झन् झन् बढ्दैछ कोरोनाको जोखिम

|
ट्युबबाट महाकाली तर्दै नेपाली । तस्बिर सौजन्य : प्रमोद भट्ट

डडेल्धुरा : कोरोना भाइरस (कोभिड १९) को संन्त्रास बढिरहँदा भारतसँग सीमा जोडिएका विभिन्‍न साना नाकाबाट नेपाल भित्रिनेको संख्या रोकिएको छैन। यसले सुदूरपश्चिममा कोरोनाको जोखिम अझै बढाएको छ। 

दार्चुलादेखि कञ्चनपुरसम्मका विभिन्‍न ठूला नाका बन्द छन्। तर साना नाका र नदीबाट जोखिम मोलेर दिनहुँ नेपाल भित्रिनेको संख्या भने बढ्दै गइरहेको छ।डडेल्धुराका भारतसँग सीमा जोडिएका क्षेत्रहरूबाट रातको समयमा नेपाल भित्रिने बढ्दै गरेको बैतडी पञ्‍चेश्‍वर गाउँपालिकाका स्थानीय नारायणराम सार्कीले बताए। 

तारउतार घाट बन्द रहे पनि नेपाल तथा भारततर्फका विभिन्‍न स्थानमा ट्युब चढेरै रातिको समयमा मानिसहरू ओहोरदोहोर गर्ने गरेका स्थानीयले समेत बताएका छन्। डडेल्धुराको असुरानी र गैरीबगडबाट पछिल्लो समयमा ट्युबको प्रयोग गरी भारतबाट नेपाल भित्रिरहेका स्थानीयले बताउँछन्। 

ट्युबमा तर्दा एक हजार भारतीय रुपैयाँ

यसरी भारततर्फबाट चोरबाटो हुँदै नेपाल छिर्दा ट्युब चढेबापत अर्थात् नेपाल भित्रिएबापत ट्युबबालाले प्रतिव्यक्ति एक हजार भारतीय रुपैयाँ उठाइरहेका छन्। 

भारतसँग सीमा जोडिएको डडेल्धुराको परशुराम नगरपालिकाको कौवानी क्षेत्रदेखि भागेश्‍वर गाउँपालिकाको गैरीबगडसम्म एक दर्जनभन्दा बढी स्थानमा ट्युबबाट मानिसहरू आइरहेका प्रत्यक्षदर्शीले बताएका छन्।  

उता बैतडीको तल्लोस्वराड क्षेत्रमा रहेका शिवनाथ र पञ्‍चेश्‍वर गाउँपालिकाका विभिन्‍न क्षेत्रबाट ट्युबमार्फत नेपाल भित्रिने क्रम पनि बढेको परशुराम नगरपालिका ७ का वडाध्यक्ष केशव बोहराले बताए। 

त्यसरी आउनेमध्ये अहिलेसम्म २८ जनालाई गाउँपालिकाले क्‍वारेन्टाइनमा राखिसकेको छ। अझै केही आउँदै गरेको सूचना प्राप्त भएको वडाध्यक्ष बोहराले जानकारी दिए। 

लकडाउनअघि कोही पनि क्‍वारेन्टाइनमा नराखिए पनि हाल भारतबाट आउनेको संख्या बढेकाले शिवशंकर मावि सादनीमा रहेको क्‍वारेन्टाइनमा उनीहरूलाई राखिएको बोहरा बताउँछन्। 

राति छिर्छन् नेपाली

डडेल्धुरा र बैतडीको सीमाबाट नेपाल भित्रिनेमा डडेल्धुराका बासिन्दा मात्रै नभई कैलालीलगायत कर्णाली प्रदेशका विभिन्‍न जिल्लाबासी छन्। रातिको समयमा सीमा क्षेत्रमा धेरैको संख्यामा मानिसहरू पैदल हिँड्ने गरेको देखिएका सीमा क्षेत्रमा रहेको कैलपाल मावि पनियुटका प्रधानाध्यापक पदमबहादुर जोराले बताए। 

उनले भने, ‘उनले भने, ‘शनिबार मात्रै १८ जनाको टोली विद्यालयमा बसेका रहेछन्, राति आएको बेला थाहा भएन बिहान उठेर हिँड्ने बेला देख्यौं।’ यसले सीमा नाकाका बस्तीमा कोरोना संक्रमणको त्रास बढेको उनले बताए। ‘को कहाँबाट आए र कहाँ गए जानकारी नै छैन,’ उनले भने। 

यसरी अवैध नाका प्रयोग गरी मानिसहरू नेपाल प्रवेश गरेपछि पूरै सुदूरपश्चिम क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ।

रुपालको गैरीबगडबाट पञ्‍चेश्‍वरका ३ जना नेपाल भित्रिएका र कसैको सम्पर्कमा नआई सीधै गाउँ प्रवेश गरेका प्रत्यक्षीदर्शीहरूले बताएका छन्। 

भागेश्‍वर गाउँपालिका १ का वडाध्यक्ष रुपसिंह ठकुराठीले यसरी भागेर तथा लुकेर नेपाल प्रवेश गर्नेलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्ने भनिए पनि भागेर गाउँ गइरहेका बताए। 

डडेल्धुरा जिल्लामा रहेका सिसमजालाघाट र परशुरामघाट स्थानीय तहअन्तर्गत सञ्चालनमा रहेकोमा चैत्र ४ गतेदेखि नै बन्द गरिएका छन्। त्यस्तै बैतडीमा रहेका १० वटा घाटहरू पनि अहिले बन्द गराइएको छ। तर अवैध रुपमा नेपाल छिर्नेको संख्या भने घटेको छैन। जसका कारण त्यस क्षेत्रका स्थानीय कोरोना जोखिम बढ्ने भन्दै चिन्तामा छन्। 

नाकामा थप सुरक्षाकर्मी 

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतवार प्रदेशबासीलाई सम्बोधन गर्दै कोरोनाको सम्भावित जोखिम रोक्न सबै विकल्प प्रयोग गरिने बताएका छन्। 

उनले नेपाल छिरेकालाई २१ दिनसम्म क्‍वारेन्टाइनमा बस्न आग्रह गर्दै नाकामा नियमन कडा बनाउन पनि प्रहरी-प्रशासनलाई निर्देशन दिएका छन्। 

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्‍नाथ पन्तले सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको बताए। आइतबार मात्रै परशुराम नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीको संख्या थप गरी सीमा सुरक्षामा कडाइ गरिएको प्रजिअ पन्तले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.