|

पाल्पा : जिल्लाका विभिन्न ठाउँमा रहेको क्वारेन्टाइनमा बस्दै आएका ४४ जनाको शुक्रबार र्‍यापिड डाइगोनस्टिक किटमार्फत परीक्षण गरिएको छ। उनीहरू सबैको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका महामारी फोकल पर्सन श्रीकृष्ण भट्टराइले बताए।

रैनादेवी छहरा गाउँपालिकामा ११, रिब्दीकोट गाउँपालिकामा ३ पूर्वखोला गाउँपालिकामा २१ र रामपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा बस्दै आएका ९ जना गरी कुल ४४ जनाको किट परीक्षण गरिएको हो। उनीहरूको रगत परीक्षण गरिएको थियो।

भारतसहित तेस्रो मुलुकबाट आएका उनीहरू कम्तिमा १४ दिनदेखि स्थानीय सरकारले निर्माण गरेका विभिन्न विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए। केही भने होम क्वारेन्टाइनमा सुरक्षित बसेका थिए।

रिपोर्ट नेगेटिभ देखिएका सबै अब आफ्नो घरमा जाने छन्। यद्यपि उनीहरूलाई थप एकहप्ता होम क्वारेन्टाइनमा सुरक्षित बस्न भनिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका ल्याव टेक्निसियन मधुसुदन भट्टराइले बताए। अब पाल्पामा सरकारले निर्माण क्वारेन्टाइनमा कोही हुने छैनन्। तर बाहिरी मुलुकबाट आउने मानिसको भने उच्च निगरानी हुने छ।

स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेवीका, राजनीतिक दलका प्रतिनिधिले नयाँ मान्छे भित्रिएकोबारे निगरानी गर्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। कोरोना भाइरस अर्थात् कोभिड १९, नियन्त्रण कार्य टोली पाल्पाको यसअघि बसेको बैठकले क्वारेन्टाइनमा बसेकाहरूको किट परीक्षण गर्ने निर्णय गरेको थियो।

प्रदेश नं. ५ को भैरहवास्थित गहुँबालीमा स्थापना गरिएको प्रदेश स्वास्थ्य प्रयोगशालाबाट उपलब्ध किटको माध्यमबाट कोरोना संक्रमणको जाँच भएको ल्याव टेक्निसियन मधुसुदन भट्टराइले बताए। 

भारतबाट गौरीफन्टा नाका, वनबासा र गड्डाचौकी हुँदै पाल्पा आएकाहरूको पहिलो पटक कोरोना संक्रमणको परीक्षण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.