|

तनहुँ : कोभिड १९ को संक्रमण विश्वव्यापी फैलिएसँगै वैदेशिक रोजगारीमा गएर फर्किनेको संख्या जिल्लामा ह्वात्तै बढेको छ। तनहुँका १० वटा स्थानीय तहमा चैत १ देखि २३ गतेसम्म ७ सय १० जना विदेशबाट फर्किएका छन्  ।

विदेशबाट फर्किएका नागरिक र कोभिड १९ संक्रमणको सम्भावित संक्रमितलाई राख्न जिल्लामा बनाइएको क्‍वारेन्टाइन भने रित्तै छन्। स्थानीय तहले २९ स्थानमा एक सय ७४ बेडको क्‍वारेन्टाइन बनाएको छ। तर यतिका क्‍वारेन्टाइनमा बस्‍ने एक जना मात्रै छन्। क्‍वारेन्टाइनमा विदेशबाट आउने नागरिक बस्‍न नमान्ने गरेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए। देवघाट गाउँपालिकामा बनाइएको क्‍वारेन्टाइनमा मात्रै एक जना बसेका अधिकारीले बताए। 

‘देवघाट गाउँपालिकास्थित धर्मार्थ अस्पतालमा एक जना पुरुष क्‍वारेन्टाइनमा बसेका छन्, अहिलेसम्म अन्य कोही पनि विदेशबाट आउने नागरिक क्‍वारेन्टाइनमा बस्‍नै मानेका छैनन्,’ उनले भने। अन्य स्थानमा निर्माण गरिएको क्‍वारेन्टाइन भने खालि रहेको अधिकारीले बताए।  व्यास नगरपालिकामा १५३, शुक्लागण्डकीमा १२४, भिमाद नगरपालिकामा ११२, भानु नगरपालिकामा ७४, म्याग्दे गाउँपालिकामा ३५, ऋषिङ गाउँपालिकामा ८५, घिरिङ गाउँपालिकामा ६२, देवघाटमा ३०, आँबुखैरेनीमा २० र बन्दीपुरमा १५ गरी ७१० नागरिक विदेशबाट आएका छन्। 

चैत ६ गते निर्माण गरिएको व्यास नगरपालिका ५ पाटन स्थित पराशर आधारभूत विद्यालयमा बनाइएको क्‍वारेन्टाइनमा दुई जना विदेशबाट आएका बसेको भए पनि उनीहरु घर फर्किसकेका छन्। उनीहरुको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमणको लक्षण नदेखिएपछि बिहीबार घर पठाइएको अधिकारीले बताए। 

विदेशबाट आउने बाँकी नागरिक भने होम क्‍वारेन्टाइनमा रहेको उनले बताए। विदेशबाट आउने नागरिकको तथ्यांक भने संकलन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाको पाँच ठाउँमा ४२ बेडको आइसोलेसन वार्ड तयार पारिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.