मनाङ : केही समयअघि नेपाल आएका १५ जना विदेशी नागरिक स्वदेश फर्कन मानेका छैनन्। जिल्ला प्रशासन कार्यालय मनाङले जनाएअनुसार संसारभर कोरोना संक्रमण भइरहेको भन्दै उनीहरु फर्कन नमानेका हुन्।
अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मनी, इजरायललगायत युरोपेली देशहरुबाट आएका उनीहरु नेपाल नै सुरक्षित मुलुक भएकाले यतै बस्न चाहेका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।
माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायत ठाउँमा ती विदेशी नागरिक छन्। उनीहरुको देशभन्दा कोभिड १९ को महामारीबाट अन्यत्र भन्दा नेपाल सुरक्षित रहेको उनीहरुले बताएका छन्।
यद्यपि नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्यांक समेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन सकेको छैन। ‘तिलिचो आधारशिविर तिर पनि कति विदेशी नागरिक छन्, यकिन छैन,’ प्रजिअ पौडेलले भने, ‘सम्पर्कमा रहेकाहरुले बरु नेपाल सुरक्षित रहेको बताउने गरेका छन्।’
अमेरिकी नागरिक डेभिडले भने, ‘हामी यहीँ सुरक्षित छौं।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।