‘राहत लिएर कुखुरा र सुँगुरलाई कुँडो बनाएर दियौं’

|

तनहुँ : तनहुँको एक स्थानीय तहले राहतको नाममा सडेको चामल बाँडेको भेटिएको छ। बन्दीपुर गाउँपालिका ५ नम्बर वडाले कल्चोक क्षेत्रका ८ ज्यालादारी विपन्न परिवारलाई वितरण गरेको चामल म्याद गुज्रिएको मात्र नभई सडेको पाइएको हो। चामलमा ढुसी आएर रंगसमेत कालो भएको र अमिलो गन्धसमेत आइसकेको चामल आफूहरुलाई बाँडिएको रेशम विकले बताए। 

‘चामल पकाउनका लागि ३/४ पटक धुँदासमेत कालो गएन, त्यसपछि एक/दुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगरलाई कुँडो बनाएर खुवाउन थाल्यौं,’ विकले भने। 

राहत वितरण गर्दा बोरा नखोली दिने भएकाले ४ बोरा चामल सडेको परेको बन्दीपुर गाउँपालिका–५ का अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए। ‘१५÷१५ किलोको दरले ८ परिवारलाई दिइएको राहत चामल सडेको परेछ,’ वडाध्यक्ष लामिछानेले भने ‘बोरा नखोली दिएका थियौं, त्यसैले वितरणको बेला थाहा भएन, अरुमा भने त्यस्तो सडेको चामल छैन,’ वडाध्यक्ष लामिछानेले भने। साथै उक्त चामल फिर्ता गरी शुक्रबारै अर्को राम्रो चामल दिइने लामिछानेले बताए।

‘बिक्रेताबाट लिइएको चामल गोदामको तल चिसो भागमा परेकोले बिग्रिएको परेको हो,’ चामल भण्डारण भएको र खरिद गरिएको पसललाई खबरदारी गरेको छौं,’ बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले भने। गोदामको भुइँमा रहेको ४ बोरा चामल सडेको परेको र नयाँ चामल ल्याएर उहाँहरुलाई वितरण गरिने थापाले आश्वासन दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.