१३ औं सागमा जितेकी थिइन् चार स्वर्णसहित ९ पदक

|

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा सबैभन्दा धेरै पदक जित्‍न सफल पौडीकी गौरिका सिंहले ६२ लाख नगद पुरस्कार पाएकी छिन्। सरकारले एक भन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम प्रदान गरेको हो।

जसअनुसार गौरिकाको खातामा जम्मा ६२ लाख रुपैयाँ जम्मा गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव (लेखा) नवराज घिमिरेले थाहाखबरलाई जानकारी दिए। गौरिकाले १३ औं सागमा जम्मा ९ पदक जितेकी थिइन्। गौरिकाले पौडीमा सर्वाधिक चार स्वर्ण, दुई रजत र तीन कांस्य जित्दै इतिहास रचेकी थिइन्।

सरकारले व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख र एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम प्रदान गर्ने घोषणा गरेको थियो।

ब्यक्तिगत स्पर्धामा रजत जित्नेले ६ लाख र कास्य जित्ने खेलाडीले ३ लाख रुपैयाँ पाएका छन्। यस्तै, टिम इभेन्ट्समा स्वर्ण जित्ने खेलाडीले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्ने खेलाडीले २ लाख रुपैयाँ प्राप्त गरेका छन्।

१३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र टिम इभेन्टतर्फ ३ कास्य पदक प्राप्त गरेकी थिइन्। जसअनुसार ४ स्वर्णवापत ४४ लाख, २ रजतको ६ लाखका दरले १२ लाख र टिम इभेन्टस्तर्फ ३ कास्यको २ लाखका दरले ६ लाख गरी कूल ६२ लाख प्राप्त गरेकी हुन्।

यस्तैगरी कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले २–२ स्वर्ण जितेका थिए। उनीहरुले पनि एक स्वर्ण वापद ११ लाखका दरले नगद प्राप्त गरेका छन्।

युवा तथा खेलकुद मन्त्रालयले सरकारले घोषणा गरेअनुसार आज १३ औं सागका पदक विजेता सबै ४ सय ३५ जना खेलाडीहरुलाई खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ अनुसारको नगद पुरस्कार बैंक खातामा जम्मा गरिदिएको जनाएको छ।

मन्त्रालयले ४ सय ३५ खेलाडीका लागि १९ करोड ५३ लाख रुपैंया राष्ट्रिय खेलकुद परिषदबाट उपलब्ध गराईएको विवरण बमोजिम सम्बन्धित खेलाडीहरुको वैंक खातामा जम्मा गरिदिएको छ।

घरेलु भूमिमा तेस्रो पटक आयोजित सागमा नेपाल पदक तालिकाका भारतपछि दोस्रो भएको थियो। सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यगरी कूल दुई सय ६ पदक जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.