'सर्वशक्तिमान' अमेरिकाको पनि केही लागेन

|
उदास मुद्रामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर : एजेन्सी

काठमाडौं : महामारीको रुप लिएको कोरोना (कोभिड-१९) संक्रमणका कारण अहिलेसम्म विश्‍वभर ७०,५७० जनाले ज्यान गुमाएका छन्। 

विकसित र राम्रो स्वास्थ्य सुविधा भएको दाबी गर्ने देशहरु नै कोरोनाको भयावह चपेटामा परेका छन्। इरानलाई छाडेर नौ यस्ता हरेक मुलुकमा एक हजारभन्दा बढी नागरिकले ज्यान गुमाउनुपरेको छ, जुन देशलाई विश्‍वमै विकासको मानक मानिन्छ। 

यो सामग्री तयार पार्दासम्म हाल विश्‍वकै विकसित र सर्वशक्तिमान मानिने अमेरिकामा ९,२२४ जनाको ज्यान गइसकेको छ। ८,७०२ जना मानिस गम्भीर अवस्थामा संक्रमणसँग जुधिरहेका छन्। ३,३६,९०७ जना मानिस संक्रमित भएका छन्। संक्रमितको संख्याका हिसाबले अमेरिका सबैभन्दा माथिल्लो स्थानमा छ। 

विश्‍वको दोस्रो ठूलो अर्थतन्त्र रहेको र विकासको तीव्र रफ्तारमा कुदिरहेको चीनमा ३,३३१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। कोरोना भाइरस पहिलोपटक डिसेम्बर ३० तारिखमा चीनको वुहान शहरमै भेटिएको थियो। युद्धस्तरमा संक्रमण रोकथाम गरेकाले चीन यतिखेर अन्य मुलुकभन्दा सुरक्षित देखिएको छ। तर त्यहाँ पनि ८१,७०८ जना संक्रमित भेटिएका छन्।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी मानवीय क्षति ब्यहोरिरहेका १० देश :
देश हालसम्म ज्यान गुमाउनेको संख्या गम्भीर संक्रमितहरूको संख्या अहिलेसम्म भेटिएका संक्रमितको संख्या
इटली १५,८८७ ३,९७७ १,२८,९४८
स्पेन १३,०५५ ६,९३१ १,३५,०३२
अमेरिका ९,२२४ ८,७०२ ३,३६,९०७
फ्रान्स ८,०७८ ६,८३८ ९२,८३९
बेलायत ४,९३४ १५५९, ४७,८०६
इरान ३,७३९ ४,०८३ ६०,५००
चीन ३,३३१ २६५ ८१,७०८
नेदरल्याण्ड १,८६७ १,३८५ १८,८०३
बेल्जियम १,६३२ १,२५७ २०,८१४
जर्मनी १,५९१ ३,९३६ १,००,२३२

इटलीमा त कोरोनाका कारण भइरहेको मानवीय हताहतीले सबैभन्दा कारुणिक अवस्था निम्त्याएको छ। त्यहाँ अहिलेसम्म कोरोना प्रभावित मुलुकहरुमध्ये सबैभन्दा धेरै अर्थात १५,८८७ जनाको ज्यान गएको छ। ३,९७७ संक्रमितको अवस्था गम्भीर छ भने १,२८,९४८ जना संक्रमित फेला परेका छन्। 

इटलीपछि स्पेनमा कोरोना संक्रमणका कारण धेरैले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म १३,०५५ जना संक्रमितको मृत्यु भएको छ। ६,९३१ जना संक्रमितको अवस्था गम्भीर छ। 

हालसम्म जर्मनीमा १,५९१ जना संक्रमितको ज्यान गएको छ भने फ्रान्समा ८,०७८ जना संक्रमितले ज्यान गुमाएका छन्। बेलायतमा ४,९३४ जना, इरानमा ३,७३९ जना, नेदरल्याण्डमा १,८६७ जना र बेल्जियममा १,६३२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। 

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै मानवीय क्षति व्यहोर्ने मुलुकहरु क्रमश : इटली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत, इरान, चीन, नेदरल्याण्ड, बेल्जियम र जर्मनी रहेका छन्।

ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएका देशमा संक्रमण रोक्न हेल्चक्य्राइँ गर्ने, नागरिकलाई समयमै भाइरसको जोखिमबारे जानकारी नदिने, लकडाउन घोषणा नगर्ने र नागरिक तहमै समस्या देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.