वडा भन्छ : बाँडिसक्यौँ, अब घरघरमा लैजान्छौं

|

काठमाडौं : जोरपाटीका फरक क्षमता भएका भीमबहादुर भुजेल बुधबार गोकर्णेश्‍र नगरपालिका-६ ले राहत बाँड्ने जानकारी पाएपछि खुशीले गदगद थिए। राहत पाएमा दुइ-चार दिन खान पुग्छ भन्‍ने सोच्दै चर्को घाममा जोरपाटीस्थित अरब बैंक अगाडिको वडा कार्यालयमा ह्‍विलचियरमा राहत लिन पुगे। 

वडा कार्यालय अगाडि राहत लिनेको सूची टाँसेको उनले देखे। भीडभाडमा विस्तारै जोगिँदै गएर सूची हेरे। सूचीमा तीन सय १५ जनाको नाम देखे। तर आफ्नो नाम शिर पुच्छर कतै छैन। त्यही सूची दोहोर्‍याएर हेर्दा पनि उनले आफ्नो नाम भेटाउन सकेनन्। 

राहत लिनेको सूची हेर्दा हेर्दै उनका आँखा टट्टाए। तर आफ्नो नाम फेला पार्न सकेनन्। त्यसपछि उनी निराश भएर ह‍्‍विलचियर घिसार्दै सडकमा आएर टोलाइरहे।

बुधबार थाहाकर्मी पुग्दा पनि अन्य दिनभन्दा त्यहाँ भीडभाड थियो। कोही सपाङ्ग व्यक्ति सडकमा बसिरहेका थिए त कोही राहतको टोकन लिन लाइनमा थिए। लाइन मिलाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे थियो। भीमबहादुर जस्तै फरक क्षमता भएका, दृष्टिविहीन गरी करिब ९ जना भन्दा बढी सडकमा कुरा गर्दै बसिरहेका थिए। उनीहरु राहत लिन आएका थिए। तर,कसैको नाम राहत लिनेको सूचीमा थिएन।

'आज वडाले राहत दिने भनेपछि आएको थिएँ। तर सपांगहरुको मात्रै नाम रहेछ। तर, अपांगजतिको नाम नै छैन', उनले निराश हुँदै भने, 'हामीलाई वडाले हेला गर्‍यो। राहत पाए छाक टार्न सजिलो हुने थियो।’ 

उनका अनुसार १५ दिनअगाडि नै नगरपालिकाका मान्छेले नाम टिपाएका थिए। तर राहत बाँड्ने बेला उनको नाम नै गायब बनाएछन्। उनले राहत वितरणमा पक्षपात भएको सुनाए। 

‘पहिले वडाले राहत बाँड्दा पनि हामी जस्तालाई आएको राहत छैन भनेर गाली गरेको थियो,’निन्याउरो अनुहार पार्दै उनले सुनाए,‘अरुलाई त केही नभनी मज्जाले राहत दिइरहेको छ। हामी पनि यही देशकै नागरिक हौँ। किन हामीलाई राहत दिँदैनन्? हामीले किन अपहेलित भैरहने?। हामी पनि त मान्छे हौँ। यहाँ त पशु सरह व्यवहार भैरहेको छ।’ 

अर्का फरक क्षमता भएका कृष्ण भुजेलले जोरपाटीमा घरहुनेहरुलाई वडाले राहत दिएपनि फरक क्षमता भएकाहरुलाई नदिएको दुखेसो पोखे। ‘राहत दिने भनेर बल्तल्ल हुविलचियरमा आएको थिए,’उनले भने,‘सपाङ्ग र धनीमानीलाई मात्रै राहत दिदो रहेछ। हामीलाई एक दाना चामल पाउन पनि सकेनौँ।’ 

सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन लगाएपछि गुजारा चलाउन गाह्रो हुँदै गएको उनले बताए।  फरक क्षमता भएकाको नाम नभएकोबारेमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले तीनदिनपछि घरघर बाँड्ने बताए। 

‘फरक क्षमता भएकाको नाम अहिले सूचीमा छैन,’उनले भने,‘अहिले यहाँको सूचीमा नाम हुनेलाई मात्रै राहत कुपन दिन्छौँ। तीन दिनपछि उनीहरुको घरमै गएर राहत वितरण गर्ने व्यवस्था गरेका छौँ।’ 

उनीहरुलाई तीन पटक राहत वितरण गरिसकेको दाबी उनले गरे। अपाङ्गता भएका र दृष्टिविहीनलाई राहत वितरणमा पहिलो प्राथमिकतामा राख्दै आएको पनि उनले जिकिर गरे।

‘विपन्‍न वर्गलाई मात्रै हामीले राहत दिँदै आएका छौँ,’उनले भने,‘वडाभित्र दाताले सहयोग गरेका बेला पनि फरक क्षमता भएकालाई दिँदै आएका छौँ।’ 

उनका अनुसार कोरोना भाइरस संक्रमणबाट बच्‍न भीडभाड कम गर्न वडाले विपुल चोक, बौद्ध पिपल बोट, नारायाणटार लगायत आठ ठाउँका पसलबाट राहत पाउने व्यवस्था गरेको छ। 

पहिला वडामा टोकन लिएर ती ठाउँबाट एकजनालाई पाँच केजी चामल, एक केजी चिनी, एक केजी दाल, एक प्याकेट चिनी, एक प्याकेट नुन, एक केजी चिउरा, एउटा मसला र  एउटा साबुन  दिइनेछ। 

अध्यक्ष अर्यालले तीनदिनपछि घरघरमा राहत दिने जानकारी गराएपछि फरक क्षमता भएकाहरुले भने पत्रकारहरुसँग जोगिन आलटाल गरेको जिकिर गरे। अपाङ्गता भएकालाई राहत दिने योजना वडाले नबनाएको भन्दै उनीहरु निराश भएर आफ्नो डेरा फर्किए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.