|

भद्रपुर : भद्रपुरस्थित किचनकवधको टहरामा बस्दै आएका १८ जना भारतीय मजदुरलाई दुई दिनपछि प्रदेश सांसद वसन्त बानियाँकै पहलमा उचित व्यवस्थापन गरिएको छ।

कोरोना त्रासपछि सरकारले लगाएको लकडाउनको बेला भारत घर फर्किन लागेका १८ भारतीय मजदुरलाई नियन्त्रणमा लिएर किचकबधमा राखिएको छ। उनीहरूको बस्न र खानाको अवस्थाको विषयमा प्रदेश सांसद बानियाँले स्थलगत अनुगमन गरेका थिए। 

अनुगमनका क्रममा ती मजदुर टहरामा अव्यवस्थित रूपमा बस्दै आएको, खाद्यान्नको अभाव, सुत्ने व्यवस्थापन समेत नभएको समस्या देखिएको प्रदेश सांसद बानियाँले बताए। सोही बमोजिम स्थानीय व्यवसायी र जनप्रतिनिधिसँग पहल गरेर उनीहरूलाई चाहिने आवश्यक सामग्री उपलब्ध गराएको उनले बताए। 

किचनकबधको टहरामा बस्दै आएका उनीहरूका लागि बाँसेको टेन्ट बनाउनुका साथै सुत्ने ९ थान झुल, ९ थान तन्ना र म्याट उपलब्ध गराएको छ। साथै खानाका लागि चाहिने दुई सय केजी चामल, २० केजी आलु , ५ केजी दाल, १० लिटर  खाने तेल, ५ केजी प्याज, साबुन , चना, मुराइ, नुन, सोयाविन, खुर्सानीलगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो। 

प्रदेश सांसदकै पहलमा सहयोगीदाता कचनकवलका निर्माण व्यवसायी रोहित खतिवडा, कचनकवलका व्यवसायी कमल घिमिरे, भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठ, कौशल्या अधिकारी, कचनकवलका डिल्लीराम घिमिरे,दिलबहादुर थेबेलगायतले सहयोग गरेका थिए। उनीहरूको व्यवस्थापनका लागि ३ नम्बर वडा अध्यक्ष भीम केरुङ, पृथ्वीनगर सीमा प्रहरी कार्यालयका असई विकास भट्टराईलगायतले सहजीकरण गरेका थिए।

१८ जना भारतीय मजदुर बुधबार लुकिछिपी पृथ्वीनगरको बाटो भएर भारत प्रवेश गर्न खोज्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए। बिर्तामोडको पलाई उद्योगमा काम गर्ने उनीहरूको घर भारतको पश्चिम बंगालस्थित रायगञ्ज हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.