|

हेटौंडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल थालेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकमा नयाँ बजेट तयारीबारे प्रारम्भिक छलफल गरिएको हो।

कोराना रोकथाम, नियन्त्रण र उपचारसँगै अब आगामी बजेटको तयारी गर्न मूख्यमन्त्री पौडेलले मन्त्रालयका मन्त्री एवं सचिवहरुलाई निर्देशन दिएका छन्।

छलफल कार्यक्रममा बजेटलाई परम्परागत भन्दा पृथक ढंगले प्रस्तुत गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्‌। जति सङ्कट भएपनि आन्तरिक रुपमा आगामी बजेटका बिषयमा छलफल गर्न केही समस्या नहुने मुख्यमन्त्री पौडेलले बताएका हुन्। 

कृषि क्षेत्रको विकासलाई महत्व दिएर योजना बनाउने र कृषिमा आत्मनिर्भरका योजना अगाडि सार्ने पनि पौडेलले दावी गरे। कृषि र शिक्षा लगायतका क्षेत्रमा प्रवाह हुँदै आएको अनुदान कटौती गरेर बिना ब्याजमा ऋण दिनेगरी नयाँ बजेट ल्याइने उनले जानकारी दिएका छन्‌। यसअघिको भन्दा फरक अनुभुती हुने गरी बजेट ल्याउन छलफल गराउन शुरू गरीएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बताए। 

बजेट छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भूमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतलगायत मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.