|

काठमाडौं : कोरोना भाइरस विश्वव्यापी फैलिरहेको छ। कोरोना भाइरसले गर्दा कतिपय त्रासमा सर्वसाधारण छन् भने कतिपय भोकभोकै बस्न बाध्य छन्। यस संकटमा गोकर्णेश्वर नगरपालिकाले कसरी राहत वितरणको काम गर्दै आएको छ? र कसरी कोरोना भाइरसविरुद्ध नगरपालिका लडिरहेको छ? यस विषयमा थाहाकर्मी श्याम राईले गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चासिलेसँग गरेको कुराकानीको सम्पादित अंश :

गोकर्णेश्वर नगरपालिकाभित्र कसरी राहत वितरण गर्दै आउनु भएको छ? अहिलेसम्म कति घरपरिवारलाई बाँड्नुभयो?

नगरपालिकाभित्र कोरोना भाइरस संक्रमण फैलाउन नदिनको लागि सामाजिक दूरी कायम गरी व्यवस्थित ढंगले राहत वितरण गर्दै आएका छौँ। नगरपालिकाभित्र राहतका लागि २२ हजारको निवेदन परेको थियो। त्यसमा छानबिन गर्दा अहिलेसम्म १३ हजारभन्दा बढीलाई राहत वितरण गरेका छौँ। ३५ हजार घरधुरी नगरपालिकाभित्र छन्। अहिले राहत वितरणको काम जारी छ।

नगरपालिकाभित्रका कतिपय मजदुरहरूले राहत नपाएको भन्ने गुनासो पनि सुनिन्छ नि?

नगरपालिकाभित्र रहेका धेरै विपन्न परिवारलाई राहत पुगेको छ। दुई प्रतिशत जतिले नपाएको गुनासो छ। गुनासो आएमा वडासँग समन्वय गरी राहत दिन्छौँ।

नगरपालिकाले बाडेको राहत हुनेखाने वर्गले मात्रै पाएको सुनिन्छ नि?

अरू नगरपालिकामा हुन सक्ला तर, मेरो नगरपालिकाभित्र यस्तो भएकै छैन। मेरोमा ८ जनाको टोली घरघरमा गएर पहिचान गरी राहत बाँड्दै आएका छौँ। निम्न वर्गलाई मात्रै राहत दिइरहेका छौँ।

अहिले नै महामारीको अवस्था देखिँदैन, भोलि योभन्दा ठूलो महामारी आयो भने कसरी नगरपालिकाले काम गर्छ?

अहिलेको अवस्थामा हामी नगरपालिकाभित्र रहेका अस्पतालहरूसँग समन्वय गरेर बसेका छौँ। नगरपालिकाले कसरी कोरोना भाइरस रोकथाम गर्ने भनेर समिति पनि बनाएका छौँ। ठूलै विपत्ति आइलाग्यो भने पनि त्यही अनुसारले व्यवस्था गर्छौं। गाडी, मास्कको व्यवस्था गरिनेछ। ठाउँठाउँमा गएर स्वास्थ्य सुरक्षा र सेवा दिइनेछ।

 यो संकटमा प्रदेश सरकार र केन्द्र सरकारसँग कसरी समन्वय गर्दै आउनु भएको छ?

वास्तवमा भन्ने हो भने समन्वय त के केन्द्र र प्रदेश सरकारले नगरपालिकालाई अहिलेसम्म केही सहयोग गरेको छैन। फोन गरेर आश्वासन मात्रै दिए तर, यो संकटमा एक सुको पनि दिएको छैन। स्वास्थ्य सामग्री पनि दिएको छैन। अहिलेसम्म नगरपालिकाले लाखौँलाख खर्च गरेर स्वास्थ्य सामग्री र करोडौँ खर्च गरेर राहत वितरण गर्दै आएको छ।

उसो भए प्रदेश र केन्द्र सरकारलाई के भन्नुहुन्छ?

यस्तो संकटको बेला पहिले केन्द्र र प्रदेश सरकारले केही पनि केही सहयोग गरेनन्। अहिले सहयोग गरे पनि नगरे पनि कुनै अर्थ छैन। हामी कसैको आसमा बस्दैनौँ। नगरपालिका सक्षम छ। डेढ अर्व बजेट भएको नगरपालिका हो। अहिले पनि काम गरिरहका छौँ। अझै सक्दो काम गर्दै जाने छौँ।

तपाईहरुले बाड्नु भएको राहत सबै सकुमबासी, ज्यालादारी, दृष्टिविहीन र फरक क्षमता भएकाले पाउन सकेका छैनन् यो विवेद भएन र?

म आफैँ उपस्थित भएर उनीहरुलाई राहत र खाना दिएको छु। राहतका लागि कुनै अपाङ्गताहरु छुटेका छैनन्। नगरपालिकाभित्र रहेका ६ वटा अपाङ्गतासम्बन्धी संस्था छन्। सबैको लिष्टेड गरी राहत दिइरहेका छौँ। उनीहरुलाई नगरपालिकाले पहिलो प्राथमिकता राखेकाले केही विवेद हामीले गरेका छैनौँ। अपाङ्गतालाई चाहिले सामग्री नगरपालिकाले दिदै आएको छ। संस्थालाई सोधेर प्रश्न पनि गर्न सक्नुहुन्छ। यस्तोमा शंका गर्ने कुनै ठाउँ छैन।

मजदरहरु पैदल यात्राबाटै घर जाने गरेका छन्। उनीहरुलाई तपाईंहरुले किन अहिलेसम्म केही व्यवस्था गर्न सक्नुभएन?

 लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा मात्र नभई बाहिर जिल्लामा पनि पैदल यात्रा गरेर घर जाने गरेको देखिन्छ। हामीकहाँ सम्पर्क आउनेलाई खाने, सुत्नेको व्यवस्था गर्दे आएका छौँ। केही दिनअघि पनि पैदल यात्रा गर्नेलाई खाना र बासको व्यवस्था गरेका थियौँ।

नगरपालिकाभित्र रहेका ज्यालादारी र सडकमा बस्नेलाई नगरपालिकाको १० ठाउँबाट विहान र बेलुका गरी पाँच–पाँच सय जनालाई खाना ख्वाउदै आएको छ। उनीहरुलाई मास्क, सेनिटाइजर पनि दिएका छौँ। सरकारको नीतिमा कोही पनि घर जान नदिने छ। मिल्ने भए त म आफैँले बसको व्यवस्था गरी घर जान चाहनेलाई पठाईदिन्थेँ।

अहिले आर्थिक व्यावस्थाको त्रैमासिक चलिरहेको छ,विकास खर्च कसरी चलाउनु भएको छ? कोरोना राहतकोषमा प्रयोग गर्नु भएको छ कि छैन?

हामीले बोर्डबैठक बसी कोरोना भाइरस रोकथामका लागि एउटा राहत कोष खोलेका छौँ। अहिलेसम्म त्यही राहतकोष भित्रको एक करोड ४० लाख खर्च भइसकेको छ। केन्द्र र प्रदेश सरकारले केही पनि आर्थिक सहयोग नगरेकाले विकास खर्चबाटै अहिले चलाउनुपर्ने बाध्यता छ। अहिले पनि लामो समयसम्म यो संकट लम्बियो भने बोर्ड बैठक राखेर थप निर्णय गछौँ।

जनप्रतिनिधिको भूमिका जति हुनुपर्थ्यो तर,स्थानीय जनप्रतिनिधिहरुको भूमिका अपेक्षा गरिएअनुसार देखिदैन, किन होला?

हाम्रो नगरपालिकाभित्रका सबै वडा अध्यक्षहरु दिनरात नभनी ज्यानलाई जोखिममा मोलेर खटिरहेका छन्। म स्वयं आफू पनि ज्यानलाई जोखिममा पारेर खटिरहेको छु। सबैभन्दा बढी जनप्रतिनिधिलाई अहिले गाह्रो छ। कोही वडा अध्यक्षले आफ्नै गाडी प्रयोग गरेर जनतालाई सेवा अहिले दिइरहेका छन्। अरू ठाउँका जनप्रतिनिधि जस्तै मेरो नगरपालिकाभित्र कसैले राहत लुकाएको छैन। कसैले एक रुपैयाँ खाएको छैन। खान पनि दिन्नँ।

नगरपालिकाभित्र क्वारेनटाइनको व्यवस्था कसरी गर्नु भएको छ? विदेशबाट आउनेको अनुगमन वडा कि आफैँले गर्नुहुन्छ?

नगरपालिकाभित्र क्वारेनटाइनभन्दा पनि ४० वटा विभिन्न अस्पतालमा अत्याधुनिक आइसोलन वार्डको व्यवस्था गरेका छौँ। विदेशबाट आएका सबै स्वायं होमक्वारेनटाइनमा बस्नुभयो। विदेशबाट आएका ६८ जनाको तथ्यांक संकलन गरी आइसोलेसनमा राखेका थियौँ। कोरोना परीक्षण गर्दा उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको छ। फेरि हामीले सूचना जारी गरेका थियौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.