एकको कोरोनाबाट, अन्यको पुष्टि हुन बाँकी

|

काठमाडौं : अमेरिकाको न्युयोर्क सहरमा बस्दै आएका नेपाली मूलका चार नेपाली भाषीले १५ दिनको बीचमा ज्यान गुमाएका छन्। पछिल्लो पटक न्युयोर्क निवासी अजयमान छोंचुँको आइतबार उपचारका क्रममा निधन भएको छ। 

छोंचुँको एल्महसर्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केहीदिनदेखि बिरामी  उनको अवस्था गम्भीर थियो । छोंचुँको उपचारका क्रममा निधन भएको नेवा नख न्युयोर्कका अध्यक्ष बिष्णुमान प्रधानलाई उद्धृ गर्दै अमेरिकाबाट सञ्चालित अनलाइन खसोखसले समाचार प्रकाशित गरेको छ।

नेवा नख न्युयोर्कले पनि उनको निधनको पुष्टि हृदयघातबाट भएको जनाएको छ। उनलाई अर्जेन्ट केयर ब्याक्टेरियल निमोनिया देखिएको भन्दै अस्पतालमा जान भनेको खुलेको छ। त्यसपछि उनी एल्महसर्ट अस्पतालमा भर्ना भएका थिए। 

अस्पतालले उपचारपछि सुधार भएको बताए पनि हृदयघात भएका कारण उनको निधन भएको हो। केही दिनअघि गरिएको परीक्षणमा छोंचुँ र उनकी श्रीमतीमा कोरोना नेगेटिभ पाइएको थियो।

न्युयोर्कमा कोरोनाको महामारी चलिरहेकाले उनको अन्तिम संस्कारमा परिवारका सदस्य, नातेदार र आफन्त सहभागी हुने सम्भावना कम रहेको बताइएको छ। छोँचुँ न्युयोर्कको क्‍विन्स ग्रयाण्ड एभिन्युमा बस्दै आएका थिए। उनका छोराबुहारी न्युयोर्कमै छन्। 

आजै दुई नेपालीको मृत्यु

न्युयोर्कमै शनिबार मुस्ताङका दुईजना नेपाली भाषीको निधन भएको छ। २० वर्षदेखि अमेरिकामा रहँदै आएका मुस्ताङका थोक्मे बिष्टको अपार्टमेन्टमै मृत्यु भएको हो।  बिष्टको पुर्ख्यौली थलो लोमान्थाङ हो। 

विष्टको स्थानीय समयानुसार शनिबार विहान ९ बजे घरमै निधन भएको हो। बेलुका ६ बजेतिर  प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जनाएको छ।

टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि भर्ना भएका थिए। अस्पतालले उनलाई घरमै आराम गर्न भनेको थियो। मुस्ताङ किदुगका पूर्वअध्यक्ष नोर्बु बिष्टले उनको मृत्युको पुष्टि गरेका छन्। 

सीटीएमडीले घर पठाएपछि बिष्ट माउन्ट साइनाई अस्पताल गएका थिए। एक्सरेपछि फोक्सोमा समस्या रहेको रिपोर्ट आएको थियो । तर अस्पतालले भर्ना नलिई घरमै आराम गर्न भनेको खुलेको छ। तर अस्पतालको रिपोर्ट नआउँदै बिष्टको निधन भएको हो। ४४ वर्षीय बिष्ट मुस्ताङका राजाका आफन्त हुन्।

बिष्टका दुई छोरा र श्रीमती काठमाडौंमा छन् । बिष्टको मृत्यु कोरोना या अन्य कारणले भएको खुलिसकेको छैन। उता मुस्ताङ नै घर भइ न्युयोर्कको क्‍विन्स जमैकामा बस्दै आएका सोनाम लामाको पनि  मृत्यु भएको छ। 

४० वर्षीय सोनामको मृत्यु उनको कोठामै भएको हो। जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी थिए। उनका साथीहरुले कोठामा हेर्दा उनी मृत भेटिएका हुन्।  उनको मृत्यु कोरोना संक्रमणकै कारण भनिए पनि रिपोर्ट आइसकेको छैन। उनी १८ वर्षदेखि अमेरिकामा थिए। उनको शव प्रहरीले लगिसकेको छ।

यसअघि गत मार्च २४ मा न्युयोर्क एक प्रवासी नेपालीको कोरोना भाइरस संक्रमणबाट निधन भएको थियो। न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बुको मृत्यु भएको थियो। 

न्युयोर्कको एल्महसर्ट अस्पतालमा कोरोना संक्रमणका लिम्बुको मृत्यु भएको थियो। ५० वर्षीय लिम्बुको आफन्तको उपस्थितिबिना नै अन्तिम दाहसंस्कार गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.