प्रकोप व्यवस्थापन कोषमा एक करोड नौ लाख रुपैयाँ

|

धनकुटा : कोरोना संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको 'लकडाउन' लम्बिएपछि धनकुटाका स्थानीय तहले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै धमाधम राहत वितरण गरेका छन्‌।

जिल्लाका सात स्थानीय तहमध्ये तीन नगरपालिका र तीन गाउँपालिकाले आ-आफ्नै मापदण्ड बनाएर ६,६४५ ज्यालादारी मजदुर र विपन्न परिवारका २९,३६० जना सदस्यलाई राहत स्वरुप खाद्यान्न वितरण गरेका हुन्‌।

धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका तथा छथर जोरपाटी, शहीदभूमि र साँगुरीगढी गाउँपालिकाले एक करोड २४ लाख २२ हजार ६१५ रुपैयाँ बराबरको राहत वितरण गरेको जानकारी दिएका छन्‌। धनकुटाको चौबिसे गाउँपालिकाले पनि एक हजार १०० परिवारको लगत संकलन गरिसकेको र छिट्टै राहत वितरण गरिने जानकारी दिएको छ।

धनकुटा नगरपालिका बाहेकका अन्य आधादर्जन स्थानीय तहले छुट्टाछुट्टै गरेर एक करोड आठ लाख ७५ हजार रुपैयाँ बराबरको प्रकोप व्यवस्थापन कोष स्थापना गरेका छन्‌। धनकुटा जिल्लाका सबै स्थानीय तहमा गरी १२१ शय्याको 'क्वारेन्टाइन', २३ ठाउँमा थर्मलगन सहितको 'हेल्प डेक्स' र १६४ जना स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरिएको छ। 

धनकुटालाई कोरोनाबाट सुरक्षित राख्न सीमा नाकामा कडाई गर्न पहल गरिने र स्थानीय सरकारले गरेको काममा सँधै सहयोग गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बताए। उनले कोरोनाबारे फैलिएका हल्लाका पछि नलाग्न, तर सतर्क रहन जिल्लावासीसँग आग्रह गरेका छन्‌।

कोभिड १९ को सम्भावित जोखिम नियन्त्रणका लागि तीन नगरपालिका र चार गाउँपालिका गरि धनकुटाका सातवटै स्थानीय तहले आफ्नै तरिकाले काम गरिरहेको जनाएका छन्‌।

के के गरे धनकुटाका स्थानीय तहले?

धनकुटा नगरपालिकाले १० वटै वडामा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने विपन्‍न परिवारलाई राहत वितरण गरिसकेको छ। सबै वडाका २,२९३ विपन्न परिवारलाई ३९ लाख ४८ हजार ५ सय २० रुपैयाँ बराबरको दैनिक उपभोग्य सामाग्री (चामल, दाल, नुन, तेल र सावुन) वितरण गरेको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए।

धनकुटा नगरपालिका क्षेत्रमा आपूर्ति सहज गराउनका लागि नगर प्रमुखको नेतृत्वमा संयोजकत्वमा समिति गठन गरिएको नगरपालिकाले जनाएको छ। यस्तै धनकुटा नगरपालिका ६ औद्योगिक ग्राममा तयार गरिएको 'क्वारेन्टाइन' व्यवस्थापनका लागि १० लाख रुपैयाँ उपलब्ध गराएको छ। 

महालक्ष्मी नगरपालिका

महालक्ष्मी नगरपालिकाले पनि 'लकडाउन'बाट प्रभावित अतिविपन्न, असहाय र ज्यालादारी मजदुरहरूलाई राहत वितरण गरेको छ। नगरभरअन्तर्गत नौ वटै वडाका प्रभावितहरूको विवरण संकलन गरि राहत वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ। 

हालसम्म ५९५ अतिविपन्न, असहाय र ज्यालादारी मजदुर परिवारलाई राहत उपलब्ध गराइएको छ। नगरपालिकाले हालसम्म १२ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको र त्यसबाट २,३४५ जना लाभान्वित भएको नगरपालिकाकी उप-प्रमुख मञ्जु कार्कीले जानकारी दिइन्‌। पहिलो चरणमा १० दिनलाई पुग्नेगरी राहत वितरण गरिएको छ। राहत वितरण कार्य जारी रहेको उनको भनाई छ।

नगरपालिकाले जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा र विभिन्न निकायबाट प्राप्त सहयोगबाट ३० लाख रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेरको जनाएको छ। नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ४० थान पीपीइ, ७ हजार थान सर्जिकल माक्स, २ हजार थान सर्जिकल ग्लोब्स र एक थान 'थर्मल गन' वितरण गरेको छ भने नगरवासीलाई २५,८३० थान माक्स वितरण गरेको छ। नरपालिकाको नौ वटै वडामा 'हेल्प डेक्स' स्थापना गरेको उप-प्रमुख कार्कीले जानकारी दिइन।

पाख्रिवास नगरपालिका

पाखिबास नगरपालिकाले १,५०० घरधुरीलाई ३० लाख रुपैयाँ बराबरको राहत वितरण गरेको छ। नगरपालिकामा १० शय्याको 'क्वारेन्टाइन' स्थापना गरिएको र हरेक वडामा 'थर्मल गन' सहितको 'हेल्प डेक्स' स्थापना गरिएको नगर प्रमुख विर्ख बहादुर राईले जानकारी दिए।

उनका अनुसार पाख्रिबास नगरपालिकामा जनप्रतिनिधिहरूको १ महिनाको सुविधा वापतको रकम, कर्मचारी र शिक्षकहरूको ५/५ दिनको तलब बराबरको रकम सहित २० लाख रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको छ।

साँगुरीगढी गाउँपालिका

साँगुरीगढी गाउँपालिकाले १,०५० घरधुरीका ४,३५० जनालाई १८ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको छ। गाउँपालिकाले जनप्रतिनिधिहरू र कर्मचारीहरूको १५ दिनको सुविधा वापतको रकमसहित १८ लाख रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको अध्यक्ष कुमारजंग याखाले जानकारी दिए। 

गाउँपालिकामा १० शय्याको 'क्वारेन्टाइन' स्थापना गरिएको छ भने ३९ जना स्वास्थ्यकर्मीलाई पिपिई वितरण गरिएको छ। 'थर्मल गन' सहितको एक 'हेल्प डेक्स' स्थापना गरिएको याखाले बताए। 

छथरजोरपाटी गाउँपालिका

छथरजोरपाटी गाउँपालिकाले पनि विपन्न परिवारको वडागत रुपमा लगत संकलन गरि राहत वितरण गरेको छ। 'लकडाउन'बाट प्रभावित ६९४ परिवारलाई १० लाख ७४ हजार ९५ रुपैयाँको राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले बताए।

उनका अनुसार सबैलाई राहत दिन कठिनाई भएको र केही भारतीय नागरिकसमेत रहेको कारण उनीहरूलाई मापदण्ड बनाएर दोस्रो चरणमा राहत वितरण गरिनेछ। सात सदस्यभन्दा बढी रहेका परिवारलाई ६ केजी चामल, १ केजी दाल, २ लिटर तेल, नुन १ किलो र साबुन १ वटा प्रदान गरिएको छ भने ७ भन्दा कम सदस्य रहेका परिवारलाई २५ केजी चामल, ३ लिटर तेल, २ पोका नुन २ ओटा साबुन दिइएको छ।

जिल्ला बाहिरबाट आएर सडक तथा भौतिक निर्माणमा काम गर्ने अलपत्र परेका मजदुरलाई राहतस्वरुप चामल, दाल, नुन, तेल, साबुन लगायत सामग्री प्रदान गरिएको बताइएको छ। यस्तै गाउँपालिकाले जनप्रतिनिधिहरूको १५ दिनको सेवासुविधा र कर्मचारी शिक्षकहरूको ३/३ दिनको सुविधा वापतको रकम सहित २० लाख रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए।

गाउँपालिकामा १० शय्याको 'क्वारेन्टाइन' स्थापना गरिएको छ भने ३३ जना स्वास्थ्य कर्मीलाई पिपिई वितरण गरिएको छ भने स्वास्थ्य संस्थाहरूमा १,२०० थान एक्जामिनेसन पञ्जा र ६ थान डिजिटल थर्मोमिटर वितरण गरेको छ। ७ वटा 'हेल्प डेक्स' र १४ ठाउँमा हात धुने व्यवस्था गरिएको अध्यक्ष लिम्बूले बताए। 

शहीदभूमि गाउँपालिका

शहीदभूमि गाउँपालिकाले पनि राहत वितरण गरेको छ। गाउँपालिकाका प्रमुख मनोज राईका अनुसार वडागत रुपमा नामावलीको लगत संकलन भएर आएको ४३९ घरधुरीलाई १४ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको हो। गाउँपालिकाले जनप्रतिनिधिहरूको १५ दिनको सेवासुविधा र कर्मचारी (स्वास्थ्य कर्मी बाहेकको) शिक्षकहरूको ३/३ दिनको सुविधा वापत हुन आउने रकम राखेर प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ।

गाउँपालिकामा २१ शय्याको 'क्वारेन्टाइन' स्थापना गरिएको र एक जना भारतीय महिलालाई 'क्वारेन्टाइन'मा राखिएको छ। यस्तै २२ जना स्वास्थ्यकर्मीलाई पिपिई वितरण गरिएको छ भने 'थर्मल गन' सहितको १ वटा 'हेल्प डेक्स' र विदेशबाट आएका १८ जनालाई होम 'क्वारेन्टाइन'मा राखिएको गाउँपालिकाका अधिकारीहरूले जानकारी दिएका छन्‌।

चौविसे गाउँपालिका

धनकुटाको चौविसै गाउँपालिकाले पनि राहत वितरणको लागि १,१०० घरधुरीको लागत संकलन गरेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले वडागत रुपमा लगत संकलन भएर आइसकेको र केही दिनमा राहत वितरण गरिने जानकारी दिए।

गाउँपालिकाले जनप्रतिनिधिहरूको १५ दिनको सेवासुविधासहित विभिन्न निकायबाट प्राप्त रकम गरी २० लाख ७५ हजार रुपैयाँ बराबरको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ। गाउँपालिकामा १० शय्याको 'क्वारेन्टाइन' स्थापना गरिएको र ३० जना स्वास्थ्यकर्मीलाई पिपिई वितरण गरिएको छ।

यस्तै वडा नं १ मा 'हेल्प डेक्स' स्थापना गरि १५० जनाको स्वास्थ्य परिक्षण गरेको गाउँपालिकाका अध्यक्ष राईले बताए। गाउँपालिकाले नाका प्रवेशमा कडाइ गरेको छ भने नियमित खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दैनिक पेट्रोल र खाजाको व्यवस्था गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.