|

बर्दिया : बर्दियाकाे छिमेकी जिल्ला कैलालीमा दुई जना र कञ्‍चनपुरमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएसँगै त्यसको त्रास बर्दियामा पनि फैलिएको छ। सीमा जोडिएका जिल्लामा संक्रमण फैलिएसँगै बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ। 

बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकासँग सीमा जोडिएका कैलालीका सबै सीमा सिल गरिएको छ। पैदलमार्फत समेत कसैलाई पनि प्रवेश गर्न नदिने कैलाली जिल्लासँग जोडिएका बर्दिया राजापुर र ठाकुरबाबा नगरपालिकाका नगर प्रमुखले बताएका छन्।

कैलालीको टीकापुर सीमासँग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले सतिघाट पुल नाका बन्द गरेको राजापुरका मेयर शिवप्रसाद थारूले बताए।
यसैगरी पूर्वपश्‍चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासँग सीमा जोडिएको नाका पूर्ण रुपमा बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर घनानारायण श्रेष्ठले जानकारी दिए। 

पश्‍चिम कैलालीबाट अत्यावश्यक काममा पैदल अथवा सवारी साधनमा आएको भए पनि क्‍वारेन्टाइनमा बस्‍नुपर्ने नगरप्रमुखले बताए। बर्दियाको भुरिगाउँ हुँदै आम्बासा र कर्णाली चिसापानी नाका पूर्ण रुपमै बन्द गरिसकिएको बताए। अहिले राजमार्ग क्षेत्रमा प्रहरी र नेपाली सेना तैनाथ गरी चेकजाँचमा कडाइ गरिएको छ। 

यसैगरी बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि थप चुनौती बढेसँगै पश्‍चिम कैलाली र बर्दियासँगका सबै नाका बन्द गर्नुपर्ने बताए। कैलालीसँग राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ। ठाकुरबाबा नगरपालिकाको भुरिगाउँदेखि कर्णाली चिसापानीसम्म २२ किलोमिटर पश्‍चिम कैलालीको लम्कीचुहा नगरपालिका पर्छ। लम्कीका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.