|

सल्यान : सल्यानका आठ स्थानीय तहले २३५ शय्याको क्वारेनटाइन निर्माण गरेका छन्। तर, विदेशबाट आएका र बाह्य जिल्लाबाट आएकाहरु क्वारेनटाइनमा बस्न नमान्दा अधिकांश क्वारेनटाइन रित्तै छन्। रोजगारीका लागि भारत लगायत अन्य मुलुकमा गएका र बाह्य जिल्लाबाट ९१९ जना सल्यान भित्रिएका छन्। 

शारदा नगरपालिकामा १०४ जना बाहिरबाट भित्रिएको तथ्यांक छ। तर, त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएको २० शय्याको क्वारेनटाइनमा सातजना मात्र बसेका छन्। यस्तै, भारतबाट आएका एकजना होम क्वारेनटाइनमा रहेका छन्। क्वारेनटाइनमा आएर बस्न आग्रह गर्दा पनि कोही नआएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए।

यस्तै, कालिमाटी गाउँपालिकामा ८० शय्याको क्वारेनटाइनमा १४ जना रहेका छन्। उनीहरु विदेशबाट आएका हुन्। मजदुरीका लागि बाह्य गएका धेरै भएकाले उनीहरु क्वारेनटाइनमा नआएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्री केसीले बताए। साविकका चार गाविस लक्ष्मीपुर, कालीमाटी रामपुर, काल्चे कालिमाटी र काप्रेचौरमा २०÷२० शय्याको क्वारेनटाइन निमार्ण गरिएको छ। 

छत्रेश्वरी गाउँपालिकाको ४३ शय्याको क्वारेन्टाइनमा ६ जना मात्र रहेका छन्। लक्ष्मी माध्यमिक विद्यालय जयचौरमा निर्माण गरिएको क्वारेनटाइनमा पाँचजना  र भोटेचौरमा एकजना रहेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए। यस्तै, सल्यान जिल्ला अस्पतालको १५ शय्याको क्वारेन्टाइनमा चारजना रहेका छन्।

२३५ क्वारेनटाइन शय्यामा ३१ जना मात्र 

जिल्लामा स्थापना गरिएका २३५ क्वारेनटाइन मध्ये ३१ जना मात्र क्वारेनटाइनमा रहेका छन्। शारदा नगरपालिकामा सात, कालिमाटी गाउँपालिकामा १४, छत्रेश्वरी गाउँपालिकामा ६ र सल्यान जिल्ला अस्पतालमा चारजना  छन्।
 
शारदा नगरपालिकामा २०, वनगाड कुपिण्डे नगरपालिकामा २०, छत्रेश्वरी गाउँपालिकामा ४३, कालिमाटी गाउँपालिकामा ८०, कुमाख गाउँपालिकामा २०, सिद्ध कुमाख गाउँपालिकामा २५ शय्याको क्वारेनटाइन तयार पारिएको छ। बागचौर नगरपालिकाले २५ शय्याको क्वारेनटाइन र पाँच शय्याको आइसोलेसन तयार गर्दै छ।

भारत लगायतका विभिन्न मुलुकबाट आएका १४ जना क्वारेनटाइनबाट घर फर्किएका छन्। त्रिवेणी गाउँपालिकाले क्वारेनटाइनमा रहेका १४ जनालाई घर फर्काएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.