|

काठमाडौं : लकडाउन घोषणापछि काठमाडौं महानगरपालिकाले करिब ३१ हजार बढी असहाय, अतिविपन्न र दैनिक ज्याला मजदुरहरूलाई राहत वितरण गरेको छ। बिहीबार राहत वितरणलगायत विषयमा समीक्षा गर्न बसेको नगर कार्यपालिकाको ४४औँ बैठकले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ पनि पारित गरेको थियो।

राहत वितरणसँगै १ मार्च २०२० (२०७६ फागुन १८) पछि विदेश भ्रमण गरी महानगरपालिका क्षेत्र भित्र बसोवास गर्दै आएकाहरुको विवरण संकलनलाई पनि महानगरपालिकाले तीव्रता दिँदै आएको छ।

बैठकमा चैत २६ गतेसम्म काठमाडौं महानगरपालिकाले यसरी बसोवास गर्दै आएका १३४ जनाको विवरण संकलन गरेको लगायतका विषयमा पनि जानकारी गराइएको थियो।

बुधबारसम्मको तथ्याङ्कअनुसार वडा–३१ ले सबैभन्दा बढी अर्थात ३ हजार ८ सयलाई राहत वितरण गरेको छ। त्यसैगरी वडा–७ २ हजार ३ सय ९६ लाई राहत वितरण गरेको छ। वडा–१० ले २ हजार २० लाई र वडा–१६ ले १७ सय १९ जनालाई राहत वितरण गरेको छ। त्यस्तै, वडा–१५ ले १५ सय २० र वडा–६ ले १४ सय ७६ लाई वितरण गरेको छ।

पछिल्लो तथ्यांकअनुसार काठमाडौं महानगरपालिकाले ३७ हजार ७ सय ९० जनालाई राहत वितरण गर्नुपर्ने भनी पहिचान गरेको छ। २४ हजार ३ सय १९ जनालाई आफ्नै स्रोतबाट राहत वितरण गरेको छ भने विभिन्न स्रोतबाट ६ हजार ८ सय ६५ जनालाई वितरण गरेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अहिलेसम्म भएको राहत वितरणलगायत विषयमा समीक्षा गर्न बैठक बसेको जानकारी दिए। ‘अहिलेसम्म राहत वितरणमा भएका कमी–कमजोरी, राहत वितरणका क्रमा देखिएका समस्यालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ प्रमुख शाक्यले भने, ‘राहत वितरणलाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल भयो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.