|

जाजरकोट :  कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेको बेला उपल्लो डोल्पाका तीनवटा गाउँपालिका प्रकृतिले नै बन्दाबन्दी बनाइ दिएको छ। यहाँका शे फोक्सुण्डो गाउँपालिका, बुद्धडोल्पो गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा बन्दाबन्दीका लागि प्रहरी प्रशासन लगाउनुपर्ने अवस्था छैन।

तीनवटा गाउँपालिकामा भारी हिमपात भएका कारण स्थानीयवासीहरु एक गाउँबाट अर्को गाउँमा जान समस्या हुँदा आफैँ बन्दाबन्दीमा परेको बताएका छन्। यी सबै यार्सागुम्ब लगायतका जडीबुटीका उर्वरभूमि हुन्।

फोक्सुण्डो गाउँपालिकाको सालताङ स्वास्थ्य चौकीका प्रमुख निमा धार्के गुरुङले गाउँमा औषधि गर्न जाँदा एक गाउँबाट अर्को गाउँमा जान २ दिनभन्दा बढी लाग्ने गरेको बताए। उनले भने, 'आज रुघाखोकी र ज्वारोको बिरामीहरु गाउँमा भएको थाहा पाएँ, जान खोजेको हिमपातका कारण जान सकिएको छैन, औषधि चौरीमा लिनुपर्ने अवस्था छ, भोलि हिमपात रोकिएमा जानुपर्ला।'

यहाँका स्थानीवासीहरु विरामी पर्दा स्थानीय आम्चीलाई बोलाएर जडीबुटीको औषधि गरेर ज्यान बचाउने गरेका छन्। प्रकृतीले नै १२ महिना हिउँ  पार्ने भएकाले काम गर्न समेत निकै अप्ठ्यारो भएको पेम्वा गुरुङले दुखेसो पोखे। यहाँ राज्यको उपस्थितिभन्दा पनि हामी आफैँ जोगिएको उनी बताउँछन्।

समुद्री  सहतबाट झण्डै २ हजार ३०० मिटर देखि ७ हजार ४२५ मिटर उचाइमा शे- फोक्सुण्डो गाउँपालिका रहेको छ। यहाँ १२ महिना भारी हिमपात हुने गर्दछ। गर्मी मौसममा मात्र यहाँका स्थानीयवासीहरु आफ्नै गाउँघरमा बस्छन्। जब भारी हिमपात हुन्छ , तब  एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था हुँदैन। सो समयमा यहाँका स्थानीयवासीहरु वेशी झर्ने गरेका छन्।

केही सानो संख्यमा मात्र यहाँका गाउँमा सर्वसाधारणहरु बस्ने गर्दछन्। गाउँपालिकाको केन्द्र साल्दाङमा रहेको छ। ९ वडा रहेको यस गाउँपालिकामा  १,२, ३, र ४ को संयुक्त वडा कार्यालय साल्दाङ र वडा नं. ५, ६ र ७ को संयुक्त वडा कार्यालय भिजेर र वडा नं. ८ र ९ को संयुक्त वडा कार्यालय फोक्सुण्डो रहेको छ। ३ हजार ९९ जनसंख्य रहेको गाउँपालिकामा अहिले पनि भारी हिमपातका कारण सबै गाउँमा जान सक्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतको टिम यो समाचार तयार पर्दा सम्म बन्दाबन्दीमा काठमाडौंमा रहेको बताएका छन्। गाउँमा हिउँका कारण बन्दाबन्दी छ, जनप्रतिनिधि कोरोना भाइरसका त्रासका कारण सरकारले गरेको बन्दाबन्दीमा परेका छन्।

त्यस्तै,  बुद्धडोल्पो गाउँपालिका पनि उपल्लो डोल्पामै छ। गाउँपालिकाको केन्द धोमा रहेको छ। धो सवै भन्दा अग्लो ठाउँमा रहेको मानव वस्ती हो। यहाँ ६ वटा वडा रहेका छन्। १, २ र ३ को सयुक्त वडा कार्यालय ’धो’  र वडा न ४, ५ र ६ को संयुक्त वडा कार्यालय 'तिन्जे' रहेको छ। माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्ने यो गाउँपालिकामा भोटे जातिका मानिसको बसोबास रहेको छ।

यस क्षेत्रमा करिब ६ महिना हिउँ जम्ने हुदा यहाँका मानिसहरुको जीवनशैली निकै नै  कष्टकर रहेको छ। यस क्षेत्रमा झारपात कुनै ठाउँमा वैँश जातको बिरुवा बाहेक अन्य कुनै ठुला जातिका वृक्ष पाइदैन। वारीपारीका हिमाल देखि एक गाउँबाट अर्को गाउँमा जाने घोडेटो बाटोहरु हिमपातका कारण नाम निसानै नदेखिने गरेको गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले बताए।

अर्को छार्का ताङसोङ गाउँपालिकामा पनि हिउले भरिभराउ छ। हिउँकै कारणले स्थानीयवासीहरु सवै गाउँमा जान सक्ने अवस्था नरहेको बताउँछन्। अधिकांश सर्वसाधारणहरु दुनैमा वसेर काम गदै आएका छन्। जनप्रतिनिधिहरु काठमाडौँ रहेका छन्।

चिसो मौसमका कारण कर्मचारीहरु गाउँपालिकाका सवै वडामा गएर परिचालित हुँने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए। त्यस्तै, काईके गाउँपालिकामा केही गतिविधि भएको देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.