|

तनहुँ : बन्दिपुरमा भ्रमण, अध्ययन तथा तालिमका लागि विभिन्न देशबाट आएका विदेशी घर फर्किन मानेका छैनन्। बन्दिपुर गाउँपालिका कार्यालयको सहयोगमा बन्दिपुर क्षेत्रका होटलमा रहेका विदेशीको तथ्यांक संकलन गरी आ–आफ्नै देशमा पठाउने व्यवस्था गरेको छ। तर असुरक्षाका कारण देखाउँदै उनीहरु घर फर्किन नमानेका हुन्।

होटलमा बस्दै आएका विदेशीको पहिचान गरी आ आफ्नै देशमा पठाउने उद्देश्यले तथ्याङ्क संकलन गरिए पनि उनीहरु घर फर्किन अस्वीकार गरेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए।

 ‘फर्किनका लागि दूतावाससम्म गाउँपालिकाले व्यवस्था गरिदिने भने पनि  मान्दैनन्, घुम्न तथा तालिम र अध्ययनका लागि आफैं बोलाउने यस्तो संकटको समयमा तिम्रै देश फर्केर जाऊ भन्ने ? हामी यही सुरक्षित छौं, महामारी सकिएपछि फर्किन्छौं भन्ने गर्छन्,’ अध्यक्ष थापाले भने।  

उनका अनुसार जिल्लामा फ्रान्सका पाँच, कोरियाका तीन, रुसका दुई, चीनका एक, कोलम्बियाका दुई, क्यानडा एक गरी १४ जना रहेका छन्। उनीहरुमध्ये क्यानडाका एक नागरिक भने घर फर्किन चाहेका थिए। ‘गाउँपालिकाले काठमाडौंसम्म पुर्‍यादिने व्यवस्था गरे पनि उनीहरू यहीँ सुरक्षित भनेर जान  चाहेका छैनन्।

सरकारले लक डाउनका कारण उनीहरु बन्दिपुरमै रोकिएका हुन्। फ्रान्सबाट आएका चारलोटीले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेकोले देश फर्किन मन नलागेको बताए। ‘भ्रमण वर्ष मनाउन नेपाल आएका हौं,’ यो महामारीको अन्त्य नभएसम्म आफ्नो देश फर्कदैनौं,’ चारलोटीले भने। 

कोरोना भाइरस महामारी फैलिन थालेपछि उनीहरुलाई बन्दिपुर अस्पतालमा एक दिन एक रात राखेर स्वास्थ्य परीक्षण गरिएको छ। उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य  रहेकोले बस्न अनुमति दिइएको बन्दिपुर बजार इकाई सभापति एवं पर्यटन विकास समितिका पूर्वध्यक्ष बैंस गुरुङले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.