|

धनकुटा : कोरोना भाइरस (कोभिड(१९) को सन्त्रासपछि सरकारले गरेको लकडाउनका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि होटल व्यवसायी संकटमा परेका छन्। धनकुटा लगायत प्रदेश १ का प्राकृतिक सौन्दर्ययुक्त पर्यटकीयस्थलहरुका होटल व्यवसाय संकटमा छ।

हरेक साल यो समयमा भरिभराउ हुने प्रदेश १ का पर्यटकीयस्थलहरु धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, सुनसरीकै बराहक्षेत्र–विजयपुर र इलामको कन्याम अहिले सुनसान रहेका छन्।

होटल व्यवसाय बन्द भएपछि ती ठाउँमा होटलबाट हुने दैनिक एक करोड बढीको कारोबार ठप्प भएको व्यवसायीहरु बताउँछन्।

क्षेत्रीय होटल एसोसिएन धनकुटाका अध्यक्ष तथा होटल हिले भ्यूका सञ्चालक खगेन्द्र विष्टले द्वन्द्वको लामो समय दलदलमा परेको होटल व्यवसाय पछिल्लो समयमा केही राम्रो हुँदै आएकामा अहिले फेरि कोरोना भाइरसको सन्त्रासले थप मारमा परेको बताए।

 ‘सरकारले नेपाल भ्रमण वर्ष २०२० को अवधारणा ल्याएपछि अब चाहिँ केही होला कि भनेर उत्साहका साथ होटल व्यवसायलाई थप व्यवस्थित गर्दै लगिरहेका अवस्थामा रहेकै बेला यो सन्त्रासले अर्को संकट नित्याएको छ’, विष्टले भने, ‘धेरै लगानी गरेर व्यवसायलाई आगाडि बढाए तर यो सन्त्रासले गर्दा ठूलो मारमा परेको छ।’

सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलेको भएपनि अहिले कोरोनाको उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत गराएपछि अब लिएको ऋणको ब्याज कसरी तिर्ने भन्ने चिन्तामा होटल व्यवसायी रहेको उनले बताए। धनकुटा जिल्लामा होटल एसोसियसनमा आवद्ध १ सय ३० होटल रहेको दैनिक ४० लाख बढीको कारोबार हुने गरेको उनको भनाई छ।

गएको वर्षहरुमा यो सिजनमा धनकुटाको भेडेटारमा दैनिक करिब ५ हजार मानिस घुम्न आएको होटल एसोसिएसन भेडेटारको अनुमान छ। पूर्वी तराईको बढ्दो गर्मीलाई पनि बिर्साइदिने प्रदेश १ कै पर्यटकीय स्थल भेडेटारमा नयाँ वर्षमा पर्यटक खचाखच हुने गरेका थिए।

 तर, कोरोनाको त्राससँगै सरकारले गरेको लकडाउनको पालना गर्दै कोही पनि भेडेटार आएनन्। भेडेटार मात्रै होइन नजिकैको शैलुङ्ग डाँडा, चाल्र्स प्वान्टको भ्यु टावर, नमस्ते झरना पनि सुनसान बनेका छन। त्यस्तै, भेडेटार पुगिसकेपछि अढाई किलोमिटर पूर्वको नाम्जे गाउँ र आत्मा बस्ने घर पनि सुनसान रहेकाछन्। अमेरिकी समाचार संस्था सिएनएनले विश्वको उत्कृष्ट १२ औ गन्तव्यमध्ये ८ औंमा राखेपछि शुरु भएको नाम्जे गाउँको चर्चा कोरोनाले सुनसान बनाएको छ।

कोरोनाको कारण नाम्जेमा सञ्चालित होमस्टे पर्यटक बन्द भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष अनिल रानामगरले बताए। नाम्जेमा सञ्चालित होमस्टे गत वर्ष नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत भएको थियो। अहिले पर्यटकका लागि मुख्य समय फेब्रुअरी, मार्च, अप्रिल र मे महिना धेरै उपयुक्त भएको अवस्थामा नै कोरोनाको सन्त्रासले आगमन ठप्प भएपछि समस्यामा पर्दै आएको व्यवसायी बताउँछन।

दैनिक १५ लाखको आर्थिक कारोवार हुने भेडेटारमा कोरोना भाइरसको कारणले ठप्प भएको होटल एशोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। कोरोनाकै कारणले हालै मात्रै सञ्चालनमा आएको भेडेटार देवीथान जीपलाइन बन्द भएको छ। यस्तै कोरोनाको कारणले सरकारले गरेको लकडाउनका कारणले निजी कम्पनी वल्ड वाइड ग्रुपले जनसहभागिता सहित करिब २५ करोडको लगानीमा निर्माण गर्न लागेको स्काइ वक निमार्णको काम प्रभावित भएको छ। लकडाउनले भेडेटार र आसपासका क्षेत्रमा सञ्चालित होटल बन्द हुँदा बैंकको किस्ता तिर्न र होटल मजदुरको तलब दिन समस्या भएको अध्यक्ष राईले बताए।

 पर्यटन प्रवर्द्धनका लागि नेपाल भ्रमण वर्ष २०२० चलिरहेकै बेलामा यसरी कोरोनाको सन्त्रास फैलिएसँगै होटल व्यवसायमा ठूलो समस्या निम्तेको राईको भनाई छ।

यता कोरोना भाइरस कै कारणले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा तिनजुरे मिल्के जलजले, सुनसरी उदयपुरको सीमानामा पर्ने कोशीटप्पू, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, बराहक्षेत्र र इलाम कन्याम पनि सुनसान बनेका छन।

नेपालमा पाइने ३२ प्रजातिका गुराँस मध्ये २८ प्रजातिका गुरासहरू पाइने गुरासको राजधानी तिनजुरे मिल्के जलजलेमा चैतको मध्यदेखि भ्रमणको लागि उपयुक्त मानिन्छ। किनकि त्यस बेला ढकमक्क फुल्ने गुराँसले पर्यटकलाई स्वागत गर्न आतुर हुन्छ।

टीएमजे क्षेत्रबाट मकालु, कञ्चनजंघा लगायतका हिमाल देख्न पाइने भएकाले यस क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको भएपनि यो वर्ष एक जना पनि पर्यटक नआएको स्थानिय छिरिङ लामाले बताए। गएका नयाँ वर्षहरुमा पाँच हजारभन्दा बढी आन्तरिक पर्यटकहरु यस क्षेत्रमा आउने गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.