|

बुटवल : प्रदेश ५ सरकारले कोरोनासम्बन्धी सूचना संकलन र सम्प्रेषणका लागि मोबाइल एप तयार गरेको छ। प्रदेश ५ मा सूचना संकलन र सम्प्रेषण गर्न कोभिड–१९ ट्रयाकिङ तथा सूचना प्रणाली नामक एप निर्माण गरेको हो।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले कोरानासम्बन्धी सम्पूर्ण सूचना एकीकृत गर्ने गरी मोबाइल एप निर्माण गरेको जनाएका छन्। एपमार्फत आफ्नो, परिवार र छरछिमेकका कोरोना भाइरल प्रकोपसम्बन्धी विवरण पठाउन समेत प्रदेश सरकारले अनुरोध पनि गरेको छ। एपलाई मोबाइलमा डाउनलोड गरी साइन अप गरेपछि कोभिड १९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाउन सकिने छ।

विदेशबाट नेपाल आएका मानिस क्वारेनटाइनमा बसे नबसेको विवरण समेत यस एपमार्फत पठाउन सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ। यसबाट स्वास्थ्य विवरण संकलन हुने भएकाले स्वास्थ संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पठाउन सकिनेछ।

कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिको विवरण पठाई उपचार तथा कोराना नियन्त्रण गर्नमा सहयोग पुग्ने भएकाले एप प्रभावकारी हुने विश्वास लिइएको विज्ञप्तिमा जनाइएको छ। एप सोमबारदेखि गुगल प्ले स्टोर र मुख्यमन्त्री कार्यालयको वेवसाइटबाट डाउनलाेड गर्न सकिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.