|

सुर्खेत : कर्णाली प्रदेश सरकारको आव्हानमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेशस्तरीय सर्वदलीय वैठक भएको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको आव्हानमा सम्पन्न सर्वदलीय बैठकमा मुख्यमन्त्री शाहीले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको कार्यमा सरकार, राजनैतिक दल, नागरिक समाज र आम जनता एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा नेपालमै पहिलो पटक सीमा नाकामा हेल्थ डेस्क स्थापना, स्वास्थ्य जाँच तथा आवागमनलाई कडाई गर्ने जस्ता कार्यहरू प्रदेश सरकारले गरेको जानकारी दिएका थिए।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागिपरेको बताउँदै मुख्यमन्त्री शाहीले क्वारेन्टाइन निर्माण, विपद व्यवस्थापन कोषको स्थापना, जिल्ला विपद व्यवस्थापन कोष र स्थानीय तहलाई बजेटको व्यवस्थापन, आइसोलेसन अस्पतालको व्यवस्थापनलगायतका काम सरकारले गरेको पनि जानकारी दिए।

त्यसैगरी स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्थापन, कोरोना नियन्त्रण कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि प्रोत्साहन भत्ता व्यवस्था, स्थानीय तहको सहकार्यमा दैनिक ज्याला मजदुरीमा जीविका चलाउने विपन्न नागरिकका लागि खाद्य सामग्रीको व्यवस्था जस्ता काम पनि सरकारको तर्फबाट गरिएको शाहीले जानकारी गराएका छन्।

लकडाउनको अवस्थामा अत्यावश्यक खाद्यसामग्रीको अभाव हुन नदिन आपूर्तिको व्यवस्थापन गरिएको र स्थानीय उत्पादनको प्रयोगको व्यवस्था मिलाउन स्थानीय तहहरूलाई आग्रह गरिएको मुख्यमन्त्री शाहीले बताए।

बैठकमा मुख्यमन्त्री शाहीले लकडाउनको कार्यान्वयन, राहात वितरण तथा विरामीको उपचार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई आवश्यक सहयोग तथा समन्वयका लागि राजनैतिक दलका सम्वन्धित तहका इकाइहरूको परिचालनका लागि राजनैतिक दललाई आग्रह गरेका छन्।

सर्वदलीय वैठकमा राजनैतिक दलका नेताले कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमको साथमा रहेको भन्दै सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। वैठकमा वोल्दै नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारलाई जनताको साथ रहेको बताउँदै ढुक्कका साथ कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका काममा लाग्न आग्रह गरेका छन्।

अहिलेको महामारी नियन्त्रणको लागि सवैभन्दा प्रभावकारी र वलियो हतियार लकडाउन नै भएको बताउदै शर्माले लकडाउनलाई कडाईपूर्वक कार्यान्वयन गर्नुपर्ने सुझाव दिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीले सुपर पावर भनिएका देशहरू समेत कोरोना संकटवाट पार पाउन नसकेको बताए।उनले साधनस्रोत तथा प्रविधिमा कमजोर रहेको हाम्रो जस्तो मुलुकमा सरकार, राजनीतिक दल तथा जनता एकतावद्ध भएर जानुको विकल्प नभएको बताए। 

उनले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई सहयोग गर्न आफ्नो पार्टीले पूर्णरुपमा तयार रहेको बताए। नेता थानीले कोरोना परीक्षण कार्यलाई तिव्रता दिन पनि सुझाव दिए। विश्व स्वास्थ्य संगठनले समेत नेपालमा कोरोना परीक्षणको गति सन्तोषजनक नरहेको वताए। थानीले अहिलेको सन्दर्भमा विकास निर्माणको काम गौण भएको र विकास वजेट रकमान्तर गरेर भए पनि नागरिकको जिउज्यानको सुरक्षा दिनुपर्नेमा जोड दिए।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरूले कोरोना रोकथामका लागि मन्त्रालयले अहिलेसम्म गरेका कामकारवाही र आगामी योजनाको विषयमा जानकारी दिएका छन्। वैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समितिका सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज नरवहादुर विष्ट, नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, राप्रपा कर्णाली प्रदेश उपप्रमुख सूर्य खत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज रत्नविक्रम राना प्यासीर नेपाल मजदुर किसान पार्टीका हरिवहादुर बोहोरालगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.