|

तनहुँ : कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि तनहुँको व्यास नगरपालिकाले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ। राहत तथा औषधि उपचारका लागि यसअघि २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त कोषमा ७५ लाख रुपैयाँ विनियोजन गरी एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवं व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए।

नगरपालिकाको वडागत रुपमा संकलित श्रमिक कृषि मजदुर, असहाय एवं आश्रममा आश्रितलगायत गरी करिब तीन हजार ५०० घरपरिवारलाई राहत वितरण गर्ने बैठकले निर्णय गरेको श्रेष्ठले बताए। नगरपालिकाले राहत स्वरुप चामल, दाल, तेल र साबुन लगायतका खाद्यवस्तु वितरण गर्ने प्रवक्ता श्रेष्ठले बताए।

यस्तै, नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाई र सवारी चालकहरुले लकडाउनका बेला प्रदान गरेको सेवालाई मध्यनजर गर्दै सुरु तलबमानमा ५० प्रतिशत थप प्रोत्साहन भत्ता उपलब्ध गराउने नगरपालिकाले निर्णय गरको छ।

शुक्लागण्डकीमा ६० लाखको कोष

शुक्लागण्डकी नगरपालिकाले कोरोनाको जोखिम नियन्त्रण र राहत सामग्री व्यवस्थापनका लागि ६० लाख रुपैयाँको कोष स्थापना गरेको छ। कार्यपालिकाको बैठकले प्रकोप व्यवस्थापन कोष स्थापना गरेर ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।

संक्रमण नियन्त्रणका लागि आवश्यक सामग्री खरिद, सचेतना, राहत वितरणलगायत लागि कोष स्थापना गरिएको नगरप्रमुख किसान गुरुङले जानकारी दिए। नगरपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थालाई आफूखुसी राहत वितरणमा रोक लगाएको छ। त्यस्ता व्यक्ति तथा संघसंस्थाले नगरपालिकासँग सहकार्य गरेर मात्रै राहत वितरण गर्न पाउने व्यवस्था गरिएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताए।

यस्तै, नगरपालिकाले भाडामा लगाइएको व्यवसायिक सटरको चैत महिनाको शुल्क छुट दिने भएको छ। नगरपालिकाले खैरेनीटार बजारमा ३५ सटर भाडामा लगाएको छ। नगरपालिकाको यस निर्णयअनुसार दुई लाख ८० हजार रुपैयाँ छुट भएको छ। नगरपालिकाले ज्याला मजदुरीको भरमा जीवन निर्वाह गरेका विपन्न वर्गलाई राहत वितरण गर्न नगरप्रमुख गुरुङको संयोजकत्वमा आपूर्ति समिति समेत गठन गरेको छ।

म्याग्दे गाउँपालिकामा पनि २५ लाख रुपैयाँको कोष

म्याग्दे गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ। आवश्यक सामग्री खरिद, राहत वितरण लगायतका लागि उक्त कोष बनाइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्।

जिल्लाका अन्य स्थानीय तहले पनि कोभिड–१९ संक्रमण फैलन नदिनका लागि विपद् व्यवस्थापन कोष स्थापना गरी कार्यक्रम अगाडि बढाएका छन् भने दैनिक मजदुरी गरी जिविकोपार्जन गर्ने वर्गको पहिचान गरी एकद्वार प्रणालीबाट राहत वितरण कार्य भइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.