|

सोलुखुम्बु : जिल्लाको आठ वटा स्थानीय तहले आ-आफ्नो ढंगले कोभिड १९ को जोखिम कम गर्ने तयारीमा जुटेका छन्। लक डाउनको समय लम्बिँदै गएपछि एक नगरपालिका र ७ गाउँपालिका छुट्टाछुट्टै ढंगले राहत तथा उद्धारको काममा जुटेका हुन्।

थुलुङदुधकोशी गाउँपालिकाको सोमबार सम्पन्न कार्यपालिका बैठकले पालिका बाहिर असहज अवस्थामा बसेका नागरिकको उद्धार गर्ने निर्णय गरेको छ। काठमाडौंं लगायतका स्थानमा रहेका नागरिकको उद्धार गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष असीम राईले जानकारी दिए।

अध्यक्ष राईका अनुसार सोमबारदेखि नै उनीहरुको विवरण संकलन थालिएको र आजदेखी नै उद्धार कार्य सुरू हुने छ। प्रदेश र संघीय सरकारसँगको समन्वयमा कोठाभाडामा बसेका विपन्न परिवारलाई उद्धार गर्ने निर्णय गरिएको अध्यक्ष राईले बताए।

उनीहरुको उद्धारको लागि लाग्ने खर्च समेत गाउँपालिकालेनै बेहोर्ने भएको छ। उद्धार चहानेहरुको अवस्था हेरेर पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने या सुरक्षित साथ होम क्वारेन्टाइनमा राख्ने बिषयमा वडाले निर्णय र अनुगमन गर्ने बताइएको छ।

१४ दिनसम्म सुरक्षितसाथ क्वारेन्टाइनमा नबसेको खण्डमा सोही अनुसारको कारबाहीको समेत व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ। गाउँ फर्कन चाहने या समस्यामा परेकाले वडा अध्यक्षलाई तत्काल सम्पर्क गर्न पनि गाउँपालिका अध्यक्ष राईले सबैलाई अनुरोध गरे।

यस्तै सोमबार ११४ जना दीर्घरोगीलाइ एक महिनाको लागि नि:शुल्क औषधी वितरण गरेको नेचासल्यान गाउँपालिकाले अन्यत्र बसोबास गर्नेहरुको समेत विवरण संकलन सुरू गरेको गाउँपालिका प्रबक्ता धर्मध्वज खत्रीले जानकारी दिए। बैशाख १० गतेभित्र तथ्याङ्क सङ्कलन गरिसक्ने उनको भनाई छ।

यस्तै, लामोजुरा पारीको लिखुपीके गाउँपालिकाले पनि वडागत रुपमा विवरण संकलन सुरू गरेको जनाएको छ। गाउँपालिकाले तथ्याङ संङकलन सकेपछि  घर आउनेलाई सवारीसाधनको ब्यवस्था गर्ने र बाहिर बस्नेलाई राहत दिने गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए।

यसैबीच, विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र रहेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाले पनि १० गतेसम्म काठमाडौंमा रहेका व्यक्तिहरुको तथ्याङक  संङकलन  गरिसक्ने र उद्धारको कार्य सुरू गर्ने गाउँपालिका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए।

जिल्लाको कोसीपारीको गाउँपालिका महाकुलुङका अध्यक्ष सागर किराँतीका अनुसार गाउँपालिका बाहिर बाध्यात्मक अवस्थामा बसेका नागरिकको विवरण संकलनको काम सुरू गरिएको छ। यस्तै माप्य दुधकोशी गाउँपालिकाले पनि समस्यामा परेका नागरिकको विवरण संङकलन सुरू गरेको जनाएको छ।

सबै गाउँपालिकाले विवरण संकलन गरिरहेको भएपनि सोलुदुधकुण्ड नगरपालिकाले भने सुरू गरेको छैन। नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले व्यक्तिगत रुपमा समस्यामा परेकालाई उद्धार गर्ने बिपन्न परिवारलाई राहत दिने काम गरिरहेको बताए। अन्य स्थानीय तहले सुचना जारी गरेको भएपनि आफुले सुचना जारीनै नगरिकन काम गरेको बताउँछन्।

तर यता नगरबासीले भने उद्धार तथा राहतको बिषयमा जानकारी नभएको गुनासो गरेका छन्। वडा नम्बर ११ तिङ्लाकी गुना आचार्यले बिरामी भएर उचारको लागि धरान गएको भएपनि उद्धार नहुँदा समस्यामा परेको बताइन्।

उद्धार गर्ने भएपछि थुलुङदुधकोशीबासी हर्षित

गाउँपालिकाले उद्धार गर्ने भएपछि स्थानीय नागरिक भने हर्षित भएका छन्। उनीहरुले सामाजिक सञ्जालमा जनप्रतिनिधि र स्थानीय सरकारको प्रशंसा गरेका छन्।

थुलुङदुधकोशीले पिडित नागरिकको लागि सरकारको भुमिका निर्वाह गरेको काठमान्डौमा बस्दै आएकी उर्मीला केसीको भनाई छ। उनले भनिन्, “अन्य समयमा हामी आफै जसरी भएपनि बसेका थियौ, तर यो संकटको बेला उद्धार गर्ने निर्णय गरेकामा हामी हर्षित छौ।”

थुलुङदुधकोशीले लकडाउनको सूरुवाती देखीनै महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको थुलुङदुधकोशी ८ घर भई हाल काठमान्डौमा बस्दै आउनुभएकी अप्सरा राईको भनाई छ। 'भोट माग्दा मात्र होईन समस्या पर्दा समेत स्थानीय सरकारले नागकिरलाई सम्झिएकोमा खुसी छौं,' राईले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.