|

सिमरा (बारा) : लामो समयदेखिको लकडाउनले बाराका माछा किसानहरु मर्कामा परेका छन्। लकडाउनका कारण माछाको स्थानीय र बाह्य बजार बन्द भएपछि बेच्ने बेला भएमा माछा पनि पोखरीमै पाल्नुपरेपछि किसानहरु मर्कामा परेका हुन्।

कलैया उपमहानगर, कोहल्वी, सिम्रौनगढ नगरपालिकालगायतका क्षेत्रमा मात्रै करिब पाँच हजार परिवार माछापालन व्यवसायमा आवद्ध छन्। यस्तै, उक्त व्यवसायमा करिब १० हजार मजदुर र व्यवसायी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका छन्। 

‘माछा बेचेर तरकारी चामल किनेर खाने परिवार हामी कहाँ धेरै छन्। ती परिवार अहिले सबैभन्दा ठूलो समस्यामा छन्,’ जिउँदो माछा व्यवसायी संघको केन्द्रीय अध्यक्ष जंगबहादुर साहले भने, ‘पहिले बारा जिल्लावाट मात्रै दैनिक जिउँदो माछा २५ देखि ३० क्विन्टल र छरी माछा (सिग्गंल फ्राई माछा) ३५ देखि ४० क्विन्टल अन्य जिल्लामा निर्यात हुने गरेकोमा लकडाउनले छरी माछाको व्यवसाय पूरै बन्द छ भने  जिउँदो माछा पनि ८ देखि १० क्विन्टल मात्रै  काठमाडौं र पोखरा छिटफुट रुपमा जाने गरेको छ।’ 

लकडाउनले माछाको बजार ८० प्रतिशत घटेको माछापालक किसानहरुले बताए। कोहल्वीका माछापालक किसान मधुसुधन अधिकारीले  लकडाउनले उत्पादन भएका माछा बजार पुर्याउन सक्ने अवस्था  नभएको र बजारबाट माछाको भुरा र दाना ल्याउन अवस्था नहुँदा समस्या भएको बताए। अधिकारीले भने, ‘यो सिजन भनेको  माछाको प्रजनन् गर्ने र भुरा उत्पादन गर्ने हो। अहिले लकडाउनले भुरा र दाना दुवैको अभाव छ।’

बारामा उत्पादन भएका माछा देशभरका ठुला शहरहरु काठमाडौ, पोखरालगायत निर्यात हुने गर्दछ। बारामा ६ हजार ७६८ वटा माछा पोखरी छन्। लकडाउनका कारण दुई सातादेखि माछा व्यवसाय पुरै बन्द छ भने माछाका लागि आवश्यक दानाको पनि अभाव देखिएको छ। 

‘अहिले सबभन्दा ठूलो समस्या माछाका भुरा र दानाको  समस्या छ। भुरा र दाना किन्न किसान एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था छैन्,’ किसान अधिकारीले भने, ‘कृषकको पोखरीमा माछा छ तर घरमा खाने अन्न छैन।’ बारामा विशेषगरी रोहु, नैनी, ग्रास कपन, बि ग्रेड जातका माछाहरु उत्पादन हुने गर्दछ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले माछा कृषकहरुका लागि दाना र भुरा ल्याउन प्रशासनले अवरोध नगरेको बताए। ‘हामीले सोसल डिस्टेन्स कायम गरेर आफ्नो व्यवसाय गर्नोस् भनेका छौं,’ उनले भने, ‘भिडभाड नहुने गरी आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.