|

नवलपरासी : लकडाउनका समयमा नेपालसँग सीमा जोडिएका भारतीय नाकाहरु सिल गरिए पनि पश्चिम नवलपरासीमा मुख्य नाकाहरु बन्द भए पनि अन्य बाटो प्रयोग गरेर आवतजावत भइरहेको छ। सीमा क्षेत्रमा हुँदै आएको तस्करी भइरहेको छ।

दिनभर लकडाउनको राम्रै प्रभाव परे पनि रात परेसँगै भारतसँग जोडिएका सीमा नाका झुलनीपुर, वहुवार, धर्मौली, बसहियालगायतका नाका आसपासमा चहलपहल बढ्ने गरेको छ। जब रातको ९ बज्छ त्यसपछि भारततर्फबाट नाका बन्द भए पनि खेत तथा खोला र नहरको बाटो प्रयोग गरेर भारतीय बजारबाट आलु, प्याज, लसुन, दाललगायतका खाद्यपदार्थ नेपालतर्फ भित्राउने क्रम करिव विहानको ३ बजे सम्म चल्ने गरेको सिमा क्षेत्रका स्थानीयहरुले भनाइ छ।

अहिले भारतीय नहरमा पानी रोकिएपछि नहरबाटै ओहोरदोहोर गर्न समेत सहज भएको छ। तस्करहरुले खेतको बाटो प्रयोग गरेर सामानहरु भित्र्याउने गरेका छन्। सीमा क्षेत्रका कतिपय नेपालीहरु लोड अनलोडको काम गर्न रातको समयमा भारतीय क्षेत्रमा जाने गरेका छन्। लोड अनलोडकै काम गर्ने एक कामदारले आफ्नो नाम नबताउने सर्तमा भने लकडाउनले तस्करीमा प्रभाव पारेको छैन। लोड अनलोड गरे बापत नेपाली ५०० रुपैयाँ पाउने गरेको उनले बताए।

कोरोना संक्रमणको जोखिम उच्च भएको समयमा सीमानाकामा हुने तस्करीसँगै हुने आवतजावतले जोखिम अझै बढाएको छ। रातको समयमा नेपालबाट पनि भारततर्फ मदिरा तस्करी हुने गरेको छ। शुक्रबार प्रतापपुर गाउँपालिका–६ गुठी प्रसौनीमा भारततर्फ लैजाँदै गरेको झण्डै १०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर गुती प्रसौनीमा रहेको विओपीका सशस्त्र प्रहरीको टोलीले नष्ट गरेको छ।

सीमा क्षेत्रका स्थानीयहरु अहिले पनि दैनिक उपभोग्य बस्तु खरिद गर्न भारतिय बजारमा जाने गरेका छन्। जिल्लाका मुख्य मुख्य नाकाहरुमा सुरक्षाकर्मी परिचालित भए पनि खेत, खोला र नहर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नहुने भएकाले स्थानीयहरु सोही बाटो प्रयोग गरेर भारत आउजाउ गर्ने र भारतीयहरु पनि नेपाल प्रवेश गर्ने गरेको सुस्ता गाउँपालिका–५ रतनगञ्जका मानबहादुर गुरुङले बताए। भारतियहरु साइकल र मोटरसाइकलमा दैनिक उपभोग्य बस्तुहरु बेच्नका लागि सीमावर्ती क्षेत्रमा आउने गरेको उनको भनाइ छ।

भारतीयहरु आउने क्रम नरोकिएपछि स्थानीयहरु आफैं सक्रिय भएर उनीहरुलाई फर्काउने र भारतबाट नेपाल फर्किने नेपालीहरुलाई सिधै क्वारेन्टाइनमा पठाउने गरेको उनले बताए। भारततर्फ भने मुख्य नाकाबाहेकका क्षेत्रमा पनि भारतीय सीमा सुरक्षा बल खटिएको तर नेपालतर्फ भने सीमामा रहेका विओपी आसपासका क्षेत्रबाहेक सुरक्षाकर्मीको उपस्थिति हुन नसक्नुले पनि भारतीयहरु सजिलै प्रवेश गर्ने गरेको स्थानीयको भनाइ छ। भारतीय हरु नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सीमाक्षेत्रका स्थानियहरु त्रसित छन्।

पश्चिम नवलपरासीको सिमा क्षेत्रसँगै जोडिएको भारतको उत्तर प्रदेशको महाराजगंजमा पनि कोरोना संक्रमित फेला परेको अवस्थामा सीमा क्षेत्रबाट हुने आवतजावत पूर्ण रुपमा नरोकिए नवलपरासीमा पनि कोरोना संक्रमण फैलन सक्ने जोखिम झनै बढि देखिएको छ। भारतको दिल्लीमा भएको निजामुद्दिनजमात (धार्मिक सभा)मा सहभागी जनाएका नेपालदेखि करिब १३ किलोमिटरको दूरीमा रहेको महाराजगञ्जका ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको भारती सञ्चारमाध्यमहरुले जनाएसँगै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिका भारतसँग समिा जोडिएकोले उच्च जोखिममा रहेको भन्दै स्थानीयहरु त्रसित भएका हुन्। 

भारतमा लकडाउन भए पनि सीमा क्षेत्रमा रहेको सीमा सुरक्षा बलले भारतीयलाई नेपाल प्रवेश गर्नमा रोक नलगाएको र दशगजा क्षेत्रबाटै ट्याक्टरमा सामान लोड भएर तस्कर हुँदा पनि रोक्नका लागि कुनै चासो दिने नगरेको स्थानीयको आरोप छ। पश्चिम नवलपरासीको भुजहवा, झुलनीपुर लगायतका नाकाहरु यस अघि पनि तस्करहरुले सवैभन्दा बढी प्रयोग गर्ने नाकाको रुपमा रहेका छन्। रातको समयमा सुरक्षा गस्ती नहुँदा पनि तस्करहरुले निर्वाध रुपमा सामानहरु ओसारपसार गर्ने गरेको सीमाक्षेत्रकै स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.