|

काठमाडौं : बर्दियाका टेकबहादुर सिजाली पहिलोपटक गत चैत ४ मा काम गर्न काठमाडौं आए। उनी काठमाडौं आएर ठेकेदारसँग सडकमा ज्याला मजदुरीको काम गर्दागर्दै कोरोनाको त्रासले लकडाउन लाग्यो। अहिले करिब तीन सातादेखि कामविहीन भएर उनी गोकर्ण नाम्गेलमा त्रिपालको टहरामुनि बस्न बाध्य छन्।

‘पहिलो पटक काठमाडौं आएको थिएँ,’उनले थाहाखबरलाई भने,‘लकडाउनले गर्दा काम गर्न पाइएन। त्रिपालमुनि बस्नुपरेको छ।’ लकडाउन खोलेमा काम गरेर पेट पाल्न सकिने उनको आँट भने अझै छ। उनले भुइँतिर हेर्दै भने,‘काम गरेर आफू पनि बाँचेर घरमा पनि पैसा पठाउनुपर्छ, अब अहिले काम र दाम दुवै छैन कसरी बाँच्‍न होला?'

काम गर्न नपाए पनि सरकार र ठेकेदारले घरसम्म जाने व्यवस्था मिलाइदिए खुसी भएर जाने उनी बताउँछन्। उनका अनुसार पहल गरेर सबै कामदारलाई घरसम्म पठाउन ठेकेदारलाई भनेका थिए। तर, अन्तिमसम्म पनि ठेकेदारको घर जान केही पहल गर्न सकेन।  

मरिने डरले भारतबाट नेपाल

विश्वव्यापी कोरोना भाइरस(कोभिड १९) फैलिँदै गएपछि भारतबाट फागुन २२ गते नेपाल आइपुगेका थिए सिजाली। ‘कोरोना भाइरस विश्वदेशभर फैलिँदै गएको इन्टरनेटमा थाहा पाएपछि मरे पनि मेरै घरपरिवारको काखमा मर्छु भनेर नेपाल आएँ,’उनी निन्याउरो अनुहारमा भन्छन्,‘म आउँदासम्म भारतमा कोरोना आइपुगेको थिएन। जनकपुर आएपुग्दा बन्द रहेछ २४ घण्टा त्यही बस्नुपर्‍यो। त्यसपछि घर गए काठमाडौं आएकको थिएँ यस्‍तो दुखमा पर्न पो परियो।'

अहिले उनीसँगै त्रिपालमुनि ९ जना कामदार छन्। त्यहीभित्रका अर्का हुन् बर्दियाकै जगत परियार। २५ गते लकडाउन खुल्छ भन्ने उनमा आशा थियो। तर, सरकारले वैशाख ३ गते सम्म कोरोना भाइरस रोकथामका लागि लकडाउन लब्याएपछि उनी अहिले निराश छन्।

‘लकडाउनले काम गर्न पाएका छैनौँ,’उनले लामो सास फेर्दे भने,‘लकडाउन खुले घर जान पाइने आस छ। घर जान पाए भोकै बस्न पर्दैन। मरे पनि आफ्नै परिवारमा मरिन्थ्यो।’ अहिले ग्यासको अभाव हुँदा उनीहरुले दाउराबाट खाना पकाएर खान्छन्।

‘राहतका लागि नाम लेखाएका थियो अहिले सम्म पाउन सकेका छैनौँ,’उनले भने,‘राहत पाए केही सजिलो हुने थियो। ठेकेदारले ग्यास र चामल ल्याएको छ। त्यही अहिलेसम्म खाँदै बसेका छौँ। यो सकिएपछि के खाएर बस्ने हो।’

उनले सरकारले लकडाउन लगाए पनि ज्यालामजदुरी गर्नेलाई स्वास्थ्य सुरक्षा दिएर काम गर्न दिनुपर्ने उनको माग छ। ‘हामी त ज्यालामजदुरी गरेर पेट पाल्नुपर्छ। सरकारले अझै लकडाउन लब्याए पनि हामी जस्तालाई स्वास्थ्य सुरक्षा दिएर काम गर्ने वातावरण बनाउनुपर्छ’ उनी थप्छन्। परियारका अनुसार ९ जना कामदारमध्ये ८ जना बर्दियाकै र एकजना सिन्धुलीका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.