|

कञ्चनपुर : भारतबाट फर्केका बेदकोटका ४१ वर्षीय युवकको 'स्वाब' परीक्षणमा कोरोना संक्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ। कैलालीका तीन जना र कञ्चनपुरका एक जना गरी सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या चार पुगेपछि जिल्लामा संक्रमण फैलन नदिन सतर्कता अपनाइएको हो।

बेदकोटका ती युवामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेपछि 'क्वारेन्टिन'मा बस्दै आएका उनलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। उनी चैत २ गते रोजगारीका लागि भारत गएका थिए। संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

बेदकोटका युवकसँग आएका सुडाका दुई जना युवक सहित पाँच जनाको 'स्वाब' परिक्षणका लागि पठाईने तयारी भैरहेको बेदकोट नगरपालिकाका नगर प्रमुख असोक कुमार चन्दले बताए। उनका अनुसार अन्य पाँच जनालाई समेत 'क्वारेन्टिन'मा राखिएको छ। नगरपालिकाको 'क्वारेन्टिन'मा १७ जनालाई राखिएको छ। कोरोना भाइरसको परिक्षण नतिजा नेगेटिभ आएकाहरुको पनि पुनः 'स्वाब' चेकजाँच गरिने भएको छ।

नेपालमा एकै पटक भेटिए तीनजना कोरोना संक्रमित

कोरोना संक्रमित युवकसँग को-को आएका थिए त्यस बारे पत्ता लगाउने कार्य भैरहेको उनले बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले संक्रमित युवकसँग आएका सबै जनाको 'स्वाब' चेकजाँच गरिने बताए।

'युवकलाई नियन्त्रणमा लिने सुरक्षाकर्मीको पनि 'स्वाब' परिक्षण गरिनुपर्छ,' उनले भने, ‘त्यो गर्नुपर्छ भनेका छौं।’ 'लकडाउन'मा स्थानीय बासिन्दाको सहयोग रहेको र भीडभाड तथा जमघट हुन नदिनका लागि कडाई गरिने बताए। 'सीमा क्षेत्रमा थप कडाई गर्छौं,' उनले भने, ‘भारततर्फबाट हुने घुसपैठ रोक्नका लागि विशेष सर्तकता अपनाउँछौं।’

जनस्वास्थ्य कार्यालय कञ्चनपुरका स्वास्थ्यकर्मीका अनुसार संक्रमित व्यक्तिसँग घुलमिल भएका, भेटघाट गरेका, बस्नका लागि प्रयोग गरेको होटेल, घर आउन प्रयोग भएको सवारीसाधन र त्यसमा सवार सबैजना पत्ता लगाई निगरानीमा राखिने भएको छ।

स्थानीय तहले भारतबाट आएका धेरै जनाको विवरण संकलन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइसकेका छन्‌। भारतबाट आएका सबै जनालाई 'क्वारेन्टिन'मा बस्नका लागि आह्वान गरिएको छ भने सावुन पानीले हरेक आधा घण्टामा हात धुन र सामाजिक दुरी कायम राख्न समेत स्वास्थ्यकर्मीले सुझाएका छन्‌। सरकारले कञ्चनपुरसहित तीन जिल्लामा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन 'र्‍यापिड टेष्ट' नै गर्न लागेको छ।

शनिबार बसेको मन्त्रीपरिषद्को बैठकले ठुलो संख्यामा कोरोना भाइरसको नमूना परिक्षण गर्ने र शंका लागेकालाई पिसिआर प्रविधिबाट पुनः परिक्षण गर्ने निर्णय गरेको हो।

कञ्चनपुरका स्थानीय बासिन्दाले समेत घरबाट बाहिर निस्कन नदिन प्रयास गरिरहेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.