|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथामका लागि एक भएर लड्नुपर्ने बेलामा अनावश्यक राजनीतिक विवाद झिक्नु घातक भएको जनाएका छन्। 

इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारणा राख्दै पूर्वराजा शाहले यतिखेर सम्पूर्ण विश्व नै कोरोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेको उल्लेख गरेका छन्। 

उनले ट्वीटरमा लेखेका छन्, 'सम्पूर्ण विश्व नै कोरोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेका बेला अनावश्यक राजनैतिक विषयवस्तु उठान गरी एक अर्काको विवादमा अल्मलिनु सर्वथा घातक हुनसक्छ । सम्पूर्ण नेपाली एक भएर पवित्र मनले परिस्थितिसँग जुध्नु आजको अनिवार्य आवश्यकता हो।'

केही दिनअघि नेपाली कांग्रेसका नेता डा. प्रकासशरण महतले वर्तमान सरकार विफल भएकाले मध्यावधी चुनाव गर्नुपर्ने धारणा राखेका थिए। सो लगत्तै डा. महतमाथि चर्को आलोचना भइरहेको छ। सत्तापक्ष र प्रतिपक्षका नेता–कार्यकर्ता महतको सोही विवादास्पद भनाईलाई लिएर वाद–प्रतिवादमा उत्रिएका छन्।

पूर्वराजा शाहले यसअघि निजी अस्पताल एवम्‌ स्वास्थ्य संस्थाहरूले कोरोना आशंका गरिएका बिरामीहरूलाई उपचारका लागि भर्ना नै नलिने हर्कत देखाउन थालेपछि सो कार्यलाई 'कायरता'को संज्ञा दिएका थिए।

कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि खडा गरिएको सरकारी कोषमा पूर्वराजपरिवारले दुई करोड रुपैयाँ सहयोग गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.