|

काठमाडौं : काठमाडौं महानगरपालिकाले तरकारी काठमाडौंका विभिन्न ११ स्थानमा तरकारी बजार सञ्चालनमा गर्ने भएको छ। आगामी बुधबारदेखि तरकारी बजार सञ्चालन गर्ने महानगरले जानकारी दिएको छ।

कालीमाटीसँगै बल्खुको फलफूल तथा तरकारी बजारमा हुने बढ्दो भीडभाडलाई नियन्त्रण गर्न काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विभिन्न ११ स्थानबाट स्थायी रुपमा तरकारी बिक्रि गर्न काठमाडौँ महानगरपालिकाले ठाउँ उपलब्ध गराउने भएको हो।

महानगरपालिकाको महानगर क्षेत्र भित्रका कलंकी चोक, वाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपीकृष्ण हल नजिकको चोक, तिनकुने चोक लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधी भरी बैकल्पिक तरकारी बजार सञ्चालन गर्न ठाउँ उपलब्ध गराउने भएको हो। 

महानगरपालिकाका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा महानगरपालिकाले परिक्षणका लागि ११ ठाउँबाट थोक बिक्रिका लागि स्थान उपलब्ध गराउने तयारी भएको छ। 

‘कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भिडभाड नियन्त्रण-व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराउने भएका हौँ,’ भण्डारीले भने, ‘सबै ठाउँमा सबै खाले फलफूल र तकारी उपलब्ध गराउने व्यवस्थापन गर्न पनि हामीले भनेका छौँ।’ उनले यसले कालीमाटी र बल्खुमा हुने भिडभाड कम हुने दावी गरे।

सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले फलफूल तथा तरकारी बजारमा कोरोना भाइरस को रोकथाम तथा नियन्त्रण गर्न कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण–व्यवस्थापन गर्न सामाजिक दूरी कायम गर्ने निर्णय गरेको थियो।

त्यसैगरी, बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल नेपाल भित्रिँदा उक्त तरकारी तथा फलफूलसँगै भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै भन्सार विन्दुमै आयातमा पूर्ण रुपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने भएको छ। साथै व्यवसायीहरुलाई पनि फलफूल तथा तरकारी भारतबाट आयात गर्न नपठाउने पनि निर्णय गरेको छ। 

फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थपरक बनाउने, त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्ने पनि निर्णय भएको छ।  

कालीमाटी तरकारी बजार तथा बल्खु आउने तरकारीलाई काठमाडौँ महानगरपालिकाले तोकेका विभिन्न स्थानबाट बिक्री गर्न व्यवसायीहरुले व्यवस्था मिलाउने र बिक्रिका हुने वातावरण निर्माण गर्ने पनि निर्णय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.