|

जाजरकोट : भेरी नगरपालिका-१ कालेगाउँका कृषकहरु डोकाभरी तरकारी बोकेर तीन दिनको फरकमा सदरमुकाम पुग्ने गरेका छन्।

यातायातका साधन सञ्चालन नभएका कारण यहाँका कृषकहरु थोप्लोमा नाम्लोको सहारामा पिठ्यूँमा आफ्नो तौलभन्दा बढी ओजनको हरिया तरकारीका भारी बोकेर हिँड्दै घण्टौं लगाएर सदरमुकाम धाइरहेका हुन्‌।

सदरमुकाममा विहानै आएर ९ बजेभित्र फर्कि सक्नुपर्ने कालेगाउँका कृषकको बाध्यता छ। ९ बजेपछि स्थानीय प्रशासनले आवतजावतमा गर्न निकै कडाई गर्ने भएकाले उनीहरु सो समयभित्र तरकारी बिक्री गरेर फर्किसक्नु पर्छ।

कोरोना भाइरसको संक्रमण फैलनुअघि गाडीमा राखेर सदरमुकाम तथा देशका अन्य ठाउँमा तरकारी ढुवानी गर्दै आएकोमा जिल्ला बाहिर हुने ढुवानी यतिखेर ठप्प छ।

आफ्नै गाडी नभएका कृषकहरुले सर्वजानिक यातायातका साधनमा लादेर देशका विभिन्न स्थानमा तरकारी पुर्‍याउँदै आएकोमा लकडाउन घोषणा भएपछि समस्या परेको कृषक दलबहादुर खत्रीले बताए। बारीमा उत्पादित तरकारी बजारमा पुर्‍याउन नसक्दा आर्थिक नोक्सानी भइरहेको उनको भनाई छ। 

मेटलाका कृषकहरूले पनि उत्पादित तरकारी बजारसम्म पुर्‍याउन सकेका छैनन्‌। आफैंले बोकेर बजारसम्म तरकारी लैजान नसक्दा आफूहरू मर्कामा परेको कृषक कृष्ण थापाले बताए।

बारीमा यतिखेर पर्याप्त मात्रामा हरिया तरकारी फलेपनि बजारसम्म लैजान नपाउँदा किसानहरू पिरलोमा परेका हुन्‌। भारी खेपेर सदरमुकामसम्म पुर्‍याई तरकारी बेच्दा खासै फाइदा नहुने उनीहरू बताउँछन्‌। 

सदरमुकामसम्म तरकारी बोकेर लगेपनि त्यहाँका पसलहरू बन्द भएकाले बिक्रीमा किसानहरूले समस्या भोगिरहेका छन्‌। बजारमा पुर्‍याएको तरकारी खेर फाल्न नसकिने भएपछि बिक्रीका लागि घरघरै पुग्नुपर्ने बाध्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.