|

मुगु : भारत र तेस्रो मुलुकबाट हालै फर्किएका एक हजार भन्दा धेरै मानिसहरु रहेका मुगुका खत्याड र सोरु गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा परेको छ।

विदेशबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न आवश्यक कीट र चिकित्सक पठाइदिन जिल्ला संकट व्यवस्थापन केन्द्रले पत्र पठाएको छ। जिल्लामा प्राप्त १५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले ल्याएको आरडिटी किट अपुग हुने भएकाले थप एक हजार आरडिटि किटसहित आवश्यक चिकित्सक टोली मुगु जिल्लाका खत्याड र सोरु गाउँपालिकामा पठाइदिन केन्द्रले आग्रह गरेको हो। 

नेपाल सरकार कोभिड संकट व्यवस्थापन केन्द्र,शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य समुह काठमाडौं, गृह मन्त्रालय, कर्णाली प्रदेश मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत शुक्रबार नै पत्र पठाइएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवम्‌ मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए।

खत्याड गाउँपालिकामा मात्रै ३०० जनाभन्दा धेरै मानिसहरू भारतबाट फर्किएका छन्‌। पहिलो चरणमा गरिएको आरडिटि परीक्षणमा एक जनाको रिर्पोट 'पोजेटिप' आएपछि थप कीटसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट डा. सुनील बुढथापा नेतृत्वमा ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली शनिबार खत्याड पुगेको थियो।

चिकित्सक टोलीले शनिबार दिनभर त्यहाँका ४० जना व्यक्तिहरुको आरडिटि परीक्षण गरेको र सबैको रिर्पोट नेगटिभ आएको खत्याड गाउँपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हरि बहादुर बुढाले जानकारी दिए।

आरडीटीमा पोजिटिभ, पीसीआरमा नेगेटीभ

'र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी)' गर्दा कोरोना संक्रमण देखिएका खत्याडका एकजना व्यक्तिको 'पिसिआर परीक्षण'मा भने संक्रमण नभएको नतिजा आएको छ। 

जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरुको टोलीले गत ४ गते खत्याड गाउँपालिकाको श्रीकोट स्वास्थ्य चौकीमा आरडिटि परीक्षण गर्दा सोहि गाउँपालिका वडा नं ५ का एकजनाको परीक्षण नतिजा 'पोजेटिभ' आएको थियो।

आरडिटि नतिजा 'पोजेटिभ' आएपछि शंकास्पद व्यक्तिको थ्रोट स्वाबको नमुना पिसिआर परीक्षणका लागी शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतको ल्यावमा पठाइएको थियो।

आइतबार सो स्वाबको पिसिआर परीक्षण गर्दा नेगटिभ रिर्पोट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए। ती व्यक्ति गत चैत ७ गते ५५जना साथीहरूसहित भारतबाट स्वदेश फर्किएका थिए। 

यो सँगै आइतबारसम्म मुगु जिल्लाका ६ जनाको पिसिआर र १७२ जनामध्ये १७१ को आरडिटि रिपोर्ट 'नेगेटिभ' आएको छ। एक जनाको आरडीटी परीक्षण नतिजा पोजटिभ आएको प्रशासनस्रोतले जानकारी दियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.