|

पाल्पा : जिल्लाको सबै स्थानीय तहमा राहत वितरण कार्य सकिएको छ। २ वटा नगर र ८ वटा गाउँपालिका रहेको पाल्पामा पहिलो चरणको राहत वितरण कार्य सकिएको हो। जिल्लाभरिका ६ हजार ३ सय परिवार राहतबाट लाभान्वित भएका छन्। करिब १ करोड २५ लाख बराबरको राहत वितरण गरिएको छ।

सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकामा राहत वितरण गरिएको छ।  १ हजार ४ सय घर परिवारलाई करिब ३० लाख बराबरको राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए। उनका अनुसार भौगोलिक हिसाबले ठूलो गाउँपालिका र गरिबीको संख्यासमेत यहाँ बढी छ। 

यस्तै तानसेन नरगपालिकामा करिब २५ लाखको राहत वितरण गरिएको छ। १ हजार ४ सय ५६ घरपरिवार लाभान्वित भएका तानसेन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाले बताए। साथै यहाँ १ सय ४५ जना मजदुरलाई समेत राहत वितरण गरिएको छ। रामपुर नगरपालिकामा २२ लाख बराबरको राहत वितरण गरिएको छ। जुन राहतबाट १ हजार ६६ परिवार लाभान्वित भएका  नगरप्रमुख रमणबहादुर थापाले बताए। 

माथागढी गाउँपालिकामा ७ सय घरपरिवारले राहत पाएका छन्। १५ लाख ६० हजार बराबरको राहत सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले बताए। निस्दी गाउँपालिकामा २ सय ८६ परिवारलाई राहत वितरण गरिएको छ। करिब ८ लाख बराबरको राहत सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले बताए। 

बगनासकाली गाउँपालिकामा करिब ६ लाख बराबरको राहत वितरण गरिएको छ। यहाँ ३ सय ८० घर परिवारले राहत लिएका  गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। ३० जना श्रमिकलाई समेत राहत प्रदान गरिएको उनले बताए। तिनाउ  गाउँपालिकामा ४ लाख ५० हजार बराबरको राहत वितरण भएको छ। ३ सय ८५ परिवार लाभान्वित भएका गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए। 

रम्भा गाउँपालिकामा ३ लाख बराबरको राहत वितरण गरिएको छ। १ सय ६० परिवारका ४ सय ८१ परिवार सदस्य लाभान्वित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। केही परिवार वञ्चित भएको सूचना आएकोले तत्काल कार्यपालिका बैठक बसेर उनीहरूलाई पनि राहत वितरण गर्ने तयारी भइरहेको उनले बताए। राहत लिनेको संख्या थप हुने अध्यक्ष भण्डारीले बताए। 

पूर्वखोला गाउँपालिकामा २ सय ५९ घरपरिवारलाई राहत वितरण गरिएको छ। ५ लाख बराबरको राहत सामग्री विरतण गरिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए। यसैगरी रिब्दिकोट गाउँपालिकामा ३ लाख बराबरको राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। उनका अनुसार २ सय ८ घरपरिवार लाभान्वित भएका छन्। 

दैनीक ज्याला मजदुरी गर्ने, राज्यका कुनै पनि सेवा नलिएका ज्येष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका परिवार तथा र कुनै पनि रोजगारी नभएका परिवारलाई राहतस्वरूप खाद्य सामग्री वितरण गरिएको रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए। संघीय सरकारले निर्धाणरण गरेको मापदण्ड र स्थानीय सरकारले आवश्यक ठानेका अतिविपन्न परिवारलाई राहत वितरण गरेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए। 

यो पहिलो चरणको अभियानअन्तर्गत राहत वितरण गरिएको हो। लकडाउन अझै लम्बिएमा अवस्था हेरेर विपन्न परिवारलाई थप राहत वितरण गर्ने सबै गाउँपालिकाको योजना छन्। 

पहिलो चरणमा गरिएको राहत वितरण कार्यको विवरण जिल्ला प्रशासन कार्यालयमा आउनेक्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। ‘हामीले सबै स्थानीय तहमा वितरण गरेका राहतको विवरण मागेका छौं’, उनले भने, ‘सबै स्थानीय तहको विवरण संकलन भएपछि संघीय सरकारमा पेस गर्नेछौं।’ वडावडामा पुगेर राहत वितरण गर्ने कार्य स्थानीय तहले गरेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.