बेलैमा होस नगर्दा नेपालमा पनि संकट आयो

|

विश्‍व नै अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ। नेपालमा पनि यसको प्रत्यक्ष असर परेको छ। अहिलेसम्म १६ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।

देश तीन सातादेखि पूरै लकडाउनमा छ। लकडाउनपछि दैनिक ज्याला, मजदुरी गरेर छाक टार्नेहरुको चुल्होमा आगो बल्न मुस्किल हुन थालिसकेको छ। स्थानीय तहमा राहत वितरण भइरहे पनि अपर्याप्त छ।

लक्षित समूहमा नपुगेको गुनासो बढ्दैछ। कामका लागि गाउँ छोडेकाहरु शहरबाट फर्कनेको ताँती छ सडकमा। दलका गतिविधि शून्य छन्। नेताहरु सबै घरमा थुनिएका छन्। यो बेलामा सांसदहरुको चहलपहल पनि लगभग ठप्प छ। 

यही सन्दर्भमा संघीय संसदका दुई सदस्य पुष्पा भुसाल र रामकुमारी झाँक्रीसँग हामीले यो संकटमा के गर्दै हुनुहुन्छ? भनेर सोधेका छौं। दुवै नेतृसँग सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदमबारेमा प्रतिक्रिया लिन संक्षिप्त कुरा गरेका छौं। 

पुष्पा भुषाल (सचेतक नेपाली कांग्रेस)

आफ्नो निर्वाचन क्षेत्रको स्थिति, ज्यालामजदुरी गरेर छाक टार्नेहरुलाई राहत कसरी पुर्‍याउने भनेर त्यहाँको प्रशासन, पार्टीका साथीहरु, जनप्रतिनिधिसँग समन्वय, सहकार्य गरिरहेको छु।

अरु जिल्लाका साथीहरुसँग पनि समन्वय सहकार्य गरिरहेको छु। कोरोनाको संक्रमण बढ्न नदिन जनतालाई क्‍वारेन्टाइनमा र आइसोलेनसमा बस्न सरकारले भनेको छ।

हामीले भनेका छौँ, जनताले त्यसलाई सकेको पालना पनि गरेको देखियो। तर, सरकारको तर्फबाट जनतालाई जसरी आश्वास्त पार्नुपर्ने थियो त्यतातिर गम्भीर देखिएन।

स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री छैन, सुरक्षा कवज छैन, सुरक्षा निकायका कर्मचारीको तलब भत्ता उल्टै काट्ने कुरा गरेको छ। परीक्षणका लागि किट छैन। ल्याएका किटको गुणस्तरमा प्रश्‍न उठेको छ। ७७ जिल्लामै आवश्यक सामाग्री तत्कालै पुर्‍याउने भन्यो तर, काठमाडौँकै अस्पतालहरुमा पुर्‍याउन नसकेको सरकारले अरु जिल्लामा कसरी पुर्याउला भन्‍ने चिन्ता छ।

विश्वभरी महामारी फैलिरहँदा सरकारले पूर्वतयारीतर्फ ध्यान दिएन। सरकार लकडाउनको समय लम्ब्याएर मात्रै उम्किरहेको छ। मेडिकल 'स्ट्राटेजी' खोई त? सरकारको तयारी खोई? प्रधानमन्त्रीले बोल्दा लकडाउन बाहेक केही सुनिएन। जनतालाई आश्‍वस्त पार्ने जिम्मेवारी कसको? लकडाउन त जनताले पालना गरेकै छ।

रामकुमारी झाँक्री, सांसद नेकपा

महामारीका कारण देशमा लकडाउन भयो। बन्दाबन्दीको अवस्थामा नागरिकहरु घरमै बसेर सहयोग गर्नु नै अहिले पहिलो प्राथमिकता हो। महामारीमा संक्रमणको जोखिम कम गर्न घरमै बसेर आफू, परिवार र राष्ट्रलाई बचाउने काम जुन छ, म पनि त्यसै गरिरहेको छु।

बन्दाबन्दीको अवस्था भन्दाअघि वा कोरोनोको उत्पत्ति भएको वुहानबाट या बाहिरबाट आउने मान्छेको चेकजाँच गरेको भए, उनीहरुको यात्रा विवरण पहिले नै लिएको सायद आज यो समस्या नआउन पनि सक्थ्यो। सरकारमा रहेकालाई यो महामारीले दपेड्दैन, भेट्दैन कि भन्‍ने बुझाई भएकोले समस्या भयो।

प्रयोगशाला गतिलो थिएन, किटहरु थिएनन्, जनशक्ति पर्याप्त थिएन, भएकालाई तालिम थिएन, टेकुको विकल्प अरु ठाउँ हेरिएन, यो सबै नभइसकेपछि जुन तयारी गर्नुपर्थ्यो त्यो सरकारले गर्न सकेन। अहिले सातवटै प्रदेशबाट परीक्षणको काम जसरी भइरहेको छ, यो भने प्रशंसनीय काम हो।

दक्षिणतर्फको खुल्ला नाका, महाकाली पार गरेर आउनेहरुले यात्रा विवरण लुकाउने, घरमै नबस्ने, बाहिरका मानिस लुकाउने गर्नाले ठूलो जोखिम निम्तिएको छ। अब सरकारको विशेष ध्यान दक्षिणतर्फको सीमानाका र सुदुरपश्‍चिम प्रदेशका जिल्लामा हुन आवश्यक छ।

विभिन्‍न सामग्री खरिदको विषयमा पारदर्शीता नभएको भन्दै नागरिक समाज, मिडियाले प्रश्‍न उठायो। यसमा आजै अपादर्शी, कमिसन, भ्रष्टाचारका कुराहरु अहिले नै कुरा नगर्दैमा, अहिले नै जुलुस ननिकाल्दैमा, छानविनमा हतारो हुन्छ भन्‍ने पनि होइन। समयक्रममा यी विषय उठान हुन्छन र कारबाही हुन्छ नै। यसमा प्रधानमन्त्रीले जनतालाई आश्‍वस्त पार्ने काम गर्नुपर्छ। यो विषय उम्कने कुरा भने होइन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.