|

कञ्‍चनपुर : भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्ला लोहाघाट नजिकैको सुन्नीमा सडक मजदुरी गरिरहेका १३ नेपाली काम बन्द भएपछि नेपाल फर्किए। 
कोरोना भाइरसका कारण भारतमा पनि लकडाउन भएपछि उनीहरु घर फर्किएका हुन्। कार्यस्थलमा टेन्टमा बस्ने गरेका उनीहरु चैत १३ गते लोहाघाटबाट टनकपुरका लागि हिँडेंका थिए। 

सोही रात उनीहरु टनकपुर पुगे। तर लकडाउनका कारण भारतीय सुरक्षाकर्मीले टनकपुरस्थित महाकाली नदी माथिको पुलमा आवागमन बन्द गरेको थियो।त्यहाँबाट नेपाल प्रवेश गर्ने एक मात्रै माध्यम थियो त्यो। काम बन्द भएपछि भारतमा फर्केर जान सकिने अवस्था थिएन। 

नेपाल तर्फको सीमामा पनि नेपाली सुरक्षाकर्मीले सतर्कता अपनाएकाले सीमा पार गरेर आउनु निकै चुनौती थियो। नेपाल भारतको सीमा नदी महाकाली पार गरेर मात्रै नेपालतर्फ छिर्न सकिने अवस्था थियो। 

भारतमा रहँदा भोकै बस्नुपर्ने अवस्था आएपछि उनीहरु नेपाल भारतका सुरक्षाकर्मीको आँखा छिचोल्दै ट्युबको सहारामा महाकाली नदी तरे। महाकाली नदी तरेर घर जाँदै गरेका उनीहरुलाई चैत १४ गते नेपाली सुरक्षाकर्मीले ब्रह्मदेवको मटैनाबाट नियन्त्रणमा लियो। 

सुरक्षाकर्मीलले उनीहरुलाई गड्डाचौकी पुर्‍याए। केही बेर गड्डाचौकीमा राखिएका उनीहरुलाई साँझ घर जाने व्यवस्था गरियो। भारत बाट आएकाले घर नपुग्दै उनीहरुलाई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्न लगाइयो।  १३ मध्ये दुई जना बीच बाटोमै सुडामा उत्रिए। बाँकी ११ जनालाई कोरोना भए नभएको पुष्टि गर्न  चैत २० गते स्वाब परीक्षणका लागि पठाइयो। तीमध्ये १० जनाको स्वाब नेगेटिभ आयो। बेदकोटका ४१ वर्षीय युवकको स्वाबमा कोरोना भाइरस भएको पाइयो।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी गराएपछि  क्वारेन्टाइनमा बस्दै आएका उनलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। उनी चैत २ गते रोजगारीका लागि भारत गएका थिए। संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। 

बाहिरबाट स्वस्थय देखिएका युवालाई कोरोना भाइरसको संक्रमण कसरी भयो भन्ने बारे उनी पनि अनभिज्ञ रहेका छन्। खर्च धान्न भारत गएका उनी कोरोना संक्रमित भएपछि उनका परिवारसमेत चिन्तित छन्।  बेदकोटका युवकसँग आएका सुडाका दुई जना युवक सहित पाँच जनाको स्वाब परीक्षणका लागि पठाइने तयारी भइरहेको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले बताए। हाल ती पाँच जनालाई समेत क्वारेन्टाइनमा राखिएको छ। 

नगरपालिकाको क्वारेन्टाइनमा १७ जनालाई राखिएको छ। कोरोना भाइरसको परीक्षण नेगेटिभ आएकाहरुको पनि पुनः स्वाब चेकजाँच गरिने बताइएको छ। 
कोरोना संक्रमित युवकसँग आएकाको खोजी भइरहेको छ। ती संक्रमित युवकलाई नियन्त्रणमा लिने सुरक्षाकर्मी युवकको सम्पर्कमा आएको हुन सक्ने भएकाले तिनको पनि स्वाब परीक्षण गरिने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.