दलितलाई खलो प्रथाकै भर, रोगभन्दा भोककै पीर

|
गहुँबारीमा हरियो घाँस जम्मा गर्दै डोल्पाली महिला

डोल्पा : लकडाउन घोषणा भएपछि ग्रामीण भेगका महिलाहरू अघिपछि भन्दा धेरै नै व्यस्त देखिन्छन्। उनीहरूलाई पहिलाको भन्दा दोब्बर जिम्मेवारी थपिएको छ।

सरकारले लकडाउन घोषणा गरेपछि कामको जिम्मेवारी अघिपछि भन्दा बढेको डोल्पाली महिलाहरूले बताए। घर भित्रदेखि बाहिरसम्मको कामकाज सबै धान्नुपरेको छ। पुरुषहरू लकडाउन भन्दै घरभित्रै गर्ने स–साना कामबाट पनि पन्छिने गरेको ग्रामीण महिलाहरूले गुनासो गरे।

यतिखेर डोल्पाली महिलाहरूलाई काम गर्न भ्याइ–नभ्याई भएको त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने भगवती न्यौपानेले बताइन्। 'लकडाउनले पुरुषलाई सजिलो बनाइदिएको छ, यसै पनि अघिपछि पनि कामै नगर्ने उनीहरूलाई अहिले हाइसन्चो भएको छ'उनले भनिन्।

वनमा खर पनि नपलाएको सुख्खा खर पनि सकिएको हुँदा दिउँसोको चर्को गर्मीमा दुई–तीन खेप घाँस काट्न बारीमा पुग्नुपर्ने समस्या रहेको उनले सुनाइन्।

सुखले बस्न पाइँदैन

त्यसैगरी, त्रिपुराकोटकै स्थानीय महिला कलावती देबकोटा पनि हिजो आज काममा धेरै खटिनु परेको बताइन्। 'लकडाउन भनेर घरमै बस्ने सुख कहा मिल्छ र पालेका पशुवस्तुलाई खुवाउन र अन्नबाली र दाउराको जोहो गर्न पनि बाहिर निस्कनैपर्छ।'

लकडाउनमा शहरका महिलालाई पकाउने र खाने काम मात्र भए पनि गाउँघरका महिलालाई खाना खानेसमेत फुर्सद नभएको उनको भनाइ छ।

फुर्सदिला भए पुरुष

नगरस्तरीय अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष गोमादेवी उपाध्याय आजभोलि पुरुषहरू निकै फुर्सदिला भएको बताउँछिन्। उनका अनुसार घरमा खाना पकाउने, बच्चाबच्ची स्याहार्ने, घाँस दाउरा मेलापात गर्ने लगायतका सम्पुर्ण कामकाज महिलाले धान्नुपरेको छ।

'कतिपय महिलाले लकडाउनबारे बुझेकै छैनन्, बुझेकाहरू पनि बाध्य भएर घरबाहिर कामकाजमा निस्कनैपर्छ'उपाध्यायले भनिन्।

यहाँका महिलाहरूलाई परम्परागत खेती प्रणाली, कमजोर स्वास्थ्य, पुरुषवादी समाजका कारण जीवनभर दु:खकष्ट झेल्नुपर्ने बाध्यता छ। ग्रामीण महिलाहरूलाई घर र खेतीपातीको कामले कहिले पनि नछोड्ने महिला नेतृत्वहरू बताउँछन्। वर्षभरिको खेतीले ६ महिना पनि राम्रोसँग खान नपुग्ने उनीहरूको दुखेसो छ।

थप पीडामा दलित महिला

अन्य जातिजातिका महिलाभन्दा जिल्लाका दलित महिलाहरूको अवस्था अझ दर्दनाक छ। उनीहरू अशिक्षा र गरिबीले ग्रस्त छन्। कतिपय दलित पुरुषहरू कुलतमा फस्ने कारणले परिवारको पेट भर्नकै लागि महिलाहरूले दैनिक मजदुरी गर्नुपर्छ।

लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नपाएपछि परिवारको पेट पाल्न धौ–धौ भएको छ। 'आजभोलि त घरबाट निस्कन पनि पाइँदैन, काम गर्न जाऊँ भने पनि जग्गा छैन्,मजदुरी गरेरै परिवार पाल्थेँ' स्थानीय रुपधनी सार्कीले गुनासो गरिन्।

एक हप्ताअघि काम गरेको ज्याला कटाएर ल्याएको एक बोरा चामल पनि सकिन लागेकोले अब ६ जनाको परिवारले के खाने भन्‍ने पीर पर्न थालेको उनले सुनाइन्।

स्थानीय सरकारले हेरेन

रुपधनी जस्तै धनचन्द्रा सार्कीको पीडा पनि उस्तै छ। 'भारी बोकेर आफू र आफ्ना परिवार पाल्ने हामीहरूले अहिले काम गर्न पनि पाइएको छैन् अन्न बाली पनि सकिन लाग्यो अब कसरी छाक टार्ने त्यहि चिन्ता छ'उनले भनिन्।

सबै ठाउँमा स्थानीय सरकारले सहयोग गरेको भन्‍ने सुने पनि आफ्नो स्थानीय तहले केही सहयोग नगरेको उनको गुनासो छ।

आठजना परिवारकी अर्की सदस्य मनिसाको अवस्था झन् नाजुक छ। 'खान पुग्ने जग्गा छैन्,छाक टार्नै मुश्किल भएपछि विदेशमा कमाइ गर्न जाने भनेर गएका श्रीमान् पनि बन्दले काठमाडौंबाटै फर्के' उनले थपिन्' 'श्रीमानले ढुंगा फुटाएर आएको ज्यालाले परिवार पाल्थ्यौँ, अहिले त्यो पनि काम छैन। रोगभन्दा भोकको पीर धेरै छ।'

त्यस्तै, दिलसा सार्कीले पनि खानाकै पिरलो भएको सुनाइन्। 'काखमा बच्चा छ, आफू काम गर्न जान मिल्दैन्, श्रीमानले ल्याएपछि खान्छौँ नत्र भोकै बस्नुपर्छ,बन्दले गर्दा काम गर्न पाइएको छैन, के खाने भन्ने चिन्ता बढेको छ।'

खलो प्रथाकै भर

जिल्लाभर छरिएर रहेका प्रायः दलित समुदायहरू खलो प्रथामा अल्झिएका छन्। वर्षभर अर्काको काम गर्ने र त्यहाँबाट आएको अन्नबालीले पेट पाल्ने गर्छन्। खलो गरेर आएको अन्नबालीले राम्रोसँग एक महिना पनि नपुग्ने भएकाले त्योबाहेक ज्यालादारी कामसमेत गर्न थालेका छन्। लकडाउनका कारण दलित महिलाहरूको रोजिरोटीको रुपमा रहेको ज्यालीदारीको कामसमेत रोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.