुबाटै उपचार नगरेर ज्वरो मात्रै नाप्यो। मृत्युको वास्तविक कारण थाहा नपाउँदासम्म मैले शव नै बुझ्दिनँ।’ थाहाखबरसँगको कुराकानीमा उनले सुनाइन्। 

‘शनिबार साँझ पनि मसँग कुरा भएको थियो। बिहान एकैपटक त्यस्तो खबर आयो। अरू रोग लागेको भए पनि कारोना भनेर उपचार गरिएन’ उनले भनिन्, ‘आखिर कोरोना पनि होइन रहेछ।’ 

पतिको मृत्युको कारण खुलाउन उनले अस्पताललाई आग्रह गरेकी छन्। उनले कोरोना परीक्षण नेगेटिभ भए मृत्युको यथार्थ रिपोर्ट डाक्टरले दिनुपर्ने बताइन्।

‘अस्पतालमा समेत उहाँलाई राम्रोसँग उपचार गरेका थिएनन् रे। केही नभएको मान्छे कसरी एकैपटक मर्न सक्छ? खास कुरा के हो भनेका छैनन्’ उनले भनिन्।

यता अस्पतालको भने आफ्नै बुझाइ छ। लुम्बिनी प्रादेशिक अस्पतालले बाबुरामको मृत्युको कारण ‘एआरडिएस’ रहेको आधिकारीक धारणा बनाएको छ। एआरडिएस फोक्सोमा भएका साना हावाका थैलीहरूमा झोलीलो पदार्थ भरिएर रगतमा अक्सिजनको मात्रा कम हुने अवस्था हो। एआरडिएस हुनुमा निमोनियाको कारण रहेको चिकित्सकको बुझाई छ। बाबुराम आईसोलेशनमा भर्ना भएकै दिनदेखि निमोनियाको औषधि चलाएको थियो।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट राजेन्द्र खनालले अस्पतालले कारण खुलाइसकेको बताउदैं मृतकको परिवारसँग संवाद गर्न सक्ने निकाय निकम्मा भएका कारण समस्या बल्झीएको बताउँछन्। ‘कोरोनाको डरले आफन्त आउन खोजेका छैनन्। मृतकको परिवारसँग कुरा गरेर समाधान निकाल्न जनप्रतिनिधि अथवा नागरिक समाज निस्क्रीय देखिएका छन्’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.