|

बारा :  प्रदेश-२ को बारा जिल्लाको उत्तरी भेग चुरे पवर्तसँग जोडिएको स्थानीय तह हो, निजगढ नगरपालिका। सरकारले पहिलो चरणमा घोषणा गरेका १० वटा स्मार्ट सिटीमध्ये निजगढ नगरपालिका पनि एक हो।

राष्ट्रिय गौरवका आयोजनाका कारण चर्चामा रहेको निजगढ र आसपासमा निमार्णाधिन काठमाडौं –निजगढ द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्ग, सिम्रौनगढ–तामागढी हुलाकी सडक जस्ता आयोजना रहेका छन्।

निजगढ नगरपालिकाका साविकका निजगढ, रतनपुरी र भरतगञ्जसिंगौल गरी ३ गाविस मिलेर बनेको यस नगरमा करिब १०० वर्ग किलोमिटर क्षेत्रफल र जनसंख्या कुल १८ हजार ८७६ रहेको छ।
स्थानीय तहको निर्वाचनमा  तत्कालीन नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रबीच तालमेल गरेर नेपाली कांग्रेसका तर्फबाट निर्वाचित  नगर प्रमुख सुरेशकुमार खनालसँग  कोरोना भाइरसविरुद्ध लड्न नगरपालिकाले गरेको पहलको विषयमा केन्द्रित रहेर थाहाखबरकर्मी महेश्वर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :

 निजगढ नगरपालिकामा कोरोना भाइरस प्रकोप संक्रमणको अवस्था कस्तो रहेको छ?

नगरपालिकाका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीबाट हामीलाई अहिलेसम्म प्राप्त सूचनाको आधारमा नगरभित्र कोरना संक्रमणको एउटा पनि बिरामी फेला परेको छैन। निजगढमा अहिलेसम्म ३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिसकिएको छ।  बाहिरबाट आएका ८ जनामा संक्रमणको आशंका भएकोले उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा नगरपालिकाको वडा नम्बर ८ र १० मा रहेको क्वारेन्टाइनमा राखिएको छ। 

कोराना संक्रमण नपाइएको भन्नुभयो तर निजगढमा पनि धेरै मानिस त्रसित देखिन्छन  नि?

अहिले विश्वका २ सय १० भन्दा बढी राष्ट्रहरूका लाखौंमा संक्रमण देखिएको  र एक लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्। मृत्यु हुने क्रम अझ दिनदिनै बढदो छ। संक्रमण  नियन्त्रण गर्न महाशक्ति भनिएका राष्ट्रहरू पनि विफल भइरहेका छन्। यस्तो अवस्थामा संसारभर नै सन्त्रास फैलिएको छ। त्यसैले यसबाट निजगढ पनि अछुतो रहनसक्ने कुरा छैन।

तर विश्वव्यापीरुपमा आगोको मुस्लो जस्तै फैलिरहेको यो संक्रमणबाट निजगढका जनतालाई जोगाउन नगरपालिकाले आफनो सिमित स्रोत, साधन, क्षमता, बुद्धि र विवेकको भरपुर प्रयोग गरी काम गर्दै आएको छ। 

संक्रमणबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको लकडाउन नै हो। भिडभाड नगरी घरमै बसेर मात्र यो रोगलाई जित्न सकिन्छ। तसर्थ, ‘आफू पनि बाचौं अरूलाई पनि बचाऔं।’ भन्ने मान्यताका आधारमा लकडाउन पूर्ण कार्यान्वयनको लागि सहयोग गर्न म निजगढबासीसँग हार्दिक अनुरोध गर्न चाहन्छु। 

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता, स्थानीय समाजसेवी, सञ्‍चारकर्मीको सहयोगबाट हामीले यसलाई निजगढमा प्रवेश हुनबाट अहिलेसम्म रोक्न सकेका छौं।  यो महामारीबाट जोगिइराख्न डर र त्रासभन्दा पनि हामीले सतर्कतापूर्ण व्यवहार गर्न जरुरी छ।  यो मौसम परिवर्तन हुने बेला पनि हो।

यस्तो अवस्थामा धेरैजसो मानिसमा कोरोनासँग मिल्ने रुघा, खोकी र ज्वरो आउने  जस्ता लक्षणहरू पनि देखा पर्नसक्छन्। कसैमा यस्तो समस्या देखिहाल्यो भने  त्रसित नहुन र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न  अनुरोध गर्न चाहन्छु।

अनुरोधले मात्रै पुग्छ?

यो परिस्थितिमा सबैको लागि स्वास्थ्य सेवा सहज होस् भनेर  हामीले निजगढको साविक रतनपुरी र भरतगञ्‍ज गाविसमा ३-३ जनाको स्वास्थ्यकर्मीको कमाण्डो टोली बनाएका छौं। त्यसैगरी प्रत्येक वडामा स्वास्थ्यकर्मीको अर्को टोली पनि खटाइएको छ।

हामीले प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक र वडामा खटिएका स्वास्थ्यकर्मीसँग सम्पर्कको लागि मोवाइल नम्बर पनि सार्वजनिक गरेका छौँ। कुनै समस्या देखिए नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको नम्बरमा पनि सिधै सम्पर्क गर्नसक्नुहुनेछ। तत्काल सेवा उपलब्ध हुने व्यवस्था गरेका छौं।  

रोकथामका अरू गतिविधि के छन्?

हामीले यसको नियन्त्रण रोकथामको लागि विभिन्न पाँच चरणमा काम गर्दै आएका छौ। प्रारम्भिक चरण अन्तरगत एफएम रेडियो, पर्चा पम्प्लेट मार्फत चेतना अभिवृद्धि गर्ने काम भएको छ।

शुरुका दिनहरूमा विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक, अभिभावकमा सचेतना कार्यक्रम समेत संचालन गरिएको थियो। त्यसैगरी नगरका प्रतेक घरमा मास्क र हात धुने साबुन उपलब्ध गराइएको छ।

प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन बेड, नगरका प्रमुख स्थान र प्रत्येक वडाहरूमा हेल्थ डेक्स तथा क्वारेन्टाइनको स्थापना गरेर स्वास्थ्यकर्मीको जिम्मा लगाइएको छ।

यसअघि संक्रमण फैलिन नदिन नगरका सबै सडकमा स्प्रे गरेका थियौ। स्वास्थ्यकर्मीलाई थर्मल गन, पिपीइ, सेनिटाइजर, मास्क, पन्जा जस्ता आवश्यक सामाग्री र उपकरण उपलव्ध गराउने कार्य भएको छ।  संक्रमण नियन्त्रणको लागि लकडाउन नै सबै भन्दा प्रभावकारी देखिएको छ।

त्यसैले अहिले हाम्रो ध्यान यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुतर्फ छ। यसको लागि जथाभावी घरबाहिर ननिस्किन हामीले अपिलमार्फत नगरबासीलाई बारम्बार सचेत गराउँदै आएका छौँ।

प्रतिकार्य अन्तरगत किट लगायतका सामग्रीको व्यवस्था भैनसकेले कथमकदाचित कसैमा संक्रमण देखा परेको अवस्थामा हेटौडा वा जनकपुरसम्म पुर्याएर भए पनि उपचार गर्न सकियोस भनेर हामीले ३ वटा एम्बुलेन्स सेवा तयारी अवस्थामा राखेका छौँ। 

राजनीतिक दल, पेसाकर्मी, सुरक्षाकर्मी विभिन्न सामाजिक संघ संस्थासँग कसरी समन्वय भइरहेको छ त? 
जब देश कलडाउनको अवस्थामा गयो। त्यतिबेला एकाएक सबै संयन्त्र अवरुद्ध बन्यो र पूरै देश ठप्प जस्तै थियो। त्यस्तो अवस्थामा पनि हामीले सिमित कर्मचारी र जनप्रतिनिधिहरूको मद्दतबाट नेपाल सरकार र प्रदेश सरकारको निर्देशन अनुसार काम गर्दै आएका थियौं।

तर पछिल्लो अवस्थामा स्थानीय राजनितिक दल, विभिन्न संघ संस्थासंग र पेसाकर्मीसंग पनि समन्वय गरेर काम हुदै आएको छ। सबैले आआफनो ठाउँबाट सक्दो सहयोग पनि  गरिनै रहनुभएको छ। सबै पक्षसंगको आपसी छलफल र सल्लाहामा नै नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि काम अघि बढाउदै आएका छौं ।

लकडाउन अझै प्रभावकारी हुन नसकेको देखिन्छ नि?

तपाईले भने जस्तो चाँहि अलि होइन। निजगढमा लकडाउन प्रभावकारी रुपमा नै कार्यान्वयन भइरहेको छ। यसको  लागि नेपाल प्रहरी सशस्त्र प्रहरी ट्राफिक प्रहरीको संयुक्त टोली सक्रिय छ। यो  विषयमा निजगगढमा बाहिरबाट प्रवेश गर्ने मान्छेको बारेमा हामी बढी सचेत हुन जरुरी छ, जस्तो मलाई लाग्छ।

त्यसैले निजगढ प्रवेश गर्ने मुख्य नाका जस्तै तामागढी, डम्बरपुर, बकैयाको मोहोरी, सिगौलको पिपलटार र पुर्वमा भमरा/धन्सार क्षेत्रको नाकामा निगरानी बढाइएको छ। उक्त क्षेत्रबाट निजगढ प्रवेश गर्ने मान्छेको चेकजाचको लागि तामागढीस्थित जिल्ला ट्राफिक कार्यलयको चेकिङ्ग प्वाइन्ट र रतनपुरका स्वास्थ्यकर्मीलाई १-१ वटा थर्मल गनको व्यवस्था गरिएको छ।

यसक्रममा बाहिरबाट आएका मानिसहरूमा रुघाखोकी ज्वरो वा अन्य लक्षण पाइएमा उनीहरूलाई सिधै क्वारिन्टाइनमा पठाउने सामान्य अवस्थामा भए केही दिनसम्म घरमै एकान्तबासमा बस्ने सल्लाहसहित परिवारको जिम्मा लगाएर पठाउने गरिएको छ। 

खाद्यान्न लगायतका उपभोग्य सामाग्रीको किनबेच र ढुवानीको लागि समय तालिकाको कस्तो व्यवस्था  ?
खाद्यान्न तथा औषधिको सहज आपुर्ति व्यवस्था मिलाउन हामीले व्यापारीलाई शुरुका दिनदेखि नै अपिल गर्दै आएका छौ। त्यसको लागि पहिले औषधि र खाद्यान्न पसल बिहान ७ बजेदेखि ११ बजेसम्ममात्र खोल्न सकिने समय निर्धारण गरिएको थियो।

तर केही मान्छेहरूले उक्त समयको दुरुपयोग गरेको पाइएपछि हाल बिहान ९ बजेसम्ममात्र पसल खोल्ने समय निर्धारण गरिएको छ।   खाद्यान्न वितरण गर्न व्यवसायीहरूलाई पासको  व्यवस्था गरिएको छ। पास लिएकाले उपभोक्तासंग अर्डर लिने र ढुवानीका साधनमार्फत घरघरमा डेलिभरी पनि गर्न सक्नेछन्।

यसले पसल तथा बजारमा अनावश्यक भिडभाड कम हुने आशा गरेका छौ।  पसलमै गएर खरिद गर्नुपर्ने खण्डमा १ मिटरको दुरी राखेर पालैपालो खरिद बिक्री गर्ने, अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र साबुन पानीले हात धोएरमात्र सामान किनबेच गर्ने व्यवस्था मिलाएका छौँ। 

लकडाउन भएपछि दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरूको राहतको लागि नगरपालिकाले के सोच्दै छ?

 लकडाउनले श्रमिक विपन्न वर्गका मानिसहरूको राजिरोटीमा संकट उत्पन्न भएको छ। उहाँहरूमाथि परेको अप्ठ्यारो हामीले बुझेका छौ र नगरपालिकाले गम्भिर बनेर काम गरिरहेको छ। तर यो विषयमा विगतका दिनहरूलाई पनि एकपटक सम्झनुपर्छ भन्ने मलाई लागेको छ।

विगतमा पनि नेपालमा महिनौंसम्म बन्द÷हडताल हुने गरेको थियो। तर त्यतिबेला राहतको विषय कहिलै उठेन।  अहिले हामीले राहतको प्रवन्ध गर्दैछौं। यो एकदम राम्रो कुरा हो। तर राहतभन्दा  पहिले आफनो स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्ने बारेमा चनाखो हुन जरुरी छ। त्यसैले नगरपालिकाले पहिलो चरणमा रोकथामलाई प्राथमिकतामा राखेर काम गर्दै आएको हो। अब राहत वितरणतर्फ केन्द्रीत भएका छौँ।

वडास्तरमा वडा अध्यक्षको संयोजकत्वमा गठन भएको समितिमार्फत प्राप्त नामावली नगर कार्यपालिकाको बैठकमा छलफल गरेर पारदर्शीरुपमा वितरण गर्ने योजना छ। जसअनुसार लक्षित वर्गको घरघरमा पुगेर राहत सामग्री प्रदान गर्ने तयारी पुरा भइसकेको छ। 

निजगढमा मात्र हैन अहिले देशभरि नै सामग्रीको अभाव छ। आवश्यक सामग्री सहयोगको लागि संघीय र प्रदेश सरकारसँग बारम्बार अनुरोध गर्दै आएका छौँ। तर विदेशबाट मगाउनु पर्ने कारणले त्यो संभव नभएको हामीले बुझेका छौं। हामी आफैले पनि व्यवसायीहरूसँग सम्पर्क गरेर आवश्यक सामाग्री खरिद गर्ने पक्षमा छौँ।

राहतको नाममा दलगत भेदभाव गरिने सामाजिक सञ्‍जालमा फोटो हाल्नेको लागि मात्र वितरण गर्ने भन्ने पनि छ नि ?

 यस सन्दर्भमा हामीले सबै वडामा रहेको सर्वदलिय, सर्वपक्षिय समितिलाई कार्यविधि बनाएर दिएका छौं। समितिमा दलहरूका प्रतिनिधि, शिक्षा, स्वास्थ्यका र सुरक्षा निकायका प्रतिनिधि रहने र कार्यविधिअनुसार वितरण गर्नुपर्ने भएको हुनाले भेदभाव हुने कुरा संभव छैन।

त्यसमाथि पनि मैले छुट्टै परिपत्र (निर्देशन) पनि गरेको छु। त्यसैगरी अनियमितता भएको पाइए सम्बन्धित दोषिमाथि कारवाही गरिने कुरा पनि उल्लेख छ। 


 

नगरपालिकाले १ करोड बढीको विपद व्यवस्थापन कोष खडा गरेर विभिन्न व्यक्ति र संघ संस्थालाई सहयोगको आह्वान गरे पनि  बाहिरबाट रकम जम्मा भएको छैन। किन होला?

यसको लागि केही व्यवसायी र  विदेशमा रहेका साथीहरूले चासो देखाइरहनुभएको छ। तर, लकडाउनको कारण रकम जम्मा गर्न केही समस्या र जटिलता उत्पन्न भएको छ।

तर पनि केही रकम जम्मा हुने क्रम शुरु हुन्छ भन्नेमा म विश्वस्त छु। साथै, फेरि पनि के आह्वान गर्न चाहान्छु भने यो कोषमा जम्मा भएको रकम कुनै व्यक्ति विषेशले पाउने हैन। यो अहिले र पछि पनि निजगढबासी जनतामा पर्नसक्ने विपतमा सहयोग गर्नको लागि बनाइएको कोष हो।

कोषमा बचेको रकम आगामी दिनमा यस्तै विपतमा खर्च गरिने छ। यो कोष नगद तथा वस्तुगत दुबै किसिमले सहयोग गर्न सकिने छ। सहयोगको कुनै पनि अवस्थामा दुरुपयोग र हिनामिना हुने छैन। यो कुरामा पनि म सबैलाई आश्वस्त  पार्न चाहन्छु। 

 अवस्थामा संघीय र प्रदेश सरकारसँग तपाईंको के  अपेक्षा छ

निजगढमा मात्र हैन अहिले देशभरि नै सामग्रीको अभाव छ। आवश्यक सामग्री सहयोगको लागि संघीय र प्रदेश सरकारसंग बारम्बार अनुरोध गर्दै आएका छौ। तर विदेशबाट मगाउनु पर्ने कारणले त्यो संभव नभएको हामीले बुझेका छौं। हामी आफैले पनि व्यवसायीहरूसँग सम्पर्क गरेर आवश्यक सामाग्री खरिद गर्ने पक्षमा छौँ।

त्यसैगरी प्रदेश र संघीय सरकारसंग म अर्को के कुरा पनि अनुरोध गर्न चाहान्छु भने अहिले जसरी प्रदेशस्तरीय अस्पतालहरू खोलिएका छन। यो पर्याप्त छैन।

यसलाई विस्तार गरेर हरेक जिल्लामा एउटा कोराना अस्पताल खोल्नुपर्ने देखिन्छ। र हरेक पालिकामा आवश्यक स्वास्थ्य  सामग्री र उपकरण उपलब्ध गराउन पनि प्रदेश र संघीय सरकारसंग हाम्रो माग ५ । 
अन्त्यमा, कोरोना  नियन्त्रणको लागि अपनाउनुपर्ने सावधानी बारेमा के भन्न चाहनुहुन्छ?

 म सबैभन्दा पहिला विश्वव्यापी प्रकोपको रुपमा रहेको यो संक्रमण रोकथाम नियन्त्रणको लागि पहिलो पङ्गतिमा उभिएर रातदिन नभनी खट्नु हुने हाम्रो नगरपालिकका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीहरूलाई धन्यवाद दिन चाहन्छु।

त्यसैगरी नगरपालिकका कर्मचारी, जनप्रनिधि, सामाजिक संघसस्था, राजनितिक दलका कार्यकर्ता सबै नै धन्यवादका पात्र हुनुहुन्छ। रोगले सानो ठुलो, धनी गरिव  भनेर हेर्दैन।

जुनसुकै बेला जसलाई पनि लाग्न सक्छ। यो हामी सबैको साझा समस्या हो भनेर बुझ्न जरुरी छ। संक्रमणबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको लकडाउन नै हो। भिडभाड नगरी घरमै बसेर मात्र यो रोगलाई जित्न सकिन्छ। तसर्थ, ‘आफू पनि बाचौं अरूलाई पनि बचाऔं।’ भन्ने मान्यताका आधारमा लकडाउन पूर्ण कार्यान्वयनको लागि सहयोग गर्न म निजगढबासीसँग हार्दिक अनुरोध गर्न चाहन्छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.