अध्यक्ष मिया भन्छन् : ममाथि षड्यन्त्र गरियो

|

पर्सा : पर्साको जगरनाथपुर गाउँपालिकाबाट केही दिनयता कोही पनि मुस्लिम नागरिक पक्राउ नपरेको खुलेको छ। 

शुक्रबार भारतका केही सञ्चारमाध्यममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासँग जोडेर आएका समाचार जस्तो त्यस पालिकाबाट केही दिन यता कोही पनि पक्राउ नपरेको खुलेको हो। 

‘बिहीबार/शुक्रबार जगरनाथपुर गाउँपालिकाबाट कसैलाई पनि पर्सा प्रहरीले नियन्त्रणमा लिएको छैन,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले भनिन्। 

गत चैत २० गते भारतको दिल्लीस्थित एक मुस्लिम धार्मिक सभामा गएर फर्किएको आशंकामा जगरनाथपुर गाउँपालिकाबाट १५ जना मुस्लिम नागरिक पक्राउ परेका थिए। तर ती सबै नेपाली नागरिक भएको पुष्टि भयो। उनीहरु उता गएको नबताए पनि भारतका विभिन्न ठाउँबाट आएको बताएपछि सम्बन्धित जिल्लामा पठाइएको उनले बताइन्। 

भारतको दिल्लीस्थित एक धार्मिक सभामा भेला भएका केही मुस्लिम नागरिकलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालबाट उता गएको आशंकामा केही नेपाल छिरेका मुस्लिम नागरिकलाई पनि चैत २० गते पक्राउ गरी क्वारेन्टाइनमा राखिएको थियो। 

जगरनाथपुर गाउँपालिकाबाट जम्मा १५ जना पक्राउ परेका थिए। उनीहरु सबै बारा, रौतहटका भएको खुलेपछि र कोरोनाको संक्रमण हुने लक्षण नदेखेपछि चैत २१ गते नै सम्बन्धित जिल्ला पठाइ क्वारेन्टाइनमा राख्न भनिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पनि बताए। 
‘त्यो गाउँपालिकाबाट समूहगत रुपमा अरु मुस्लिम नागरिक पक्राउ परेका छैनन्’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘भारतका सञ्चारमाध्यमले त्यहि बिषयलाई नबुझी समाचार बजाए जस्तो छ।’

अफवाह फैलाइयो : अध्यक्ष मिया

यता जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले पनि आफूमाथि ठूलो षडयन्त्र गरी विरोधी पार्टीका मानिसले अफवाह फैलाएको दावी गरेका छन्। 

‘मेरो गाउँपालिकाबाट यस्तो किसिमका कोही मानिस पक्राउ परेका छैनन्’, उनले भने, ‘म सधैं पर्साका प्रमुख जिल्ला अधिकारी, पर्सा प्रहरी प्रमुख र जिल्लाका सबै राजनीतिक दलका नेता कार्यकर्तासँग कोरोनाबाट आफ्नो पालिका र जिल्लाका नागरिकलाई कसरी बचाउने सबै बैठकमा सहभागी भइरहेको छु। कसले ममाथि यस्तो आरोप लगायो?’

उनले यसबारे सत्यतथ्य छानविन गरी कार्वाहीका लागि गृह मन्त्रालयसम्म आफैँ अनुरोध गरिरहेको बताए। यो काम आफ्ना विरोधीले गरेको गलत प्रचारबाजीका भरमा भारतका केही मिडिया र मिडियाकर्मीलाई प्रयोग गरेको हुन सक्ने उनले बताए। 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.