नेपालीको दृढ संकल्पको मोदीद्वारा प्रशंसा

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन सम्वाद भएको छ। दक्षिण एसियामा कोरोनाले महामारीको रुप लिन लाग्दै गर्दा दुई समकक्षीबीच टेलिफोन सम्वाद भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीसँग टेलिफोन संवाद भएको पुष्टि गरेका छन्। उनले कोरोनाविरुद्धको सहकार्यलाई अझै मजबुत बनाउने सहमति दुई नेताबीच भएको बताएका छन्।

'कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं', ओलीले भनेका छन्, 'लकडाउनका कारण एकअर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं।'

ओलीले लकडाउनमा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्‍दै थप सहज र सुचारु राख्‍न पनि छलफल भएको बताएका छन्। ओलीले संवादका क्रममा भारत सरकारले उपलब्ध गराउने औषधि लगायत सहयोगका लागि मोदीलाई धन्यवाद दिएका छन्।

नेपालका प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्वाद भएको जानकारी मोदीले ट्विटरमार्पत दिएका छन्। उनले सम्वादका क्रममा कोरोना भाइरसबाट अहिले उत्पन्‍न जटिलताबारे कुराकानी भएको जानकारी दिएका छन्।

'नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सम्वाद भएको छ', उनले भनेका छन्, 'हामीले कोरोनाबाट दुई देशमा उत्पन्‍न जटिल अवस्थाबारेमा छलफल गरेका छौं।'

मोदीले कोरोना भाइरसका कारण उत्पन्‍न चुनौतीसँग जुध्‍न नेपाल र नेपाली जनताले गरेको दृढ संकल्पको प्रशंसा गरेका छन्। 'म यस चुनौतीसँग लड्नका लागि नेपालका जनताको दृढ संकल्पको सराहना गर्छु', उनले भनेका छन्, 'हामी कोभिड-१९ विरुद्ध भइरहेको आमलडाईंमा नेपालको साथमा एकजुटा भएर उभिएका छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.