|

पाल्पा : जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित तालपोखराका दोलखबहादुर थापा भारतको हरियाणास्थित हिसारमा जागिर गर्थे। कोरोनाको महामारी फैलिन थालेपछि उनी जागिर त्यागेर नेपाल फर्के। उनी केही साथीसँगै त्यहाँबाट नेपाल आए। 

आउने क्रममा बाटोमा अर्थात् भारतको एक ठाउँमा रगत र ज्वरो परीक्षण गराएका थिए उनले। त्यसको रिपोर्ट राम्रै देखिएपछि त्यहाँबाट हिँड्ने अनुमति पाए उनले। 
 तर नेपाल भारतको सीमानामा प्रवेश गर्न निकै कठिन थियो। जेनतेन रूट नै परिवर्तन गरेर उनी महाकालीको नदीको बाटो हिँडेर पार गरे। र कञ्चनपुरको बनाबासा नाकाबाट नेपाल प्रवेश गरे।  नेपालमा पनि उनले रगत र ज्वरो परीक्षण गराए। 

गाडी नचल्ने भएपछि बुटवल नपुगी उनी सालझण्डीमै उत्रिए। त्यसपछि पाल्पातिर जंगलको बाटो हिँडे। पाल्पाको सत्यवती आइपुुग्दा रात प¥यो। बाटोसमेत राम्रोसँग नचिनेका उनीसहित अरू दुइजना त्यहीँ जंगलमा रहेको ठूलो रुखको फेदमा सुते। अर्कोदिन झिसमिसेमा हिँडेका उनीहरू अर्घाखाँचीको सल्लेधारामा पुगेर आफन्तको घरमा खाना खाए। दुइरात हिँडेर बल्लतल्ल उनी घर आइपुगे। 

यसरी कष्ट गरी आएका उनी परिवारसँगै बस्न पाएका छैनन्। उनी चैत १२ गते बेलुकी घर आइपुगेका थिए। उनी अहिलेसम्म छुट्टै गोठमा बस्छन्। १४ दिन पुगिसक्यो। उनले शौचालयसमेत अलग प्रयोग गरेका छन्। अझै एक हप्ता उनी त्यहीँ बस्नेछन्। ‘बाटोमा आउँदा कोरोना संक्रमित पनि भेटिएका हुन सक्छन्। त्यसैले क्‍वारेन्टाइन बस्ने नियम मलाई ठिकै लाग्यो,’ उनले भने, ‘अहिलेसम्म मेरो अवस्था सामान्य छ, अबको सात दिन यहीँ बस्छु। क्‍वारेन्टाइनमा अवस्था सामान्य देखिएपछि परिवारसँग बस्न पाउने छु। जसले गर्दा मलाई पनि ढुक्क। परिवारलाई पनि ढुक्क हुनेछ।’ उनका बुबा ढालबहादुर थापाले छोरो घरमा आएपछि गोठमा रहेको कोठामा क्‍वारेन्टाइन बनाइदिएका छन् उसले खाने थाल, प्रयोग गर्ने शौचालय नै  अलग छ,’ दोलखका बुवा ढालबहादुरले भन्छन्, ‘एउटाले गर्दा  सिंगो समुदाय नै जोखिमा किन पार्ने ?’

दोलखसँग सँगै आएका सुवर्णखालका प्रेमबहादुर थापा पनि होम क्‍वारेन्टाइनमै छन्। काकाको घरमा बस्दै आएका उनी गोठको माथिल्लो तलमा रहेको कोठामा बस्छन्। उनले पनि खाने थाल, कचौरा, अंखोरा, सुत्ने विस्तरा छट्टै छ। १२ दिन गोठमा बसेका उनी अझै एकहप्ता त्यही बस्नुपर्दा दुखी छैनन्। सरकारले अपनाएका उपायलाई अवलम्वन गरे आफू र परिवारसमेत सुरक्षित हुने उनको बुझाइ छ। 

‘कोरोनाको लक्षण देखिए पनि तत्काल उपचार पाउन सकिन्छ’, उनले भने, ‘क्‍वारेन्टाइनमा बसेर आफूलाई सुरक्षित राख्न सके कोही अकालमा मर्नुपर्दैन।’ उनी थप्छन्, ‘इमानदार भएर होम क्‍वारेन्टाइनमै बस्ने हो भने सरकारले बनाएका क्‍वारेन्टाइन आवश्यक नै पर्दैन। 

उनीसँगै आएका तालपोखराका राजन घिमिरेको पनि बुझाइ उस्तै छ। ‘सायद जबरजस्ती परिवासँग घुलमिल भएको भए कोरोनाको चिन्ताले पिरोल्ने थियो’, उनले भने ‘दूरी कायम गरेर परिवारसँग पनि दुखसुखका कुरा भइरहेका छन्। सबैजना एक आपसमा सुरक्षित पनि छौं। कसैले कसैप्रति शंका र चिन्ता मान्नुपर्ने अवस्था छैन।’ होम क्‍वारेन्टाइनमा बस्दा खाना बस्नसमेत समस्या नपर्ने उनले बताए। 

क्‍वारेन्टाइनमा बस्नेलाई गाउँलेको साथ  

यसरी इमानदार भएर क्‍वारेन्टाइनमा बसेका युवालाई गाउँलेको समेत सहानुभूति मिलेको छ। ‘क्‍वारेण्टाइनमा बस्नु भनेको कोरोना संक्रमित भएको भन्ने होइन्’, एक स्थानीयले भने, ‘छिमेकमा बस्दै आएका मानिससँग पनि त्यसको लक्षण हुन सक्छ। कम्तीमा त्यसबाट पनि त सुरक्षित हुने मौका मिल्छ नि।’ भुवपोखरीमा २ सय ८० जना युवा बाहिरी मुलुकबाट आएका छन्।  

चार जनाबाहेक सबै होम क्‍वारेन्टाइनमा बस्दै आएका छन्।  क्‍वारेन्टाइनमा बसेकालाई वडाले उच्च निगरानी गरिरहेको अध्यक्ष लालबहादुर दर्लामीले बताए।उनीहरूको अवस्थाबारे बेलाबेलामा बुझिरहेको उनले बताए। नयाँ मान्छे आएमा सोधखोज गर्ने काम भइरहेको उनले बताए। ठूलो संख्यामा आएकाहरूलाई भने व्यवस्थापन गर्नको केही चुनौती रहेको वडाध्यक्ष दर्लामीले बताए। 

होम क्‍वारेन्टाइनमा बसेकाको नियमित स्वास्थ्य जाँच 

क्‍वारेन्टाइनमा बसेकाहरूको आवश्यकता अनुसार घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भइरहेको भुवनपोखरी स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद न्यौपानेले बताए। उनका अनुसार हप्तामा दुइपटक उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.