अनिष्ट हुँदैन : संस्कृतिविद्

|
फाइल फोटो

भक्तपुर : साधारण अवस्था हुँदो हो त, आज भक्तपुरको टौमढीस्थित भैरवनाथ मन्दिर परिसरको रौनक बेग्लै हुन्थ्यो। 

पाँचतल्ले मन्दिर अघि भैरवनाथको तीन तल्ले काठैकाठले निर्मित प्यागोडाशैलीको रथ तयार भएको हुन्थ्यो। नवदुर्गा देवी गणनाचलगायतका मुखुण्डो नाचको एक मात्र मुखुण्डो निर्माता पुर्ण चित्रकार विहानैदेखी भैरवनाथको रथका चारवटै पाङ्ग्रामा चित्र कोर्न व्यस्त हुन्थे।

यता भैरवनाथका पुजारी भैल नाईकेहरु परम्परागत तान्त्रिक पुजाआजामा व्यस्त हुन्थे भने गुठी संस्थान भक्तपुर जात्रालाई समयमा शुरु गर्ने चटारोमा हुन्थे।  प्रहरी प्रशासनलाई जात्रा शान्तिपुर्णरुपमा सम्पन्न गर्ने रणनीतिलाई सफल बनाउने तयारीमा हुन्थे। बिहानैदेखी भैरवनाथको दर्शन गर्ने सर्वसाधरणहरुको भीड हुन्थ्यो।

तर विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिङ–१९) रोगको संक्रमण फैलन सक्ने जोखिमले सरकारले लकडाउन गरेको कारण यसवर्ष टौमढीमा बिस्का जात्राको कुनै रौनक छैन्। लकडाउनका कारण घरभित्रै थुनिनुपरेपछि  भैरवनाथ मन्दिर र पाँचतल्ले मन्दिर परिसर सुनसान छ। भैरवनाथको रथ समेत निर्माण हुन सकेको छैन। पाँचतले मन्दिर परिसरमा निर्माण भइरहेको भैरवनाथको रथ लकडाउनसँगै अलपत्र अवस्थामा छ। 

यद्यपी गुठी संस्थानको सहयोगमा हुने परम्परागत पुजा नियमित हुने भैरव नाइकेहरुले बताएका छन। आज (बिहिवार)बाट शुरु हुने भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा औपचारिक पुजामा सिमित हुने भएको छ। टौमढीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै शुरुवात गरी ९ दिन ८ रातसम्म धुमधामका साथ मनाइने बिस्का जात्रा कोरोनाका कारण यसवर्ष औपचारिक पूजामा सिमित हुने भएको हो।
भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षण जात्राको शुरु र अन्तिम दिन भैरवनाथको रथ तानातान गर्ने, चैत्र मसान्तको साँझ भेलुखेलस्थित ल्यसीँख्यमा लिङ्गो उठाउने, बैशाख १ गते साँझ लिङ्गो ढाल्ने चित्ताकर्षक र रोमाञ्चक दृष्य हो। तर यो पटक रथ तानेको, लिंगो उभ्याएको, लिंगो ढालेको हेर्न नपाउने भएको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधवार बसेको सरोकारवालाहरुको बैठकले यसवर्षको जात्रालाई औपचारिक पूजामा सिमित गर्ने निर्णय गरेको हो। 

बिस्का जात्रासँग सरोकार राख्ने जिम्मेवार पदाधिकारीहरुको बैठकले भैरवनाथ जात्रा, लिङ्गो उभ्याउने, टोल टोलमा हुने ब्रम्हायणी, महेश्वरी, ईन्द्रायणी, छुमा गणेश, बाराही जात्रालगायतका सम्पूर्ण जात्राहरु देवतालाई बाहिर ननिकाली देवता घर (द्योछें) मै सामान्य पुजाआजामा मात्रै सीमित राख्ने निर्णय गरेको नगरप्रमुख प्रजापतिले जानकारी दिए।

बैठकमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, ४ का वडाध्यक्ष कुमार चवाल, ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद बस्याल, गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धित भैरवनाथ जात्रा सहयोग समिति, ब्रम्हायणी जात्रा, बाराही जात्रा, छुमा गणेश जात्रा, महाकाली जात्रा, याछें गणेश जात्रा, (लालाछे) गणेश जात्रा, इन्द्रायणी भजन, जेठा गणेश गुठीलगायतका गुठी नाइके तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

अनिष्ट हुँदैन : संस्कृतिविद्

भक्तपुरको बिस्का जात्रासँगै अनेकौं कथा, किंवदन्ती र किस्साहरु जोडिएको छ। जात्रा पर्व मनाए, यस्तो हुनेदेखि लिएर जात्रा हेरेमात्र पनि यस्तो हुन्छ भन्ने कथाहरु जोडिएका छन्। 

यो जात्रा हेर्नाले समेत आफ्नो मनोकांक्षा पुरा हुने, शत्रु नाश हुने विश्वास छ। यस्तो किंवदन्तीहरु र विभिन्न साँस्कृतिक, धार्मिक विषयहरु जोडिएको पर्वको मुख्य आर्कषण नहुने भएपछि धेरैमा लिंगो नउभ्याए, रथ नताने के हुन्छ भन्ने जिज्ञासा रहेको छ। तर संस्कृतिविज्ञहरुले भने अहिलेको अवस्थामा जात्रालाई औपचारिक पुजामा सिमित गर्दा कुनै अनिष्ट नहुने बरु आम मानिसको हितमा हुने बताएका छन। बिस्का जात्राको मुलमन्त्र देशबासीलाई महामारीबाट जोगाउने, विपदबाट जोगाउने र देशबासीको रक्षा गर्ने रहेको भन्दै इतिहासविद् एवं अनुसन्धानकर्ता प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भैरबनाथको रथ नतान्दा, लिङ्गो नउभ्याउँदा, नढाल्दा, टोलटोलको जात्रा नमनाउँदा नै सबैको कल्याण हुने बताए।

उनले भने, ‘बिस्का जात्राको मूल अभिप्राय देशमा सुख, शान्ति समृद्धि कायम होस, शत्रु नाश होस, सबैको स्वास्थय राम्रो होस, महामारीबाट देशलाई नगालून् भनेर मनाइने जात्रा हो। किनभने यो जात्राको मुख्य देवताको नाम नै विश्वनाथ भैरब छ। सारा विश्वकै नाथ। उनले सारा मानवजातिको, सारा विश्वकै हित चाहन्छ।’ 

उनले जात्राको अन्य तान्त्रिक विधिविधान अनुसार पुजा नियमित हुने भएकाले रथ नतान्दा र लिङ्गो नउठाउँदैमा कुने अनिष्ट नहुने बताए। उनले भने, ‘मूल विधिविधान भनेको तान्त्रिक पूजाहरु नै हुन। ती पूजाहरु त भैल नाइकेहरु, तलेजुको ब्राम्हण, जोशी, कर्माचार्यहरुले सामजिक दूरीलाई कायम गरी सम्पन्न गर्नेछन।’

इतिहासमा पहिलो पटक रोकियो रथ यात्रा

लिच्छवीकालदेखी शुरु भएको विश्वास गरिएको भक्तपुरको जात्रा पहिलो पटक रथ जात्रा रोकिन पुगेको संस्कृतीविद् एवम् इतिहासविद् प्रा. डा. श्रेष्ठले बताए। उनका अनुसार भैरवनाथको जात्राका क्रममा रथ बिग्रिएर रथ यात्रा रोकिएको तर पुनः त्यसलाई ममर्त गरेर जात्रा सञ्चालन गरिएको पाइए पनि यसरी रथ नै निर्माण हुन नसक्नु, रथ तानातान नहुनु, लिङ्गो उठाउने र ढाल्ने, टोलटोलमा खट जात्रा नभएको यो पहिलो अवसर हो। 

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाईएको प्रा. डा. श्रेष्ठले बताए। 

भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनि उल्लेख गरिएको छ। त्यसैगरी भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ। तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पुजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ। पछिल्लो कालखण्डमा नेवारी नामाकरण अनुसार विसिक, बिस्क, बिस्का हुन पुगेको र त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको प्रा. डा. श्रेष्ठले बताए। नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ। ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.