|
फाइल फोटो

गोरखा : विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम गर्न 'लकडाउन' कार्यान्वयनमा आएपछि उत्तरी गोरखाका सयौँ संख्यामा रहेका खच्चडलाई खुवाउने दाना सकिएको छ। दाना सकिएपछि व्यवसायीहरुले चामल खुवाउन थालेका हुन्।

‘पहिले किनेर राखेको दाना सकियो,’ व्यवसायी गर्भू गुरुङले भने, ‘खच्चडलाई भोकै राख्न भएर अरु दिने केही छैन, पसलबाट चामल किनेर ल्यायो त्यही दियो, पसलमा पनि कति दिनसम्म पाउने हो त्यो पत्तो छैन।’

उत्तरी गोरखामा तीन हजार हाराहारी खच्चड रहेको व्यवसायीहरु बताउँछन्। गोरखाको चुमनुब्री गाउँपालिकामा अझै पनि खच्चडबाटै खाद्यान्नलगायत सामाग्री ढुवानी गर्नुपर्ने बाध्यता छ। यस गाउँपालिकामा नेपाली सेनाले निर्माण गरिरहेको सडक मार्गले केही महिनाअघि मात्रै छोएको छ। सडक मार्गले छोएपनि सवारी आवागमन भने हुन सक्दैन।  

गोरखाकै आरुघाट गाउँपालिकाको सोती, धार्चेको माछाखोलाबाट खच्चढले खाद्यान्न, निर्माण सामग्री ढुवानी गरेर चुमनुब्री लगिन्छ। धार्चे गाउँपालिकाको केन्द्र माछाखोला नजिकै अहिले एक हजारभन्दा बढि खच्चढ एकै ठाउँमा छन्। ब्यवशायीले खच्चढलाई सोना मन्सुली चामल खुवाएका छन्। प्रतिबोरा एक हजार तीन सय ५० पर्ने चामल ५० देखि सय रुपैयाँ महँगो भएको छ । 

व्यवसायीहरुले गाउँपालिकाका अध्यक्षलाई पटक पटक खच्चडलाई दिने दाना मगाइदिन आग्रह पनि गरिसकेका छन्। ‘सबै तिर ठप्प छ व्यवसायीहरुले दाना चाहियो भनेको भन्यै छ,’ धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘कति दाना चाहिने हो त्यो बुझेर दाना ल्याउने बन्दोबस्त मिलाउन प्रयास गरिरहेको छु।’
उत्तरी गोरखामा एउटा खच्चडको मूल्य एक लाख रुपैयाँसम्म पर्छ।

‘खच्चडलाई मर्न दिन भएन। हामीले त डिपोको चामल खरिद गरेर खच्चडलाई दिएका छौँ,’ एक व्यवसायीले भने, ‘माछाखोलामा मात्रै अहिले १२ सय जति खच्चड छन्, यी सबैलाई  खाद्य संस्थानको माछाखोला डिपोबाट आफूले खाने भन्दै चामल किनेर खच्चडलाई दिएका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.